१३ बैशाख २०८१, बिहीबार

असल सञ्चालक कसरी बन्ने ?

२६ फाल्गुन २०७०, सोमबार
असल सञ्चालक कसरी बन्ने ?

– ऋषिराज घिमिरे

सहकारी यस्तो शक्तिशाली संस्था हो जहाँ व्यक्ति र समुदाय दुबैको सर्वाङ्गीण विकास सम्भव छ । स्वयंसेवीहरू विशेषतः सञ्चालकहरू, लेखा समिति र उपसमितिका सदस्यहरूले आ–आफ्ना क्षेत्रबाट सक्रियता देखाउँदै गएमा उनीहरूको प्रतिभा प्रस्फुटन र नेतृत्वदायी भूमिका वजनदार हुँदै जान्छ तर यसबाट आफू लाभान्वित हुन्छौँ भन्ने कुरा मनन गरिएन भने कार्य अग्रसरतामा कमी आउन सक्छ र आफू र आफ्नो संस्था कमजोर बन्दै जान्छ ।

सुरुमा प्रारम्भिक तहको सञ्चालकमा प्रवेश गर्ने नवआगन्तुक सञ्चालकले सामूहिक छलफलमा सहभागी हुन पाउँदा र निर्णयमा हस्ताक्षर गर्न पाउँदा गर्वको अनुभूति गर्न सक्छन् । यही नै हो तल्लो तहदेखि लोकतन्त्रको विकासको सुरुवात भनेको र यहींबाट खारिएर प्रस्फुटित हुने प्रतिभाहरू क्रमशः राष्ट्रको निर्णय तहमा पुग्न थाल्छन् र उनीहरूबाट गरिएको निर्णय असल निर्णय हुनसक्छ ।

सहकारी संस्थामा प्रवेश गर्ने स्वयंसेवीहरूले समुदायमा आदर्शको नमूना प्रस्तुत गर्न सक्नुपर्छ । यस्तोकुरा सुन्दा धेरै मानिसलाई मन नपर्न पनि सक्छ । आर्थिक रूपमा कुनै पनि लाभ नमिल्ने देखेपछि अधिकांश व्यक्तिहरू पन्छिन पनि सक्छन् । तसर्थ तिनीहरू नै महान् हुन्छन् जसले निस्वार्थ रूपमा आफूलाई स्वयंसेवीको रूपमा समुदायमा पथप्रदर्शन गरिरहन्छन् ।

समुदायमा स्वयंसेवीले गर्ने सेवा
सर्वसाधारणको सेवा : कतिपय मानिसहरूलाई सहकारीको वास्तविक महत्व थाहा हुँदैन । सहकारीका दूरगामी उद्देश्य, महत्व र फाइदाका बारेमा समुदायमा परामर्श, छलफल, अन्तक्र्रिया लगातार गरिहने व्यक्ति सञ्चालकहरू नै हुन् । समुदायलाई आकर्षित गर्ने, सकारात्मक तरङ्ग ल्याउने र संस्थामा व्यक्तिलाई समाहित गर्दै जाने कर्तव्य सञ्चालककै हो । समुदायमा यस्ता स्वयंसेवी रहेनन् भने एक दिन संस्था पनि धरासायी हुन सक्छ । जब संस्था पूर्ण व्यावसायिक बन्दै जान्छ र सबै कामहरू लिखित नीतिहरूमार्फत सञ्चालन हुन थाल्छन् त्यस्तो अवस्थामा पनि स्वयंसेवीहरूको भूमिका रहन्छ । तर, समयसापेक्ष भूमिका अझ उच्च तहको बन्न सक्छ । उदाहरणको लागि सुरुमा सदस्य बन्न अभिप्रेरित गर्ने सञ्चालकले विकासको अर्को अवस्थामा पुग्दा उद्यमशीलतामा लाग्न अभिप्रेरित गर्नुपर्नेछ र उद्यमशीलतामा लागिसकेका व्यक्तिहरूलाई उन्नत प्रविधि र गुणस्तरीय वस्तु वा सेवाको उत्पादन तथा विस्तारतर्फ हौसला प्रदान गर्नुपर्ने हुनसक्छ । यी सबै कुरा स्थान, समय र विषय परिवेशमा आधारित हुन्छन् ।

लोकतान्त्रिक मर्म कायम राख्ने :
भाषण र नारामा वा सिद्धान्त र आदर्शमा जेजति कुरा भने पनि लोकतन्त्रको मर्म व्यवहारमा आत्मसात नगरुञ्जेल बोलिमा मात्र सीमित रहनजान्छ । समिति, उपसमितिहरूको नियमित बैठक, विषयगत छलफल र निक्र्यौल नै यसको प्रमुख उद्देश्य हो । उदाहरणका लागि भारतको गुजरातमा रहेको विश्वप्रसिद्ध अमुल दुग्ध सहकारीको नामाकरण गर्ने विषयमा हलमा जम्मा भएका व्यक्तिहरू बीच छलफल चल्यो । थरिथरिका नामहरू प्रस्ताव गरिए । अन्ततः हलको पछिल्लो भागमा बसेको साधारण क्लर्कले Ananda Milk Union Limited (AMUL) नामको प्रस्ताव गरेपछि हलमा ताली बज्यो । तसर्थ समिति वा उपसमितिका हरेक व्यक्तिलाई बारम्बार बोल्ने अवसर प्रदान गरिनुपर्छ अनिमात्र उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन हुनसक्छ । जुन कुरा संघ वा संस्थाका लागि काम लाग्न सक्छ ।

कतिपय व्यक्तिहरू सञ्चालकका लागि सञ्चालक बन्छन् । यस्ता सञ्चालकहरूको क्षमता अभिवृद्धिका लागि विविध तालिम तथा शिक्षाका कार्यक्रमहरूको निरन्तर आयोजना गर्दै उनीहरूलाई संघ वा संस्थाबारे यथेष्ट जानकारी दिनुपर्दछ ।

एकजना विद्वानले भनेका छन्, वार्तालप र छलफल नै लोकतन्त्रको सुगन्ध हो । यसरी तालिम तथा शिक्षाको माध्यमबाट विषयान्तर नभई खास विषयमा केन्द्रित रहेर छलफल गर्ने र विभिन्न विकल्पहरू मध्ये उत्तम विकल्पको छनौट गरी निर्णयमा पुग्न सक्ने क्षमताको विकास हुँदै जानसक्छ । ग्रामीण क्षेत्रको दूरदराजको वस्तीमा गएर लोकतन्त्र के हो ? भनेर सोध्नुस्, यस्तो उत्तर आउला, ‘लोकतन्त्र भन्ने कुनै वस्तु छ तर त्यो के काममा प्रयोग हुन्छ त्यो चाहिँ मलाई थाह छैन ।’ त्यसैले तल्लो तहदेखि संसदीय अभ्यास सिकाउने थलो पनि सहकारीबाहेक अरू कुनै नहुन सक्छ । विकसित मुलुकका वित्तीय कारोबार गर्ने क्रेडिट युनियन वा सहकारी संस्थाहरू आर्थिक कुराहरूमा मात्र केन्द्रित भएका पाइन्छन् भने अन्य मुलुकहरूमा सहकारी संस्थाको क्षेत्रको क्षितिज व्यापक र फराकिलो छ ।

सामुदायिक सेवा
स्वयंसेवीहरूले संघ वा संस्थाको छवि उच्च राख्न समुदायमा विविध कार्य गर्नैपर्दछ । आफूले आफूलाई अन्तर्मनले मूल्याङ्कन गर्नुपर्दछ ।आफ्नो पहलमा समुदायमा वर्षमा एकपटक पनि वृक्षारोपणको कार्य गरेको छैन वा महिलाको लागि वर्षेनी कुनै कार्यक्रमको आयोजना गरिएको छैन वा बालबालिकाको लागि वचत लगायतका कार्यक्रम गरेको छैन वा जेष्ठ नागरिकका लागि प्रेरणादायी कुनै पनि कार्यक्रम गरिएको छैन वा सरसफाइ लगायत स्वास्थ्यसम्बन्धी क्याम्प पनि गरिएको छैन भने त्यस्ता संस्थाका सञ्चालकले आफूलाई सञ्चालक भएकोमा गर्व गर्ने ठाउँ नै रहँदैन ।

समितिका पाँच मुख्य भूमिका
सञ्चालक समितिभित्र रहने सञ्चालकहरूको अनगिन्ति भूमिका रहन्छ । ती मध्ये निम्न पाँचवटा भूमिका यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।

१) प्रमुख निर्णयकर्ता
सञ्चालक समिति संस्थाको पहिलो निर्णयकर्ता हो । सञ्चालकहरूले समितिको बैठकहलमा प्रवेश गरेपछि आफूलाई गौरवान्वित ठान्दै विषयसूचीहरूमा सूक्ष्म र गहन छलफल गर्नुपर्छ । संस्थाका सदस्यहरूलाई सर्वोपरी स्थानमा राखी गरिने हरेक निर्णयहरू सदस्यको हितमा भए÷नभएको पुनरावलोकन पनि गर्नुपर्छ । संस्थाको प्रमुख निर्णयकर्ता भएका कारण ती निर्णयहरूले समुदायमा पार्ने भावी असरबारे जिम्मेवारी वहन गर्नु आवश्यक छ ।

