१६ चैत्र २०८०, शुक्रबार

पाँच तारा सहकारीले सदस्यलाई १५ प्रतिशत लाभांश दिने

२ आश्विन २०७८, शनिबार
पाँच तारा सहकारीले सदस्यलाई १५ प्रतिशत लाभांश दिने

संस्थाले कोभिड १९ को महामारीलाई मध्यनजर गरी सीमित व्यक्तिको उपस्थितिमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाले सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गनिर्देशन अनुरुप गत भाद्र २० गतेबाट सदस्यहरुका लागि वार्षिक प्रतिवेदन वितरण तथा सुझाव संकलन र उपस्थिति पुस्तिका खुल्ला गरेको थियो ।

काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाले आज विद्युतीय माध्यमबाट साधारणसभाको समापन गरेको हो । सभा समापन समारोहका प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले शुभकामना मन्तब्य दिँदै सातै प्रदेशमध्ये बागमती प्रदेशका धेरै सहकारीहरुमा समस्या देखिएकाले त्यसलाई समाधान गरी सुशासनमा ल्याउनु अहिलेको आवश्यकता रहेको बताउनुभयाे ।

कतिपय संस्थामा आएको समस्याका कारण त्यसको असर राम्रोसँग चलेका सहकारी संस्थामा पनि पर्ने भएकाले त्यसतर्फ सचेत हुँदै अभियानसँग सहकार्य गरेर अगाडि बढ्न उहाँले सुझाव दिनुभयाे । कुनैपनि व्यक्ति सहकारीमा आवद्ध हुनुपूर्वको अवस्था र भइसकेपछि उसको जीवनस्तरमा कत्तिको सुधार आयो त्यसले नै संस्थाको सफलता मापन गर्ने उप्रेतीले बताउनुभयाे ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं कास्कुनका अध्यक्ष दिपक पनेरुले पछिल्लो समयमा विशेषतः बचतऋण सहकारीमा समस्या बढेको बताउनुभयाे । सहकारीको मुल्यमान्यता र सिद्धान्त अनुरुप नचल्ने एवं सहकारीको बोर्ड झुण्ड्याउने तर काम र व्यवहार भने फरक गर्ने संस्थाहरुका कारण सहकारीको छवि धुमिलिएको उहाँकाे भनाई थियाे ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएकाे थियाे । कोभिड १९ का कारण एकैपटक सबै सदस्यहरु भेला भएर साधारण सभा गर्न असम्भव भएकाले सदस्यहरुको घरघरमा वार्षिक प्रतिवेदन पुर्याई उनीहरुबाट आएको सल्लाहसुझावका आधारमा साधारणसभा सम्पन्न गरिएको उहाँले बताउनुभयाे ।

सदस्यहरुलाई उत्पादनमा जोडिन आग्रह गर्दै उहाँले भन्नुभयाे, ‘संस्थाले सरल र सुलभ ब्याजदरमा ऋण प्रवाह गर्छ । महिला उद्यमशीलता विकास गर्न संस्थाले १० प्रतिशत कै हाराहारीमा ऋण दिन्छ । यसको उपयोग गर्न म महिला सदस्यहरुलाई आग्रह गर्छु ।’

प्रति सदस्य १ हजार शेयरपुँजीबाट शुरु भएको संस्थाको गत असार मसान्तमा शेयरपुँजी ६ करोड ६७ लाख ३३ हजार र सबै कोषहरुमा गरी संस्थागत पुँजी ८ करोड ९१ लाख ९० हजार पुग्नु आफैंमा उपलब्धीमूलक भएको उहाँले बताउनुभयाे ।

संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक विवरण प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ६ करोड ६७ लाख, बचत संकलन ४८ करोड ७ लाख र ऋण लगानी ५३ करोड ५६ लाख पुगेको जानकारी दिनुभयाे । संस्थाले त्यस अवधिमा २ करोड ५५ लाख ४१ हजार खुद मुनाफा गरेको र सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित भएको जानकारी उहाँले दिनुभयाे ।

त्यसैगरी संस्थाले सदस्यहरुबाट संस्थागत विकास कोष वापत लिएको रकम मध्ये यो वर्ष १० प्रतिशत र आगामी वर्ष १० प्रतिशत गरी २० प्रतिशत फिर्ता गर्ने भएको छ ।

संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक सुशील प्रसाईंले प्रतिवेदन पेश गर्दै जोखिम विश्लेषण गरी नाफा बाँडफाँडको व्यवस्था मिलाउन र आन्तरिक लेखापरीक्षण विभाग स्थापना गरी सदस्यको हितमा हुने गरी कार्यान्वय गर्दै जान सुझाव दिनुभयाे ।

संस्थाका उपाध्यक्ष विजय मल्लले स्वागत मन्तब्य राखेको सभा सचिव लोचनहरि प्रसाईंले सञ्चालन गर्नुभएकाे थियाे ।
संस्थाले ७५ वर्ष माथिका सदस्यहरुलाई चाडपर्व खर्च वापत जनही २ हजारका दरले रकम प्रदान गरेको छ । सदस्य र समुदायको आर्थिक तथा सामाजिक उत्थानमा कृयाशील पाँचताराले स्थानीय स्तरमा रक्तदान, सरसफाई, सामाजिक क्रियाकलाप, खेलकुद, मठमन्दिरको जगेर्ना जस्ता विविध क्षेत्रमा आफ्नो भूमिका निभाउँदै आएको छ भने राष्ट्रिय स्तरमा सहकारी अभियन्ताहरुलाई नियमित रुपमा सम्मान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय