१६ मंसिर २०८०, शनिबार

काठमाडौंका सहकारीहरु ५ वर्गमा वर्गीकरण

८ मंसिर २०७९, बिहीबार
काठमाडौंका सहकारीहरु ५ वर्गमा वर्गीकरण

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई ४ वटा वर्गमा वर्गीकरण गरेको छ । महानगरले आफ्नो क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थालाई क, ख, ग र घ वर्गमा वर्गीकरण गरेको हो ।

५ वर्षदेखि साधारण सभा नियमित भएका, कोपोमिसमा अद्यावधिक भएका, ५ देखि १० करोड रुपैयाँसम्म प्राथमिक पुँजी भएका र समुदायमा आधारित भएर सञ्चालनमा रहेका सहकारीलाई उत्तम अर्थात ‘क’ वर्गमा राखेको छ । त्यस्तै साधारण सभा नियमित नभएका, जरिवाना तिरेका, बचत फिर्ता गर्न उजुरी परेका सहकारीलाई शंकास्पद अर्थात ‘ख’ वर्गमा राखेको छ ।

त्यस्तै प्रहरीमा उजुरी परेका, अदालतमा मुद्दा परेका र पदाधिकारी फरार रहेका सहकारीहरुलाई जोखिमपूर्ण अर्थात ‘ग’ वर्गमा राखेको छ । पदाधिकारी फरार, विवाद, ऋण प्रवाह, असुली, भुक्तानी, बचत फिर्ता, सम्पत्ति व्यवस्थापनजस्ता कारणले संकटमा परेकालाई संकटग्रस्त अर्थात् ‘घ’ वर्गका सहकारीमा राखेको छ । त्यसैगरी विगत १० वर्षदेखि अद्यावधिक नभई सम्पर्क विहिन रहेका सहकारीलाई निष्क्रिय सहकारी अर्थात् ‘ङ’ वर्ग राखेका काठमाडौं महानगरपालिका अन्तर्गतको सहकारी विभागले जनाएको छ ।

सहकारी विभागले अहिले १ सय १८ वटा सहकारीको उजुरी सुनुवाई गरिरहेको छ । जसमध्ये ७१ वटा आफैँ हेरिरहेको छ भने ४७ वटालाई कारबाहीका लागि प्रहरीमा पठाएको छ ।

आफैँ हेरिरहेको सहकारीका उजुरीहरुमा बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्य समिति विवाद, लेखा समिति विवाद, ऋण असुली जस्ता विषय छन् । घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएको समस्या सहकारी क्षेत्रमा देखिएका समस्या हुन् ।

काठमाडौँ महानगरपालिका क्षेत्रमा अहिले १ हजार ९ सय ५५ वटा सहकारी छन् । ती मध्ये १ हजार ६ सय २८ वटा बचत तथा ऋण सहकारी हुन् । २ सय ६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमुलक, २ वटा शिक्षामुलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका एक÷एक वटा र अन्य ५ वटा सहकारी छन् ।

विभागले मर्जरका लागि २७ वटाको शिफारिस बागमती प्रदेशमा पठाइएको छ ।

कुल १ हजार ९ सय ५५ मध्ये चालु आर्थिक वर्षमा १ सय ८५ वटा सहकारी अद्यावधिक भएको विभागले जनाएको छ । २ वटा सहकारी संकटग्रस्त छन् भने क्षेत्र विस्तार गरेर कार्यस्थल स्थानान्तरण गरिएका २ वटा छन् ।

काठमाडौँ महानगर क्षेत्रभित्र भएका सहकारीहरुमा सर्वसाधारणले गरेको रकम बचत जोखिममा पर्ने गरेको उजुरी बढेको महानगरका उपप्रमुख सुनिता डंगोलले जानकारी दिईन । कार्यपालिका अन्तर्गत सहकारी समिति गठन गरेपछि अनुगमनलाई तीब्र बनाइने समेत उनको भनाई छ ।

महानगरले बुधबार सहकारी विभागका काम र योजनाका विषयमा अधिकारीहरुसँग छलफल गरेको थियो ।

अभिलेख

लोकप्रिय