सहकारी सदस्यता व्यवस्थापन र सुशासन
गोपीनाथ मैनाली
सहकारी सदस्य केन्द्रित सामुदायिक व्यवसाय हो । सदस्यहरूको सक्रियता, समर्पण, व्यावसायिकता र सदाचारमा नै सहकारी आफ्नो व्यवसाय बन्दछ । नेपालको संविधान जारी भइसकेपछि सहकारी सम्बन्धी कानुनलाई एकीकरण र व्यवस्थित गर्न तर्जुमा गरिएको ऐन, जसलाई सहकारी ऐन, २०७४ भनिन्छ, ले गरेका खास प्रावधानमध्ये सदस्यता सम्बन्धी प्रावधान पनि एक हो । ऐनको दफा ३० अनुसार १६ वर्ष पूरा भएको, संस्थाको कार्यक्षेत्रभित्र बसोबास गरिरहेका नेपाली नागरिक जो संस्थाको विनियममा उल्लिखित सर्त पूरा गर्छ, जिम्मेवारी पालन गर्छ र संस्थाले गरेको कारोवारसँग प्रतिस्पर्धा हुने कारोवार गर्दैन, सहकारी संस्थाको सदस्य हुनसक्छ । यी व्यवस्थाले सहकारी संस्थाको स्थानीयता, सदस्यको जिम्मेवारी र आचरणलाई महìव दिइएको स्पष्ट छ ।
सहकारी भावना कायम गर्न र यसका मूल्य सिद्धान्तलाई संस्थागत गर्न दफा ३० को सदस्य प्रावधानलाई दफा ३२ ले विशेष व्यवस्था गरेको छ । सोअनुसार कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्य बन्न पाउँदैन । यो ऐन जारी हुनुभन्दा पूर्व कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्य रहेको भए ऐन प्रारम्भ भएको तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम गर्नुपर्ने व्यवस्था छ । यो प्रावधान कृत्रिम व्यक्ति वा निकायका लागि पनि लागू हुन्छ तर सदस्यता छनोट गर्ने अवधि भने पाँच वर्ष छ । तर स्वास्थ्य र शिक्षा सहकारीको हकमा यो प्रावधान लागू हुनेछैन ।
सहकारी ऐनमा भएका प्रावधानले स्पष्टतः दुई कुराको सन्देश दिएको छ । पहिलो, सहकारी संस्थाको सदस्य संस्थाको कार्यक्षेत्रभित्र बसोवास गरेको नेपाली नागरिक हुनुपर्छ, व्यक्तिको बसोवास एक क्षेत्रमा मात्र हुन्छ भन्ने स्वतःसिद्ध छ । दोस्रो, त्यस्तो संस्थाको सदस्य समान प्रकृतिको एक संस्थाको मात्र सदस्यता लिन पाउँछ । अर्को यदि यसअघि एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्यता लिएको छ भने त्यसलाई नियमित गरी सदस्यको इच्छाअनुरूप एक संस्थामा मात्र सदस्यता कायम गर्न‘पर्छ ।
सहकारी ऐन, २०७४ कार्यान्वयनमा आएको तीन वर्ष नाघिसकेको छ । अब जिम्मेवार सदस्यहरूले आफ्नो इच्छा अनुरूपको संस्था छनोट गरी एकै प्रकृतिको एक संस्थामा मात्र आफ्नो सदस्यतालाई कायम गरी सहकारी संस्थाको क्रियाकलापमा संलग्न भइसकेका छन् । किनकि ऐनले दिएको म्याद सकिएको छ । सहकारी समाजका आदर्श संस्था र यसका सदस्य समाजका आदर्श व्यक्ति भएकाले ऐनमा भएको प्रावधान कार्यान्वयन भइसकेको छ भन्ने स्वाभाविक अनुमान गर्न सकिन्छ । सामान्य नागरिक पनि राज्यइच्छा, उसैको सहमतिमा निर्धारण भएका साझा मूल्यका खिलापमा जाँदैनन्, जानु कानुनको उल्लङ्घन हो, कानुन उल्लङ्घन सजायको विषय हो । त्यसमा पनि सहकारीका सदस्यहरू संस्थामा आबद्ध हुनुअघि सहकारी शिक्षा लिन्छन्, सदस्य भइसकेपछि स्वनियमन र स्वयम् अनुशासनमा बस्दछन् । विधि र विधानको मान्यतामा सहकारी उदाहरणीय बन्नुको विकल्प छैन । सहकारीका विषयगत सङ्घहरू आफ्ना विषयक्षेत्रमा आबद्ध संस्थाका सदस्यहरूलाई कसरी उदाहरणीय बनाउने भन्नेमा अहोरात्र लाग्छन् भन्ने मान्यता छ ।
प्रश्न उठ्न सक्छ, एकल सदस्यको प्रावधान किन राखियो ? यसपछिको औचित्य के हो ? यसले सहकारी अभियानलाई कुन दिशामा निर्देश गर्दछ ? यी प्रावधानहरूले सहकारीका आधारभूत सिद्धान्तलाई आत्मसात् गराउन कसरी सघाउँछन् ? सहकारीका आधारभूत सिद्धान्तको सार स्वावलम्बन र आपसी मद्यतलाई संस्थागत गर्नु हो । सदस्यहरू आपस्तमा रहेर आपसी भावनालाई ख्याल गर्छन् र आपसी आवश्यकता पूरा गर्छन् । त्यसैले सहकारी अन्य व्यवसायभन्दा भिन्न सामाजिक विशिष्ठताको व्यवसाय हो । ओवनी सिद्धान्त र रोचडेली मान्यताले यसैको पुष्टि गर्दछ । एक व्यक्ति समान प्रकृतिको धेरै व्यवसायमा संलग्न रहँदा स्वावलम्बन संस्कृति र सामुदायिक बन्धनका भावनाहरू दह्रा होइन, तरल बन्दछन् । साझा बन्धन कमजोर हुन्छ । यसले सहकारी व्यवसाय, सहकारी सेवा उपभोग र सहकारी अभिभारा बहन जस्ता सदस्य मूल्यलाई कमजोर बनाउँछ । धेरै संस्थाको सदस्य बनेमा सहकारीकर्मी नै बनाउन सकिँदैन भन्ने अन्तर्राष्ट्रिय सहकारी महासङ्घको मान्यता पनि हो । त्यसैले सदस्य सिद्धान्तको प्रवलीकरणमार्फत सामूहिक भावना र सदस्य अभिभारा बहन गर्न एकल सदस्य प्रावधान आवश्यक भएको हो ।
दोस्रा, सहकारी संस्थाको व्यावसायीकरणका लागि पनि एकै प्रकृतिका एक संस्थाको आवश्यक हुन आउँछ । सदस्यहरू धेरै संस्थाको व्यवस्थामा संलग्न रहँदा संस्थाको हित विस्तार गर्ने उत्पादन, बजारीकरण, गुणस्तर, क्षमता विकास जस्ता पक्षहरूमा ध्यान पुग्दैन । केवल सदस्य बनेर सहकारीको दायित्व पूरा हँुदैन । सहकारी जिम्मेवारी र व्यावसायिकताका लागि एक संस्था सदस्य प्रावधान आवश्यक भएको हो । तेस्रो, धेरै संस्थाको सदस्य हँुदा संस्थासँग गर्ने कारोवारमा सहकारी भावना नदेखिने सम्भावना प्रबल रहन्छ । एउटा संस्थाको कर्जा दायित्व निर्वाह नगरी अर्को संस्थामा कारोवार गर्न पुग्ने सम्भावना रहन्छ । नेपालका सहकारीमा यो प्रवृत्ति देखिँदै आएको छ । कुनै व्यक्ति एउटा संस्थामा कारोवार गर्दा जति संस्थाप्रतिको निष्ठामा रहन्छ, धेरै संस्थामा रहँदा निश्चय नै त्यसले सघनता पाउन सकिँदैन । दोहोरो, तेहोरो सदस्यताले नक्कली कारोवारलाई पनि बढावा दिन सक्छ । किनकि सहकारीका सबैै सदस्य सहकारी मूल्यप्रति समान प्रतिबद्धता नरहन सक्छन् । हाम्रोजस्तो सदस्य स्वनियमनमा नरहने र नियामक निकायको क्षमता कमजोर रहेको अवस्थामा एक संस्थामा मात्र सदस्य रहने व्यवस्थाले कारोवारलाई स्वच्छ र शुद्ध बनाउन योगदान पु¥याउँछ । कर्जा लिने तर समयमा चुक्ता नगर्ने प्रवृत्तिलाई पनि नियमित गर्छ ।
