एक पटक कल्पना गरौं त । हामीले दैनिक रुपमा प्रयोग गरिरहेको प्रविधि हुने थिएन भने हाम्रो जीवन कस्तो हुन्थ्यो होला ? आधुनिक टेक्नोलोजी विनाको जीवन कस्तो देखिन्छ होला ? प्रविधिविनाको समाज कम्तिमा पनि ५० वर्ष पछाडी फर्किन्छ । त्यसैले आज हामी प्रविधि विना कल्पना पनि गर्न सक्दैनौं । हामीले कुनै पनि प्रविधि अवलम्बन नगरि पुरै दिन बिताउन सक्छौं जस्तो लाग्दैन । अझ कार्यालय प्रविधि विना कल्पना गर्न सकिन्छ होला त ? आधुनिक प्रविधि विना दैनिक जीवन दयनीय हुन्छ भन्ने विषयमा कसैको दुई मत नहोला । टेक्नोलोजी विना काम गर्ने मानिसले एक दिनमा धेरै काम गर्न सक्दैन भन्ने कुरा हामी सजिलै बुझ्न सक्छौं ।
विश्वव्यापी रुपमा ४ दशमलब ६६ विलिययन मानिसहरु इन्टरनेट प्रयोग गर्दछन् । यसबाट लाभ उठाउँछन् । यसले हाम्रो व्वसायीक र व्यक्तिगत जीवन धेरै सजिलो बनाएको छ । टेक्नोलोजी विना शारीरिक रुपमा बाँच्न सम्भव त छ तर यो अवास्तविक र अविश्वसनीय रपमा असुविधाजनक हुनेछ । आज प्रविधि कहाँ छैन ? प्रविधिको आगमनले हाम्रो दैनिकीमा ठूलो परिवर्तन ल्याएको छ । छिटो, गतिशिल र थप सहज भएको छ । स्मार्टफोन र ट्याब्लेटमा हामी भर परिरहेका छौं । प्रविधिले जीवनलाई समुद्ध मात्र बनाएको छैन यसले निर्भरता बढाएको पनि छ । अमेरिकामा त ९६ प्रतिशत मानिसले प्रविधिको दैनिक प्रयोग गर्दछन् ।
अब सहकारीको कुरा गरौं सहकारी क्षेत्रले दक्षता, पारदर्शिता, सदस्य संलग्नता र समग्र कार्यसम्पादन अभिवृद्धि गर्न विभिन्न प्रविधिहरू अपनाइरहेका छन् । सुशासन कायम गर्न पनि प्रविधिको अवलम्बन भएको छ भने प्रविधिकै प्रयोगसँगै नयाँ विकृति र विसंगति पनि निम्तिएको छ । यी सबै कुरालाई बुझ्न जरुरी छ । पछिल्लो समय सहकारीलाई स्वनियमन र सुशासनमा संचालन गर्नका लागि समेत गुणस्तरीय प्रविधिक अवलम्बन अनिवार्य भएको तर्क समेत आउन थालेको छ ।
सहकारीले प्रविधि किन अवलम्बन गर्ने
टेक्नोलोजीले सजिलो र अधिक प्रभावकारी सञ्चारको सुविधा दिन्छ । सदस्यसँग सहज संचार हुने भएपछि जानकारी आदान प्रदान सहज भएको छ । सहकारी शुसासन र गतिविधिहरूमा सक्रिय रूपमा भाग सदस्यहरु सहभागि हुन सक्ने अवस्था प्रविधिले ल्याउने भएकाले एक पटक प्रविधि अवलम्बनमा महंगो जस्तो देखिए पनि यसले सहकारीको मूल्य मान्यता र सिद्धान्तको परिपालनामा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहकारीले बदलियो अवस्थालाई ध्यानमा राखेर प्रविधि अवलम्बनलाई प्राथमिकता दिनुपर्दछ । अहिले कतिपय सहकारीले कोर बैंकिङ सफ्वेयर राख्नुलाई मात्र प्रविधि अवलम्बन गरेको मान्दछन् । त्यो मात्रै होइन ।
प्रविधिको प्रयोग गरी आफ्नो व्यवसायिक मोडेलका सबै पक्षहरू (यसले के प्रस्ताव गर्छ, यसले सदस्यहरूसँग कसरी अन्तरक्रिया गर्छ र कसरी सञ्चालन गर्छ) निरन्तर सुधार हुनु नै डिजिटल रुपान्तरण हो । अहिले नेपालका सहकारीहरु डिजिटाइजेसनको चरणबाट डिटिटलाइजेसनतर्फ अगाडि बढ्न थालेको देखिन्छ तथापी डिजिटल साक्षरतालाई बढवा दिनुपर्ने टड्कारो अवाश्यकता छ ।
जसरी टेक्नोलोजीको विकास र विस्तार हुन्छ त्यसैगरी व्यवसायलाईलाई रुपान्तरण गर्न सकेन भने त्यसको विलय अवश्य हुन्छ । त्यसैले आज नेपालमा सहकारीलाई टेक्नोलोजी प्रयोग गर्ने कि नगर्ने भनेर छनोट गर्ने अवसर छैन । कसरी रुपान्तरण गर्ने भनेर योजना बनाउने उपाय मात्र रहेको छ । निरन्तर परिवर्तनशिल वातावराण्मा अनुकुलन हुनका लागि पनि डिजिटल रुपान्तरण आजको आवश्यकता हो ।
प्रविधिको अवलम्बन गर्नु अघि सहकारी संघ/संस्थाले तीन मुख्य क्षेत्रमा ध्यान दिनुपर्दछ ।
सदस्य अनुभव
सदस्यले प्रविधिलाई कसरी अनुभव गरिरहेको छ । उसले सहज रुपमा प्रयोग गर्ने प्रविधि र त्यसलाई बृद्धि गर्नका लागि गरिने टेक्नोलोजीमा ध्यान दिनुपर्छ । धेरै सदस्यलाई समेट्ने सक्ने टेक्नोलोजी हेर्नुपर्छ । यो गुणस्तरीय र सुरक्षित हुनुपर्छ । हामीले यसको मुल्यमा टेक्नोलोजीलाई प्रयोग गर्न थाल्यौं भने कमजोर सावित हुने छ ।
परिचालन प्रक्रियाहरू
अहिलेकै अवस्थामा सहकारीले डिजिटलाइजेसन र स्वचालित प्रविधिको पूर्ण लाभ उठाउन सक्दैनन् । यसको आंशिक प्रयोग मात्र भएको मान्नुपर्दछ । कुनै पनि चिजको अधिकतम उपयोग गर्न सक्नु महत्वपूर्ण विषय हो । हामीले बोकेको मोबाईललाई हामीले कति प्रयोग गर्न सक्षम छौं जब कि यसको प्रयोग अध्याधिक ठाउँमा हुन सक्छ । यसको साक्षरतालाई वृद्धि गर्ने, जनशक्ति त्यस्तै राख्ने विषयमा पनि ध्यान दिनुपर्छ । आन्तरिक प्रक्रिया र सोंचलाई नबदली प्रविधि प्ररिचान प्रभावकारी हुन सक्दैन । डिजिटल उपकरणहरूसँग कर्मचारीहरूलाई घनिष्ठ सम्बन्ध निर्माण गराउन सक्नुपर्छ । अर्थात् आवश्यकता अनुसारको प्रशिक्षण र जेड जेनेरेसनलाई भर्ती गर्न सक्नुपर्छ । कार्यसम्पादन निगरानी गर्न र थप रणनीतिक व्यापार निर्णयहरू गर्न डाटा सङ्कलनलाई ध्यान दिन सकेको खण्डमा प्रविधि प्रयोगले संस्थालाई नयाँ चरणमा प्रवेश गराउँछ ।
व्यवसाय रुपान्तरण
डिजिटल उपकरणहरूसँग आफ्ना सेवा सुविधलाई जोड्न सक्यौं भने हाम्रो व्यवसायलाई रुपान्तरण गर्न सक्छौं । हिजो सबै काम गर्न कार्यालयमा लाइनमा बस्नुपर्दथ्यो आज धेरै काम घरबाटै मोबाईलमार्फत सम्भव भैसकेको छ । त्यसैले यो अवस्था सिर्जना गर्नका लागि प्रविधिमैत्री सेवा सुविधा हुन आवश्यक छ ।
ब्लकचेन जस्ता प्रविधिहरूले लेनदेन र सञ्चालनहरूमा पारदर्शिता सुनिश्चित गर्दछ, सदस्यहरू र सरोकारवालाहरू बीच विश्वास निर्माण गर्ने भएकाले यसको विश्वव्यापी रुपमा प्रयोग भैरहेको सन्दर्भमा नेपालमा सहकारीहरुले अहिले पनि सस्तोको नाममा जोखिमयुक्त प्रविधिहरु अवलम्बन गरेको देखिन्छ ।
डिजिटल प्लेटफर्महरू र ई–कमर्शले सहकारीहरूलाई फराकिलो बजारहरूमा पुग्न र विविध सेवाहरू प्रदान गर्न सक्षम बनाउँछ तर यसको लाभ सहकारीले उठाउन सकेको देखिँदैन । सहकारीमा आवद्ध भएका कृषकले अहिले पनि बजार पहुँच पाएनन् भनेर गुनासो आउनुको पछाडि सहकारी प्रविधि मैत्री नभएर नै हो । यसतर्फ सहकारीका छाता संघहरुको समेत चासो र ध्यान जानुपर्छ । आफुले नचाखेको फल अमिलो भने जस्तो गर्नु हुँदैन ।
उन्नत डाटा एनालिटिक्सले सहकारीहरूलाई वित्तीय योजनादेखि कृषि अभ्यासहरूसम्म, राम्रो नतिजाहरूतर्फ लैजानका लागि राम्रो निर्णय लिने अन्तरदृष्टि प्रदान गर्दछ । जापानलगायतका देशहरुले यसलाई भरपुर प्रयोग गरेको देखिन्छ ।
टेक्नोलोजीले सहकारीहरूलाई परिवर्तनशील बजार अवस्था, नियामक वातावरण र सदस्य आवश्यकताहरू अनुकूलन गर्न सक्षम बनाउँछ, उनीहरूको लचिलोपन र दिगोपनलाई बढाउँछ । पछिल्लो समय सहकारीको नियमनको ठूलो चर्चा चलिरहेको छ । अझै पनि हामीले सहकारीको नियमन भौतिक उपस्थितिमा नै हुनुपर्छ भन्ने मानसिकतामा रहेको देखिन्छ । त्यसलाई हामीले टोड्नुपर्छ ।
मोबाइल र डिजिटल प्रविधिहरूले सहकारी सेवाहरूलाई दुर्गम वा सेवा नपुगेका क्षेत्रहरूमा सदस्यहरूलाई थप पहुँचयोग्य बनाएको पनि छ । अझै बनाउनेतर्फ केन्द्रीत हुनुपर्छ । प्रविधिहरूलाई एकीकृत गरेर, सहकारीहरूले सदस्यहरूको आवश्यकताहरू पूरा गर्ने र आर्थिक र सामाजिक विकासमा योगदान गर्ने आफ्नो लक्ष्य अझ बलियो रुपमा पुरा गर्न सक्ने भएता पनि सहकारीकर्मीहरुमा डिजिटल साक्षरताको आवश्यकता भने तड्कारो देखिन्छ ।
डिजिटल प्लेटफर्म र मोबाइल एप्स
सदस्य विश्लेषण सुधार गर्न र अनलाइन किनमेललाई सुविधा दिनका लागि सहकारीहरुले डिजिटल प्लेटफर्म र मोबाईल एप्सको प्रयोगलाई बढावा दिनुपर्छ । आजका सहकारी नेताहरूले मोबाइल एप्सका फाइदाहरू पत्ता लगाउनु पर्छ की कुनै एपले उनीहरूको व्यवसाय बढाउन मद्दत गर्न सक्छ । सदस्य सञ्चार, मतदान, र निर्णय प्रक्रियामा सहभागिताको सुविधा प्रदान गर्नका लागि डिजिटल प्लेटफर्म र मोबाईल एप्सलाई प्रयोग गर्न सकिन्छ । अब भन्नुस् कति छोटो समयमा कति धेरै सदस्यको प्रतिक्रिया जान्न सकिन्छ होला । सहकारीको सेवा र जानकारीमा सहज पहुँच प्रदान गर्न यो जस्तो सजिलो आजको दिनमा अर्काे कुनै उपाय छैन । कृषि सहकारीको एप भयो भने मौसमको जानकारी, विउ विजनको जानकारी उत्पादनको जानकारी, रोगलगायतका जानकारी किसानले खेतबाट नै थाहा पाउन सक्छन् । यस्तो सजिलो उपाय अवलम्बन गर्नका लागि सहकारी अग्रसर हुनुपर्छ ।
ब्लकचेन टेक्नोलोजी
ब्लकचेन टेक्नोलोजीमार्फत सहकारी लेनदेनलाई पारदर्शिता र विश्वासनीय बनाउन सकिन्छ । मतदान संयन्त्र सुरक्षित गर्न र आपूर्ति श्रृंखलाहरूमा ट्रेसबिलिटी सुनिश्चित गर्नका लागि यसको प्रयोग हुन सक्छ । यसको दु्रत प्रगतिले यो विश्व प्रविधिको नयाँ चरणमा प्रवेश गरिसकेको छ । असम्भव देखिने धेरै कुराहरु सम्भव बनाइसकेको अवस्थामा हामीले यसलाई कसरी उपयोग गर्ने भन्ने विषयमा सोच्ने र योजना बनाउने बेला आइसकेको छ । उच्च कारोबार शुल्क, दोहोरो खर्च कम गर्न सकिन्छ । ब्लकचेन प्रविधि डिजिटल डाटा भण्डारण र सुरक्षित गर्ने तरिकाको रूपमा सन् १९९१बाट सुरु भएको भए पनि यसको प्रगति असिमित छ । रेकर्ड गरिएको जानकारी समावेश सबै पक्षहरूको सम्झौता बिना परिवर्तन गर्न गाह्रो हुन्छ ।
क्लाउड कम्प्युटिङ अवलम्बन गर्ने विषयमा पनि हामीले धेरै विचार विमर्श गरिरहेको देखिन्छ । यो आजको आवश्यकता हो । वित्तिय रेकर्डहरु सुचीहरु सदस्यको डेटा प्रबन्ध गर्नका लागि यसको प्रयोग भरपर्दाे हुने भएकाले यसतर्फ पनि सबै सहकारीको ध्यान जान जरुरी छ ।
आजको आवश्यकता डिजिटल साक्षरता
आजको समाजमा डिजिटल प्रविधिको प्रयोग अपरिहार्य बनिसकेको छ । समकालीन समाजमा दैनिक जीवनको विशेषता नै मान्नुपर्दछ । त्यसैले डिजिटल साक्षरता आजको आवश्यकता हो । सहकारीका संचालक, समिति उपसमिति, सदस्य तथा कर्मचारीका लागि यसको आवश्यकता छ । हामीले माथि प्रविधिको विषयमा केहि चर्चा ग¥यौ त्यो प्रयाप्त छैन । यसका लागि डिजिटल साक्षरतालाई व्यापक रुपमा सहकारी संघ/संस्थाले अगाडि बढाउनै पर्छ ।
डिजिटल उपकरणहरू प्रयोग गरेर डाटा सुरक्षा गर्नु मात्र ठूलो कुरा होइन । यसको प्रयोगले दिने अवसरहरू र मुद्दाहरूको विश्लेषण गर्न सक्ने जागरुकता प्रदान गर्न पनि आवश्कता छ । परिवर्तन सँगै थपिएका नयाँ चुनौतीहरुको विषयलाई समेत बुझ्न जरुरी छ । जथाभावी रुपमा प्रविधिको प्रयोग गर्दा अझ ठूलो हानी हुन सक्ने हुन्छ । साइबर सुरक्षाका विषय बुझ्नु अपरिहार्य बनिसकेको छ । यस विषयलाई हामीले महत्व दिनुपर्छ । डिजिटल साक्षरताले सदस्यलाई सिक्न, परिवर्तन गर्न र डिजिटल विश्वव्यापी वातावरणमा अनुकूलन गर्न सशक्त बनाउँछ । हामी सहकारीको उद्देश्य पनि यहि नै हुनुपर्छ । टेक्नोलोजीको रचनात्मक र विश्लेषणात्मक प्रयोग गर्न सक्ने सदस्य बनाउनु हाम्रो अबको उद्देश्य हुनुपर्छ । अनलाइन संसारमा पूर्ण र व्यावसायिक संलग्नताको लागि सक्षम बनाउँनका लागि नेपालमा सहकारीले अझै केहि मेहेनत भने गर्नैपर्छ । त्यसकारण, डिजिटल साक्षरता, जसले व्यक्तिको ज्ञान, सीप र डिजिटल टेक्नोलोजीहरूसँग अभ्यासलाई जोड दिन्छ ।
सामान्य कम्प्युटर चलाउने सिपलाई नै कतिपयले डिजिटल साक्षरताका रुपमा हेरेको पनि पाइन्छ । यो सिप भनेको दैनिक प्रयोगको लागि डिजिटल मिडिया लागू गर्न सक्षम हुने पहिलो चरणको सिप हो । कतिपयलाई यति सिप भए पनि पुग्न सक्छ तर संचालक कर्मचारीको हकमा यो सामान्य विषय मात्र भयो । डेटा हेर्ने विश्लेषण गर्ने विभिन्न डिजिटल प्लेटफर्महरू सञ्चालन गर्न सक्ने सिपको आवश्यकता रहन्छ । त्यसैले परिवर्तनहरूसँग अनुकूलन गर्न सक्षम हुनु डिजिटल प्लेटफर्महरूसँग काम गर्ने अभिन्न अंग हो भन्दा फरक पर्दैन ।
संसारका धेरै भागहरूमा, महिलाहरू कम आर्थिक रूपमा साक्षर छन् र, त्यसैले, बैकिङ पहुँच कम रहेको बताइन्छ । वित्तीय जस्ता क्षेत्रमा विश्वव्यापी डिजिटल समावेशीकरणलाई बढावा दिन सहकारीले डिजिटल साक्षरतालाई बढवा दिनैपर्छ । जसले पछाडि परेका लिंग, वर्गलाई पनि वित्तिय रुपमा समेत अगाडि बढाउन सक्षम हुन्छ । यसले असमानताको खाडललाई समेत कम गर्न सक्छ ।
अन्य विकास साझेदारहरू र क्षेत्रका सरोकारवालाहरूसँग मिलेर सहकारीको डिजिटल रूपान्तरण हासिल गर्न आवश्यक छ । तबमात्र समृद्ध मुलुक निर्माणको यात्रामा हामी अगाडि बढ्न सक्छौं । तल्लो तहका जनता प्रविधिको प्रयोगमा कमजोर रहेमा हाम्रो राष्ट्रिय लक्ष्य प्राप्त गर्न पनि सकिदैन । र तत्लो तहसम्म पुगेका सहकारीले यसमा महत्वपूर्ण योगदान गर्न सक्छन् ।
टेक्नोलोजी एक क्रस–कटिंग विषयवस्तु भएकाले पनि यस विषयमा धेरैको ध्यान केन्द्रीत गराउन सक्नुपर्छ डिजिटल कनेक्टिविटी ग्याप पुर्न, सुरक्षित र खुला डिजिटल सार्वजनिक पूर्वाधार मा लगानी, र डिजिटल सेवाहरू पहुँच विस्तार र सदस्यलाई यसको प्रयोग गर्न मद्दत गर्नका लागि सहकारीलाई पनि राज्यले सहयोग गर्नुपर्छ । विशेष गरी रोजगारी र आर्थिक रूपान्तरण एजेन्डासँग पनि यो जोडिने भएकाले सहकारी एक्लैले पनि यसमा ठूलो रुपान्तरण गर्न सक्दैन । त्यसमा सबैको हातेमालो आवश्यकता रहन्छ ।