१६ चैत्र २०८०, शुक्रबार

विशिष्टीकृत संघमार्फत पर्यटन क्षेत्रमा लगानी गर्ने सहकारीको तयारी

१२ असार २०७७, शुक्रबार
विशिष्टीकृत संघमार्फत पर्यटन क्षेत्रमा लगानी गर्ने सहकारीको तयारी

तुलसी सुवेदी

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) पछि सहकारीले पर्यटन क्षेत्रका विभिन्न परियोजना सञ्चालन गर्ने भएका छन्। कोरोनाका कारण पर्यटन क्षेत्र धराशायी भइरहेको अवस्थामा सहकारीले भने विशिष्टीकृत सहकारी संघमार्फत पर्यटन क्षेत्रमा ठूलो स्केलमा लगानी गर्ने तयारी गरेका हुन्।

सरकारले बचत तथा ऋणलाई निरुत्साहित गर्दै उत्पादन तथा सेवामूलक क्षेत्रमा जान अभिप्रेरित गरेसँगै पछिल्लो समय सहकारी पर्यटन क्षेत्रमा आकर्षित भएका छन्। सहकारी ऐन २०७४ ले समेत बहुउद्देश्यीय वा विषयगत सहकारीले विशिष्टीकृत सहकारी संघ गठन गरी पर्यटन उद्योग, जलविद्युत् आयोजना, रासायानिक मल कारखाना, आवासीय परियोजना, यातायात, भारी कृषक उपकरण क्षेत्रमा लगानी गर्ने अवसर दिएको छ। त्यस्तै फलफूल प्रशोधन, जडिबुटी प्रशोधन, चिनी उद्योग, शीत भण्डार, अस्पताललगायत सञ्चालन गर्न पाउने प्रावधान छ। कोरियालगायत विभिन्न मुलुकका सहकारीले पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्‍याएका छन्।

बाग्मती प्रदेश सहकारी संघका संयोजक रामशरण शर्मा घिमिरेले पूर्णरूपमा व्यावसायिक संस्था हुनेगरी उक्त संघमार्फत पर्यटन क्षेत्रमा लगानी गर्ने योजना बनेको बताए। पर्यटन क्षेत्रका विविध आयाममा सेवा दिनेगरी विशिष्टीकृत सहकारी संघमार्फत पर्यटन क्षेत्रमा लगानी गर्न गृहकार्य सुरु भइसकेको उनको भनाइ छ। कोरोना भाइरस (कोभिड १९) ले पर्यटन क्षेत्र पूर्णतया प्रभावित भए पनि सहज हुनासाथ पर्यटन क्षेत्रमा सहकारीको लगानी बढ्ने उनले बताए। २५ भन्दा बढी सहकारी मिलेर आवश्यक पुँजी संकलन गरी परियोजना सञ्चालन गर्न सकिने ऐनमा प्रावधान छ।

पर्यटन केन्द्रीय सहकारी संघका उपाध्यक्ष मुकुन्द दाहालका अनुसार विशिष्टीकृत मोडेलमा ट्राभल एन्ड टुर, रेस्टुरेन्ट, होटल, रिसोर्ट, होमस्टे, कृषि पर्यटन, साहसिक खेलदेखि हिमाल आरोहण, धार्मिकस्थल भ्रमण, टुरिष्ट गाइडसम्मका सेवा दिने योजना बनेको छ। देशभर कार्य क्षेत्र बनाएर पर्यटन गन्तव्यसम्म आन्तरिक तथा बाह्य पर्यटक पुर्‍याउने सहकारीको योजना छ। सम्भावित गन्तव्य खोजेर पर्यटन प्रवर्द्धन गर्ने सहकारीकर्मीको योजना छ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि विश्व महामारीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले पूर्णरूपमा प्रभावित हुन पुग्यो। सरकारले एक वर्षमै २० लाख पर्यटक ल्याउने योजना बनाए पनि वर्षको सुरुमै कोरोनाले प्रभावित भए पनि सहज हुनासाथ सरकारले पर्यटन दशक मनाउने घोषणा गर्ने तयारी गरेको छ। यसबाट पर्यटन क्षेत्र अझ फस्टाउने भएकाले सहकारी पर्यटन क्षेत्रमा आकर्षित भएका हुन्।