चौंथो, सहकारी संस्थाको आन्तरिक सुशासनलाई बढावा दिन पनि सदस्यलाई एकमात्र संस्थामा सीमित गर्ने कानुनी व्यवस्था आवश्यक छ । एक संस्थाभन्दा बढीमा सदस्य रहँदा व्यक्तिले सदस्यको रूपमा पूरा गर्नपर्ने दायित्व र जिम्मेवारीबाट विषयान्तर भई संस्थामा सीमित सदस्यको वर्चस्व बढ्न जान्छ, संस्थाको नीति, रणनीति राम्रा बन्दैनन् । संस्था प्रजातान्त्रिक, पारदर्शी आचरण र जवाफदेहिता कमाजोर देखिन गई सुशासनको पक्ष ओझेलमा पर्छ । यस्तो नेपालका धेरै सहकारीमा देखिएको छ । संस्थाको निक्षेप व्यक्तिगत खातामा राख्ने, समितिमा जानकारी विना नै अनाधिकृत कारोवारमा लगानी गर्नेजस्ता कारण आफ्नै व्यवसायबाट सदस्यहरू ठगिएका छन् । सहकारीको नाममा अर्कै व्यवसाय गरिरहेको पनि देखिएको छ । सदस्यका गुनासा आमसञ्चार माध्यमले मात्र होइन, सहकारी सम्बन्धी प्रतिवेदनले पनि उजागर गरेको छ ।
पाँचौँ, एकै व्यक्ति धेरै संस्थामा सदस्य बन्दा सहकारी सम्बन्धी जानकारी र तथ्यहरू वास्तविक बनिरहेका छैनन् । मुुलुकमा कुल सदस्य कति छन्, व्यवसाय कसरी सञ्चालित छ, कारोवारको स्थिति कस्तो छ ? त्यो पहिचान भएपछि समाज, अर्थतन्त्र र सेवा व्यवस्थापनमा सहकारीको योगदान बढाउने गरी नीति–कार्यक्रममा सम्बोधनका लागि पृष्ठपोषण गर्न सकिन्छ । अहिले सहकारीभित्रका खुद सदस्य, अर्थतन्त्रमा योगदान कति छ भन्ने वस्तुगत आधार स्थापना भएको छैन । सातौँ, र सबैभन्दा महìवपूर्ण पक्ष भनेको सहकारी व्यवसायको सामुदायीकरणका लागि व्यक्तिलाई एक संस्थामा सीमित गर्न खोजिएको हो । सहकारी सामुदायिक व्यवसाय हो, खास समुदायका विशिष्ठ अवस्थालाई सम्बोधन गर्न सदस्यमा निहित सम्भावना र क्षमताको उपयोग गरी व्यवसायको सामुदायीकरण गर्ने भावना रहेको देखिन्छ । साथै, संस्थामा सञ्चालक र व्यवस्थापक एकै व्यक्ति रहन नहुने व्यवस्था राखी कार्यकारी र नीति भूमिका छुट्याइ नियन्त्रण र जवाफदेहितालाई सुदृढ बनाउन खोजिएको छ । संविधानले राखेको उद्देश्य पूरा गर्न कानुनले सदस्य र संरचनाका विषयमा राखेका प्रावधानले व्यवसायको सामुदायीकरण र स्वावलम्बन संस्कृति विकासमा केन्द्रित छन् ।
यसर्थ दोहोरो–तेहोरो सदस्यता नियमित गरी सदस्यलाई एक संस्थामा सीमित गर्दा विपर्यस्त (सन्देहास्पद, विपरीत) हितबाट संरक्षण हुन्छ । अनिच्छित क्रियाकलाप नियन्त्रित हुन्छन्, कृत्रिम कारोवार नियन्त्रित हुन्छन् । सहकारी व्यवसाय सामुदायीकृत हुन्छ, सदस्य हित विस्तार हुन्छ, लुकेको कार्यसूची अन्त भई सहकारीमा सुशासन कायम गर्न सघाउ पुग्छ । सहकारी ऐन तर्जुमाका समयमा पनि यिनै आधारमा एक प्रकृतिको एक संस्थाभन्दा बढी संस्थामा सदस्य बन्न नपाउने र कार्यकारी र नीति भूमिका छुट्याउने विषयले महìव पाएको थियो, जसलाई स्वयम् सहकारी अभियानले नै प्राथमिकतामा राखेका थिए ।
पुष ६ गते गोरखापत्र दैनिकमा प्रकाशित । (लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ ।)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार