१५ असार २०७९, बुधबार

सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता

१२ फाल्गुन २०७८, बिहीबार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता

पृष्ठभूमि

सहकारीको स्थापना र अन्य संस्थाहरुको स्थापनामा नै आभारभूत भिन्नता रहेको छ । समान उद्देश्य भएका व्यक्तिहरु परस्परमा मिलेर समानताको आधारमा प्रजातान्त्रिक ढंगले गरिने कार्यलाई सहकारीता भनिन्छ । नेपाली शव्दकोषमा सहकारी शव्दको तपसिलका अर्थहरु दिइएको छः सहकारी, विषेशणको रुपमा एकसाथ मिलेर काम गर्ने, साथसाथै काम गर्ने, सहयोगी साथी, सहायक ब्यक्ति, मद्यतगार भन्ने बुझिन्छ । यसरी नै नामको रुपमा सहकारी भन्नाले धेरै ब्यक्ति एकै साथ मिलेर काम गर्ने भावना, सामुहिक रुपले काम गर्ने प्रबृत्ति, उपभोक्ता वा व्यवसायीहरु मिलेर सबैको हितको निमित्त कुनै सामान बनाउने वा बिक्रि गर्ने काम भन्ने अर्थ हुन्छ । सहकारी सामाजिक उद्यम हो । सदस्यहरुद्वारा सदस्यहरुले सदस्यहरुकै सहयोग, विकास, प्रवर्धनका लागि गरिने सामुहिक प्रयत्न (collective endeavor) नै सहकारी हो ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) ले सन् १९९५ सेष्टेम्बरमा भएको महासभाबाट पारित परिभाषाः सहकारी त्यस्ता व्यक्तिहरुको स्वायत्त संगठन हो, जो स्वेच्छिक रुपमा एकजुट भइ आफ्ना समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकताहरु र आकांक्षाहरुको परिपूर्तिको लागि संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यवसाय हो A cooperative is an autonomous association of persons united voluntarily to meet their common economic, social and cultural need and aspirations through a jointly owned and democratically controlled enterprise. भने अन्य संस्थाहरुको कुनै यस्तो निदिष्ट परिभाषा समेत पाइदैन केशव साझा उद्देश्य प्राप्तीका लागि संगठीत स्वरुप नै संस्था हो भन्ने बुझाई छ ।

सहकारी संस्था अन्तराष्ट्रिय मुल्य, मान्यता तथा सिद्धान्तमा प्रतिपादित हुन्छ र विश्वको जुनै पनि सहकारीहरुले अन्तर्राष्ट्रिय सहकारी महासंघले प्रतिपादन गरेको सिद्धान्तहरुमा चल्नुपर्ने भएकोले सबै देशका सहकारीहरुको विशेषता एउटै प्रकृतिको हुन्छ जुन सहकारी संस्थाहरु अन्य संस्थाहरु भन्दा पृथक अस्तित्व र पहिचानका हुन्छन् । तर अन्य संस्थाहरुको आफ्नै सिद्धान्त तथा नियमनबाट संचालित हुन्छन् जुन व्यक्तिगत, कुनै निजि तथा मुख्यतः आर्थिक स्वार्थबाट, कोहि सामाजिक, त कोहि वातावरणीय एवं आवश्यकताको आधारमा सञ्चालित हुने भएको एक संस्था विच अन्य संस्थाको उद्देश्य फरक पर्दछ र लक्ष्य समेत फरक हुने भएकोले सो को लागि प्रेरित हुन्छन् तर सहकारीहरु भने सामुहिक भावना तथा सदस्यहरु मार्फत समाजप्रति बढी उत्तरदायि हुन्छन् र प्राय सबै सहकारीहरुको मुख्य लक्ष्य आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र वातारणीय मुद्धामा नै केन्द्रित रहेका हुन्छन् । अतः अन्य विभिन्न प्रकारका संस्थाहरु जस्तैः पूँजीबादी, संयुक्त पूँजी कम्पनी, औद्योगिक संस्था, विभिन्न गैह्सरकारी संस्थाहरु, विभिन्न प्रकारका यूनियनहरु, संञ्जालहरु, वित्तिय संस्थाहरु, बैकहरु र सहकारी संस्थाहरु, उनीहरुको कार्यशैली, संरचनात्मक स्वरुप, उद्देश्य, काम गर्ने तैरतरीकाहरुमा नै आधारभूत रुपमा भिन्नता रहेको पाईन्छ ।

भिन्नताका आधारहरु

संरचनात्मक स्वरुपः सहकारी संस्था अन्तर्राष्ट्रिय मुल्य मान्यताको आधारमा स्वैच्छिक रुपमा स्वनियन्त्रित प्रजातान्त्रिक संस्था हो यसमा कार्यसमितिको अलवा लेखा समिति पनि साधारण सभाबाट निर्वाचित हुन्छन र आवश्यकता अनुसार अन्य उपसमितिहरुको गठन गरिन्छ । यो संस्था अन्तराष्ट्रिय मुल्य, मान्यता तथा सिद्धान्तमा प्रतिपादित हुन्छ भने अन्य संस्थाहरु विशेषतः आर्थिक लाभमा केन्द्रित हुनाले आवश्यकता अनुसार मात्र विभिन्न समिति तथा उपसमितिको गठन हुन सक्दछ तर जुन विभिन्न राष्ट्र अनुसार एउटै संस्थाहरु पनि फरक फरक हुन सक्दछ जसलाई अन्तर्राष्ट्रिय आधारमा संस्थापनको लागि कुनै मुल्य, मान्यता, सिद्धान्त तथा नियमनहरु हुदैन ।

संञ्जाल, सम्बन्ध र समन्वयन

सहकारी संस्थाको संञ्जाल एउटा राष्ट्रको एउटा किसानको सम्बन्ध अन्तर्राष्ट्रिय जगतसम्म हुने गर्दछ किनकी सहकारीको संञ्जाल प्रारम्भिक सहकारी, विषयगत संघ, जिल्ला संघ, बिषयगत केन्द्रिय संघ, राष्ट्रिय सहकारी संघ, हुदै अन्तर्राष्ट्रिय सहकारी महासंघसम्म हुनाले विश्वका सबै राष्ट्रहरु सगं एउटा राष्ट्रको एउटा किसान जो सहकारीको सदस्य छ उसको सम्बन्ध अन्तराष्ट्रिय जगत सम्म हुनेगर्दछ । सहकारीतामा सम्पूर्ण सरोकारवालहरु सगँ सहयोगात्मक सम्बन्ध हुन्छ । अन्य संस्थाहरुको सम्बन्ध तथा संञ्जाल सहकारी संस्थाहरुको जस्तो हुदैन किनकी विभिन्न राष्ट्रका एउटै प्रकृतिका संस्थाहरुको पनि अर्को राष्ट्रमा भएको उस्तै प्रकृतिको संस्था सगँ पनि अलग हुने भएकोले अन्तराष्ट्रिय सम्बन्ध तथा संञ्जाल विस्तार हुदैन, किनकी अन्य संस्थाहरु अन्तर्राष्ट्रिय मुल्य, मान्यता तथा सिद्धान्तबाट प्रतिपादित हुदैन् । अन्य संस्थाहरु आफ्ना विभिन्न सरोकारवालाहरु सगँको सम्बन्ध प्रायः कटुतापूर्ण हुने गर्दछ कुनै सगँ राम्रो सम्बन्ध भयो भने धेरै सगँ राम्रो सम्बन्ध हुदैन् किनकी प्रतिस्पर्धि रुपमा हेरिने गर्दछ र उक्त सम्वन्ध कुनै निश्चित उद्देश्यका लागि मात्र हुने देखिन्छ ।

सिद्धान्त तथा मुल्यहरु

विश्वका जुनै पनि सहकारी संस्थाहरु अन्तराष्ट्रिय सहकारी महासंघले प्रतिपादन गरेको अन्तराष्ट्रिय ७ सिद्धान्त अनुरुप चल्ने हुनाले प्रायः जुनै पनि राष्ट्रमा स्थापना भएका कुनै पनि सहकारीहरुको बिशेषता, मुल्य, मान्यता तथा मुलभुत सिद्धान्तहरु एउटै प्रकारका हुन्छन । अन्य संस्थाहरु कुनै पनि देश, स्थान, व्यक्तिहरु, उद्देश्यहरु, र कुनै स्थान विशेष सिद्धान्तबाट स्थापित भएका हुनाले देशअनुसार एउटै प्रकृतिका संस्थाहरु पनि फरक फरक हुन्छन् जसको विशेषता अलग अलग हुन्छन् ।

लक्ष्य तथा उद्देश्यहरु

सहकारीहरुले अन्तर्राष्ट्रिय महासंघले प्रतिपादन गरेको सिद्धान्तमा केन्द्रित भई सहकारीको प्रकृतिअनुसार आफ्ना उद्देश्यहरु तय गर्दछन् । सहकारीहरु व्यवसाय भएता पनि नाफा भन्दा सेवामा र एकका लागि सबै र सबैका लागि एक भन्ने सामुहिक भावनाबाट प्रेरित संस्था भएकोले यसले समाज विकासमा पनि उत्तिकै चासो देखाउने गर्दछ । यस प्रकारको संस्था व्यक्ति भन्दा पनि सामुहिक र समाज प्रति पूर्ण जवाफदेहि तथा उत्तरदायित्व हुने गर्दछन् अतः विश्वका सम्पूर्ण सहकारी संस्थाहरुको संस्थागत संस्कृति (Organizational Culture) प्रायः एकेै प्रकारको हुने गर्दछ ।

अन्य संस्थाहरुको उद्देश्य तय गर्दा कुनै पनि अन्तर्राष्ट्रिय सिद्धान्तबाट प्रतिपादित नभई एउटै प्रकृतिका संस्थाहरु बीच पनि अलग अलग उद्देश्य हुने गर्दछ, यस प्रकारका संस्थाहरु व्यक्तिगत, कुनै निश्चित स्वार्थ, सम्बन्ध, नाफा, पूंजी तथा सम्पतिमा केन्द्रित मुल्य मान्यता तथा सिद्धान्तमा आधारित हुने भएकोले एकै प्रकृतिका संस्थाहरु बीच पनि अलग अलग उद्देश्यहरु हुने गर्दछ ।

सदस्यता तथा सोच

सहकारी संस्थाहरुमा समान उद्देश्य, समान आर्थिक प्रगति, स्तर, एकै भौगोलिक क्षेत्र, सामुहिक भावना, निष्पक्ष, आधारहरुलाई केन्द्रविन्दु बनाई सदस्यता वितरण गरिएको हुन्छ । जसले गर्दा सम्पूर्ण सदस्यहरुको सोचाई पनि समान हुने गर्दछ । अन्य संस्थाहरुको सदस्यता वितरणमा कुनै एकरुपता नहुने भएकोले जुनै पनि आर्थिक स्तर, भौगोलिकता, जात पात, पेशा, भावना, नातावाद, कृपावादको आधारमा पनि सदस्यता वित्तरण भएकोले समान भावना, स्तर र सोचाईको अभाव हुन्छ ।

कार्यशैली तथा पद्धति

सहकारी संस्थाले कुनै पनि कार्य गर्दा नैतिकता तथा उचित चरित्रमा प्रजातान्त्रिक तरिकाले सबैले सल्लाह गरेर निर्णय गर्दछन्, त्यस्तै सम्पूर्ण सदस्यहरु नीति निमार्णमा अन्तिम र महत्वपूर्ण स्थान साधारणसभामा मतदाताको रुपमा मात्र नभई पदाधिकारी भएर पनि कार्य गर्न सक्दछन्, सहकारी एक व्यवसायिक संस्था भएता पनि नाफाको निश्चित प्रतिशत सामाजप्रति तथा आफ्ना सदस्यहरुको शिक्षामा लगानी गर्दछन् । सहकारीमा सबै क्षेत्रका मानिसहरु अटाउन सक्दछन्, यसले कुनै कुरामा भेदभाव गर्दैनन् । सहकारीको कार्यक्षेत्र अति नै व्यापक हुन्छ र समाजको चौर्तफी विकासमा समेट टेवा पुर्याउँछ । अन्य संस्थाहरु निश्चित उद्देश्य, व्यक्तिहरु तथा पेशागत रुपमा नाफा वा सेवाको लागि स्थापना भएको हुन्छन् यी दुबै विशेषता अन्य संस्थाहरुमा हुँदैन् । नाफा कमाउने संस्थाले उपभोक्ता तथा सदस्यहरुबाट महंगो वस्तु तथा सेवाहरु उपलब्ध गराउँछन् भने केही संस्थाहरु सामाजिक विकासमा अनुदानमा चल्ने हुँदा दिगोपनाको पनि अभाव हुन्छन् । प्रायः अन्य संस्थाहरु प्रजातान्त्रिक नभई व्यक्तिगत तथा दवाव कै आधारमा पनि निर्णय गर्दछन् । अन्य संस्थाहरुको कार्यक्षेत्र सिमित हुन्छन् भिन्न भिन्न संस्थाले भिन्न भिन्न क्षेत्रमा काम गर्दछन् अर्थात् सेवा Specific हुने गर्दछ ।

उत्तरदायित्व तथा जवाफदेहिता वहन

सहकारी आफ्ना सदस्यहरु तथा समाजप्रति बढी उत्तरदायी तथा जावाफदेही हुन्छन् जसलाई व्यावहारिक रुपमा प्रष्ट देख्न सकिन्छ । अन्य संस्थाहरु आफ्ना सदस्यहरु तथा समाजभन्दा पनि सहयोगीहरु तथा लक्षित वर्ग प्रति बढी उत्तरदायी तथा जवाफदेही हुन्छन् एवं उक्त उत्तरदायित्व तथा जवाफदेही केवल दस्तावेजहरुमा सिमित हुन्छन् नकी व्यवहारमा किनकी जसको लागि कानूनत तथा निद्धिष्ट सिद्धान्तहरुबाट प्रतिपादित हुँदैन त केही संस्थाहरुले भने आफ्नो अनुकुल यस्ता जवाफदेहिताका औजार निमार्ण गरी प्रयोग समेत गरेको पाईन्छ ।

निष्कर्ष

सहकारी एक अन्तर्राष्ट्रिय सिद्धान्त, मुल्य, भावना र पद्धतिको आधारमा स्थापना भएको तथा विश्वव्यापी विकास एजेण्डालाई आत्मसाथ गरी आफ्नो लक्ष्य र सहकारीताको मर्म अनुरुप कार्य गर्ने साथै राष्ट्रिय रणनीतिको सामिप्यमा रहने संस्था भएकोले पनि अन्य संस्थाहरु भन्दा आधारभूत रुपमा नै पृथक छ । राष्ट्रिय योगदानमा समेत उल्लेख्य भुमिका रहेको सहकारी क्षेत्रको भूमिका विशेषगरी ग्रामिण क्षेत्रमा बढी सहनीय रहेको छ । अतः विकास निमार्णको एक कुशल हिस्सेदार तथा अर्थतन्त्रका लागि कानूनी रुपमा पनि स्वीकार्य एक महत्वपूर्ण खम्बा रहेकोले यसको अस्तित्व, योगदान र भुमिका समेत अन्य संस्थाहरु भन्दा अवल दर्जामा राख्न सकिन्छ अतः यसको क्षवीलाई बढवा दिन सहकारी संञ्चालनमा अन्तर्राष्ट्रिय सिद्धान्त, मुल्यको आत्मसाथ र सुशासनका असल अभ्यास भने सदैव आवश्यक पर्दछ ।

अभिलेख

लोकप्रिय