पर्यटन क्षेत्रमा मात्रै काम गर्ने एक सय सहकारी दर्ता भएका छन्। ललितपुर र महोत्तरी जिल्लामा पर्यटन जिल्ला सहकारीसमेत स्थापना भइसकेको छ। एक सय ६१ जनाले हिमनदी पर्यटन सहकारीमार्फत नुवाकोटको बट्टारमा १५ करोड लागतमा ‘वाटर होटल’ सञ्चालनमा ल्याएका छन्। चितवनको सौरहामा हात्ती सहकारीमार्फत हात्ती सफारी हुँदै आएको छ। त्यस्तै ५० जना मिलेर ललितपुरको गोठीगेलमा ६ करोड लागतमा रेस्टुरेन्ट सञ्चालनमा आएको छ। त्यस्तै काभ्रेमा पर्यटन सहकारीमार्फत २० करोड लगानीमा होटल ट्रिनिटी सञ्चालनमा आउन लागेको दाहालले बताए। स्थानीय तथा घरेलु उत्पादनको प्रवर्द्धन, हस्तकला तथा शिल्पकलाको प्रचार प्रसार, स्थानीय कला संस्कृति र सम्पदाको संरक्षण, गन्तव्यस्थलको प्रचारप्रसारमा सहकारी जुटेका छन्। हिमनदी संस्थाका प्रबन्ध निर्देशक राममणि अधिकारीले टुर प्याकेज सञ्चालन गरी काठमाडौंबाट पर्यटक लगी नुवाकोटमा पर्यटन प्रवर्द्धन गर्ने तयारी अन्तिम चरणमा भए पनि कोरोनाले प्रभावित भएको बताए।

पर्यटन क्षेत्रमा राष्ट्रिय सहकारी बैंकलेसमेत लगानी गरिरहेको छ। बैंकका अध्यक्ष केबी उप्रेतीले कुनै संस्था लगानीका लागि आए परियोजनाको ७० प्रतिशतजति लगानी गर्ने बताए। ‘ठूला परियोजनामा लगानी गर्न हामी आतुर छौं’, उनले भने, ‘पछिल्लो समयमा पर्यटन क्षेत्रमा सहकारीको आकर्षण बढ्दै गएको छ।’

पर्यटन क्षेत्रमा सहकारीलाई आकर्षित गर्न राष्ट्रिय सहकारी महासंघले पनि पहल थालेको छ। महासंघले यस वर्षको दिवसका लागि ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ नारा नै तय गरेको छ। महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारीले पर्यटन क्षेत्रमा काम गर्न प्रचुर सम्भावना रहेको बताए। विशिष्टीकृत संघ एवं प्रारम्भिक सहकारीले पर्यटनका विविध आयाममा काम गर्न आवश्यक भएको उनको भनाइ छ। सहकारीभित्र हुने अध्ययन भ्रमणलाई पनि प्याकेजमा लैजान सकिने उनले बताए। महासंघले कोरोनापछि पर्यटन क्षेत्रमा सहकारीलाई प्रोत्साहन गर्ने योजना बनाएको पोखरेलले सुनाए।

सहकारीले केही समयअघि प्रदेश १ र प्रदेश ५ मा दुग्धजन्य कारखाना खोल्न विशिष्टीकृत सहकारी संघ दर्ता गरेका छन्। दुईवटै संघबाट धुलो दूध उत्पादन गरेर दूधका विभिन्न परिकार बनाउने योजना छ। त्यस्तै प्रदेश १ मै तरकारी तथा फलफूलको उत्पादन तथा बजारीकरणका लागि पनि विशिष्टीकृत संघ गठन तयारी अन्तिम चरणमा पुगेको छ।

साभारः अन्नपूर्ण पोस्ट्

अभिलेख

लोकप्रिय