३ असार २०८१, सोमबार

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं

२०७९ फागुन १७, बुधबार
वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं

आदरणीय वित्तीय सहकारीकर्मी महानुभावहरु,

सदस्यहरु सहकारीका भगवान हुन् । अहिले वित्तीय कारोबार गर्ने केही सहकारीहरुमा देखिएको वा देखाईएको समस्याको हल गर्ने सामर्थ केवल सदस्यहरुमा मात्रै छ र यो तथ्यलाई सर्वदा मुल मन्त्रको रुपमा स्वीकार्नुपर्दछ ।
सहकारीको आधार सदस्यहरु हुन् । सदस्य आधार (Member Base) बलियो भएका संस्थाहरुमा यस किसिमका समस्या छैनन्, आउँदैन । त्यसकारण अहिलेको चुनौतीपूर्ण परिस्थितिको सामना सदस्यहरुसँग मिलेर गरौं । न की, सदस्यहरुबाट विमुख भएर ।

अहिले समस्यामा परेका भनिएका केही संस्थाहरुको अध्ययन गर्ने हो भने केही संस्थाहरुमा पक्कै पनि नियतमा समस्या देखिएलान्, तर अधिकांशको समस्या त्यस्तो होईन । धेरै संस्थाहरु नियतमा खराबीको कारण नभई प्राविधिक रुपमा वित्तीय व्यवस्थापन गर्न नजानेर, नसकेर संकटमा परिरहेका छन् । सोचौं, आज सम्म जति पनि सहकारीहरु समस्यामा परे, केहीले कार्यालय बन्द गरे, केहीका सञ्चालकहरु सम्पर्क विहिन भए । के ती सबैले अकुत पैसा/सम्पत्ती लिएर गएका छन् त? अपवाद वाहेक धेरै सहकारीहरु वित्तीय मापदण्डको जानकारी वा प्रयोगको ज्ञान नभएर, नजानेर, संघहरुले गरेको अनुरोध वा मार्गदर्शनलाई नजरअन्दाज गरेर संस्थाहरुले कायम गर्नुपर्ने वित्तीय सुशासन ख्याल नगरेर समस्यामा परेका छन् । लामो अवधिको लागि ऋण लगानी, थोरै सदस्यहरुमा ठुलो रकम लगानी, जोखिम विश्लेषण नगरी गरिएको लगानी, क्षेत्रगत रुपमा विविधिकरण नगरिएको लगानी, एकमुष्ट अशुलीको शर्तमा गरिएका लगानी, गैह्र वित्तीय क्षेत्रहरु (घर, जग्गा, कम्प्लेस, मार्ट आदि) मा गरिएका लगानी लगायतका कारण संस्थाहरुमा पुँजीको सर्कुलेसन बन्द जस्तै भएको छ । ऋण लगानी गरिएका क्षेत्रहरु समस्यामा परेको छ । ऋण दिइएका सदस्यहरुको व्यवसाय निरन्तरतामा कसैले ध्यान दिएको देखिँदैन ।

वित्तीय सहकारीहरुको सञ्चालन भनेको खेलाँचीको विषय होईन, यो अन्य सहकारी भन्दा फरक हो, टेक्निकल हो, जटिल हो । त्यसकारण वित्तीय सहकारीरुको लागि विश्वऋण परिषदले फरक सिद्धान्त मार्फत विश्व वित्तीय सहकारी सञ्जाललाई मार्गदर्शन गरेको छ । वित्तीय सहकारीहरु बैंक होईनन्, तर बैंक भन्दा बढी हुन, किन भने वित्तीय सहकारीले सदस्यहरुसँग बचत लिने र ऋण दिने मात्र नभई सदस्यहरुको हेरचाह, सदस्यहरुको सुरक्षाको विषयमा समेत कार्य गर्नुपर्दछ । वित्तीय कारोबार कस्ता सहकारीले गर्ने र कस्ताले गर्न नमिल्ने भन्ने विषयमा घनिभुत छलफल आवश्यक देखिएको छ, धेरै कन्फ्युजन छ । आफु उभिएका धरातल सबैलाई ठिक लाग्दछ, आफुलाई विर्सिएर निर्णय गर्न नसकेसम्म वित्तीय सहकारी क्षेत्रको समस्या अस्थायी रुपमा मात्र समाधान हुन सक्दछ ।

के सदस्यहरुको पैसा मासिएकै हो त? होईन भने सदस्यहरुबाहेक अन्य कसैसँग अहिले समाधान छैन, यो प्रष्ट यथार्थ हो । सहकारी स्व-नियमनको आधारमा सञ्चालन हुने स्वायत्त संस्था हो । वित्तीय संस्थाको स्व-नियमन र स्वायत्ततालाई कानुनी रुपमै परिभाषित गरिनुपर्छ भनेर आवाज उठाईएको धेरै लामो समय भयो, फरक फरक निकायको फरक फरक स्वार्थ भएकोले आज वा भोलि नै वित्तीय सहकारीहरुको नियमनको निमित्त विशिष्ट कानुन बन्ला भन्न सकिने अवस्था छैन । यो भन्नुको मतलब के हो भने समस्या निम्तिईनै सकेको अवस्थामा तपाईको संस्थाका सदस्यहरुसँग बाहेक न सरकारसँग समाधान रहन्छ, न अभियानको नेतृत्वसँग । संघ/महासंघहरुले समस्या आउनै नदिनको लागि मार्गदर्शन गर्ने हो, गरिरहेका पनि छन् । संघ/महासंघहरुले जारी गरेको मार्गदर्शनलाई अंगिकार गरेका संस्थाहरुमा समस्या आउँदैन । तर, समस्या पैदा भईसकेको अवस्थामा अव ति मार्गदर्शनले के तपाईको सदस्यलाई प्रत्यक्ष रुपमा छुन सक्ला त? सक्दैन, यो तितो यथार्थ हो । त्यसैले समाधान सदस्यहरुसँग नै खोज्नुहोस ।

समाधान खोज्ने कसरी?
१) सदस्यहरुलाई प्रष्ट रुपमा वास्तविकता बताउनुहोस् । संस्थाले सेयर, बचत, कोष, बाह्य ऋण सापटी लगायत कहाँ कहाँबाट कति कति रकम संकलन गरेको छ र कहाँ कहाँ, कति कति, के के शिर्षकमा लगानी भएको छ, सो को विवरण सदस्यहरुसँग बताउनुहोस् । सदस्यहरुलाई यकिन दिलाउनुहोस् की संस्थाले रकम मासेको वा हिनामिना गरेको छैन, लगानी गरिएको रकम समयमा फिर्ता नभएको कारणले बचत फिर्ता दिन कठिनाई भएको हो भने यही विषय सदस्यहरुलाई प्रष्ट बताउनुहोस् ।

२) सदस्यहरुसँग निरन्तर सम्पर्कमा रहनुहोस्, भेला गर्नुहोस्, परामर्श गर्नुहोस् । संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उप समितिहरु, कर्मचारीहरु सबैलाई सदस्यहरुमाझ परिचालन गर्नुहोस् । क्षेत्रगत रुपमा साना साना समुहहरु बनाई भेला गर्नुहोस् । धेरै ठुलो हजारौंको भेला एकैपटक एकै स्थानमा नगर्नुहोस् । हरेक भेलामा समिति र कर्मचारीहरु सहभागी बाँडिएर सहभागी हुनुहोस् । संस्था सँधै सदस्यहरुमाझ नै रहेको विस्वास दिलाउनुहोस् ।

३) संस्था बन्द नगर्नुहोस् । सकिन्छ भने अझ थप समय पनि सञ्चालन गर्नुहोस् । यदि संस्था बन्द गर्नुभएको छ भने पनि तुरुन्त सबै समिति र कर्मचारीहरु उपस्थित भएर संस्था सञ्चालन सुरु गर्नुहोस् । सदस्यहरुसँग निरन्तर सम्वाद गर्नुहोस् ।

४) ऋण असुलीलाई प्राथमिकीकरण गर्नुहोस् । लगानी गरिएका ऋणहरुलाई लगानीको क्षेत्रको आधारमा बर्गिकरण गर्नुहोस् र लगानी गरिएका क्षेत्रहरु जस्तै व्यवसाय सञ्चालन, घर जग्गा व्यापार, हायर पर्चेज लगायतका क्षेत्रहरुमा लगानी गरिएका ऋण असुली नहुनु वा कम अशुली हुनुको कारण के हो? यकिन गर्नुहोस् । ऋण लगानी गरिएका सदस्यहरु सबैसँग भेटघाट गर्नुहोस्, उनीहरुलाई लगानी गरिएको परियोजनाको समस्या बुझ्नुहोस्, उनीहरुलाई आफ्नो व्यवसाय सञ्चालन गर्न मद्दत गर्नुहोस् । कानुनी प्रक्रिया गरी असुल गर्नुपर्ने ऋणको हकमा अविलम्व असुली प्रक्रिया थाल्नुहोस् ।

६) ऋण लगानी बाहेक अन्य क्षेत्रमा गरिएका लगानीहरु जस्तै जग्गा खरिद, भवन/घर खरिद, महँगा गाडी खरिद आदि क्षेत्रमा संस्थाको रकम परिचालन गरिएको छ भने अविलम्व विक्री वितरण थालनी गर्नुहोस् । कम्तीमा सबै सदस्यहरुले थाहा पाउने गरी त्यस्ता आय आर्जन नगर्ने सम्पत्तीहरु विक्री वितरण सम्बन्धी सूचना नै जारी गर्नुहोस् । त्यस्ता सम्पत्तीलाई नगदमा रुपान्तरण गर्नुहोस् ।

७) चालु खर्च कटौती गर्नुहोस् । अनावश्यक क्षेत्रमा खर्च नगर्नुहोस् । अत्यावश्यक बाहेक कुनै पनि शीर्षकमा रकम खर्च नगर्नुहोस् । अनावश्यक रुपमा विलासिताका वस्तुहरु आर्जन नगर्नुहोस् ।

८) समिति, कर्मचारी र आफन्तहरुमा ऋण लगानी गरिएको (DOSRI Loan) छ भने पहिलो प्राथमिकतामा राखि असुल गर्नुहोस् । असुल उपर गरिएको विषय समेत सदस्यहरुलाई जानकारी गराउनुहोस् । ध्यान दिनुहोस, DOSRI Loan असुल नगरी सदस्यहरुले ऋण तिर्न तदारुकता देखाउँदैनन् ।

९) सदस्यहरुमाझ आफै वास्तविकता उजागर गर्नुहोस् । संस्थाको लगानी भएको रकम समयमा असुल उपर नभएको विषय सदस्यहरुलाई आफैले जानकारी गराउनुहोस् । के कारणले तरलता कम भयो, सदस्यहरुले बुझ्ने सामान्य भाषामा बताउनुहोस् । कुनै तेस्रो पक्षले सदस्यहरुलाई बताउनु वा समाचारको रुपमा सम्प्रेषण हुनु घातक हुन्छ । त्यसैले आफैले प्रतिवेदन मार्फत सदस्यहरुलाई जानकारी गराउनुहोस्, सदस्यहरुसँग यस विषयमा परामर्श गर्नुहोस् । विश्व ऋण परिषद्को सदस्य सुरक्षा सम्बन्धि सिद्धान्तको मर्म पनि यही छ, जे हो त्यही वास्तविकता सदस्यलाई जानकारी दिनुहोस् ।

१०) संस्थालाई सामान्य रुपमा सञ्चालनमा ल्याउन मद्दत गर्न सदस्यहरुलाई अनुरोध गर्नुहोस् । कुनै पनि वित्तीय संस्था पूँजीको एकतर्फी बाह्य प्रवाह मात्र हुँदा बाँच्न सक्दैनन् । यस विषयमा सदस्यहरुलाई सुसूचित गराउनुहोस् । सामान्य अवस्थामा झैँ बचत एवम् ऋणको कारोबार गर्न अनुरोध गर्नुहोस् ।

११) सदस्यहरुलाई सहकारी शिक्षा निरन्तर रुपमा दिनुहोस् । सहकारी संस्थाको पूँजीको स्रोत एवम् परिचालनको संरचना, तरलता व्यवस्थापन गर्ने स्रोतहरु, सहकारीका सिद्धान्तहरु एवम् सेयर सदस्यहरुको जिम्मेवारीका विषयहरु समेटी नियमित रुपमा सहकारी शिक्षा शिविर सञ्चालन गर्नुहोस् ।

१२) सदस्यहरुलाई प्रगतिको जानकारी दिनुहोस् । कहिले कहिले के के गतिविधि भए र सोबाट के कति प्रगति भए, अब संस्थाको वित्तीय अवस्था कस्तो छ? भन्ने विषयमा सदस्यहरुलाई कुनै न कुनै माध्यमबाट (सकेसम्म साना साना समुह भेलामार्फत) जानकारी गराईरहनुहोस् ।

१३) सदस्यहरु ग्राहक होईनन्, संस्थाकै अभिन्न अंग हुन् । सदस्यहरुलाई संस्थाको निर्णय प्रक्रियामा सहभागी हुने अधिकार हुन्छ, सदस्यहरु सर्वोच्च हुन् । त्यसैले, संस्थाको निर्णय प्रक्रियामा सदस्यहरुलाई सहभागी गराउनुहोस् । संस्थाको स्वामित्व बोध गराउनुहोस् ।

१४) गलत निर्णय नगर्नुहोस् । अत्यन्त चनाखो तरिकाले वित्तीय विश्लेषण गर्नुहोस् । आत्तिएर बजारमा उपलब्ध बैकल्पिक स्रोतहरुबाट चुक्ता गर्नै नसकिने लागतका स्रोतहरु संकलन नगर्नुहोस् । विश्लेषण नगरी कुनै पनि प्रतिवद्धता नदिनुहोस् । यसले भविष्यमा झन जटिल समस्या पैदा गर्छ ।

१५) संस्थाको लेखापरिक्षण र साधारण सभा गर्न बाँकी छ भने अविलम्व गर्नुहोस् । साधारण सभामा सदस्यहरुलाई पहिलो प्राथमिकता दिनुहोस् । उनीहरुको चासोको विषयमा गम्भिर छलफल गर्नुहोस् । अतिथि बोलाएर भाषण गर्ने समय यो होईन ।

१६) संस्था अब उप्रान्त वित्तीय शुसासन कायम गर्दै सम्पूर्ण अनुपालनासहित सञ्चालन गर्न प्रतिवद्ध हुनुहोस् । सदस्यहरुसँग सार्वजनिक प्रतिवद्धता जाहेर गर्नुहोस् र प्रतिवद्धता पुरा गर्न आजैबाट शुरुवात गर्नुहोस् । संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउनुहोस् । आन्तरिक लेखापरिक्षण नियमित रुपमा गराउनुहोस् । कमीकमजोरीहरु सुधार गर्दै जानुहोस् ।

१७) सक्षम व्यवस्थापन तयार गर्नुहोस् । यो चुनौतीपूर्ण समयमा विवेकपूर्ण तरिकाबाट काम गर्न सक्ने क्षमतावान व्यवस्थापन समूह तयार गर्नुहोस् ।

१८) समस्यामा परेका संस्थाहरुको समुह मिलेर एकीकरण नगर्नुहोस् । यस्तो क्रियाकलापले समाधानमा पुर्याउँदैन । एकीकरण सफल पनि हुँदैन । यसले झन् सदस्यहरुमाझ नकारात्मकता बृद्धि गर्छ । संस्था सामान्य अवस्थामा फर्किएपछि मात्र एकीकरणको विषयलाई अगाडी बढाउनुहोस् वा स्तरीय ढंगबाट सञ्चालन भईरहेको ठुलो आकारको संस्थासँग समस्यामा परेको सानो आकारको संस्था एकीकरण गर्दा हुँने जोखिम विश्लेषण र DDA-Due Diligence Audit सम्पन्न गरी यदि उपयुक्त देखिएमा मात्र मात्र एकीकरण गर्नुहोस् । हचुवाको भरमा एकीकरण घोषणा नगरौं । साना साना समस्या जोडेर ठुलो समस्या नबनाऔं ।

१९) नियामक निकायसँग समन्वयः संस्थाको नियमन गर्ने क्षेत्राधिकार प्राप्त नियामक निकायसँग समन्वय गर्नुहोस् । संस्थामा देखिएको चुनौती र समाधानको लागि संस्थाले गरिरहेका विषयहरुको जानकारी गराउनुहोस् ।

२०) संघ/महासंघहरु सँग समन्वयः संघ/महासंघहरुले वित्तीय कारोबार गर्ने सहकारीहरुलाई सकारात्मक वातावरण सिर्जना गर्ने विषयमा गर्ने पैरवीहरुमा साथ दिनुहोस् । ऐक्यबद्धता जनाउनुहोस् । वित्तीय कारोबार गर्ने संस्थाहरुको स्तरीय सञ्चालनको लागि केन्द्रीय संघले जारी गरेको मार्गनिर्देशन, स्वनियमन मार्गनिर्देशनको पालना गर्नुहोस् । संघ र सहकारी बैंकसँग आफ्नो संस्था स्तरीय एवम् सुशासित तवरबाट सञ्चालन गर्ने प्रतिबद्धता गर्नुहोस् । प्रतिबद्धता पालना गर्नुहोस् र एकका लागि सबै, सबैका लागि एक भन्ने भावनाका साथ यस चुनौती सामनामा ऐक्यबद्ध हुनुहोस् ।

वित्तीय सहकारी अभियानको स्तरीय सञ्चालनको लागि गर्नुपर्ने कामहरु धेरै छन् । अहिले सदस्य सुरक्षालाई प्राथमिकता दिऔं ।

जय सहकारी !

 

अभिलेख

लोकप्रिय