संस्था वा संघका परिकल्पना, उद्देश्यहरू, नीतिहरू, कार्यक्रमहरू, व्यावसायिक योजनाहरूका बारेमा यथेष्ट छलफल र निर्णय एवम् कुशल प्रमुख कार्यकारी अधिकृतको छनौट कार्यको जिम्मेवारी पनि सञ्चालकले नै लिनुपर्ने हुन्छ । यी विषयवस्तुहरू माथि सुझबुझका साथ निर्णय गर्न सकेमा संघ वा संस्थाको गति तीव्र हुनसक्छ ।

२) सल्लाहकार वा रक्षकको भूमिका

संस्था वा समुदायको प्रमुख सलाहकारको हैसियतले सञ्चालकले कार्य गर्नुपर्ने हुन्छ । व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतलाई सल्लाह दिने कार्य लगायत समुदायका सदस्य वा सम्भावित सदस्यहरूसँग औपचारिक वा अनौपचारिक रूपमा वित्तीय परामर्श दिने काम पनि सञ्चालकहरूकै हो ।

३) संरक्षकको भूमिका
सञ्चालकहरूको भूमिका मध्ये यो अत्यन्तै महत्वपूर्ण भूमिका हो । संस्थाको पहरेदारको रूपमा हरदम क्रियाशील हुनु जरुरी छ । समुदायको अपार सम्पत्ति वचतको रूपमा स्वीकारी सकेपछि त्यो धनराशीको संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । समुदायका व्यक्तिहरूले गरेको असीम विश्वासलाई कायम राख्दै सेयर र वचतको सुरक्षा दिनु सञ्चालकको कर्तव्य हुनजान्छ । आफू सञ्चालक समितिबाट बाहिरिए पनि आफ्नो समयमा गरिएका निर्णयहरूको भागिदारी आफूपनि हुने हुँदा हरेक निर्णयमा सजगता अपनाउनु जरुरी छ ।

४) सांकेतिक भूमिका
सांकेतिक भूमिकालाई वाह्य आवरणभन्दा पनि सूक्ष्म रूपमा लिनुपर्ने हुन्छ । संघ वा संस्थामा काम गर्ने सञ्चालकहरूको आचरण, व्यवहार, शैली र बसउठले समुदायमा प्रभाव पारिरहेको हुन्छ । उनीहरूको असल व्यवहारलाई समुदायका व्यक्तिहरूले अपनाउन पनि सक्ने हुँदा उच्च तहको असल व्यवहार प्रस्तुत गर्दै जाने भूमिका सञ्चालकहरूको हुनुपर्दछ ।

समुदायको प्रतिनिधिको रूपमा सञ्चालकको हैसियतले संघ वा संस्थामा प्रवेश गर्ने हुँदा विभिन्न संघ÷संस्था, सरकारी, गैरसरकारी संस्थाहरूमा प्रस्तुत हुँदा सञ्चालकको व्यवहार र शैलीलाई नै संस्था ठानिने वा बुझिने हुँदा बोलीमा माधुर्यता, मिठास र व्यवहारमा झुकाई र नम्रता प्रस्तुत भएमा संस्थाप्रतिको उनीहरूको अवधारणा सकारात्मक बन्दै जानसक्छ । तसर्थ सञ्चालकहरूको छनौट गर्ने समयमा नै सबैलाई पदहरू भाग लगाउने भन्दा पनि कस्तो व्यक्तिकुन पदमा राख्नु वा चुन्नु उपयुक्त हुन्छ यसबारे संस्थामा सक्रिय रूपमा लागि परेका सदस्यहरूमाझ गहन छलफल गर्नु÷गराउनु जरुरी छ ।

५) निरन्तरताको भूमिका
आफू कार्यरत रहेको संस्था भविष्यमा अझ दीगो र भरपर्दो हुनेछ भन्ने कुरामा समुदायलाई विश्वस्त बनाउनका लागि सञ्चालकहरूबाट नियुक्त कुशल व्यवस्थापक र व्यवस्थापनबाट नियुक्त असल कर्मचारीहरूबाट मात्र सम्भव छ । त्यतिमात्र नभई उपसमितिहरूमा कुशल र असल सदस्यहरूलाई मौका दिँदै अगुवाहरूको क्षमता विकास गर्दै भावी नेतृत्वमा उनीहरूलाई भित्रयाउँदै आफूले सम्हाली आएको नेतृत्वको नासो खुल्ला दिलले हस्तान्तरण गर्दै जानुपर्छ । किनकि सहकारीसंस्था कुनै पसल होइन जुन मन लागेको समयमा बिक्री गर्ने र फेरि खोल्ने । यो त अविरल प्रवाहित रहने गङ्गासमान हो जुन युगयुगान्तरसम्म सदस्यको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय रूपान्तरणमा लागिरहन्छ ।
March 10, 2014 11:31 am

vcrishi@hotmail.com

अभिलेख

लोकप्रिय