काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया-प्यासिफिक (आईसीएपी) को क्षेत्रीय बोर्ड बैठक सम्पन्न भएको छ ।
आईसीए एपीका अध्यक्ष डा. चन्द्रपाल सिंह यादवको अध्यक्षतामा २८ नोभेम्बर (बिहीबार) बोर्ड बैठक सम्पन्न भएको हो । नयाँ दिल्लीको भारत मण्डपममा जारी अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ कै दौरानमा बोर्ड बैठक भएको हो ।
डा. यादवले फिलिपिन्स र कोरियाबाट चयन भएका नयाँ बोर्ड सदस्यहरूलाई स्वागत गरेका थिए भने बैठकमा महिला तथा युवा समितिका अध्यक्षहरूले आ-आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए।
बैठकमा नेपालबाट बोर्ड सदस्य रहेका राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेलको सहभागिता थियो ।
बैठकले २०२५ को कार्यक्रम र बजेट अनुमोदन गर्दै एशिया–प्यासिफिक क्षेत्रको सहकारी अभियानलाई सुदृढ बनाउने विषयमा छलफल भएको कंडेलले जानकारी दिए। बैठकमा २०२५-२०३० को रणनीतिक मस्यौदा सम्बन्धमा विस्तृत छलफल भएको थियो । उक्त प्रस्ताव तथा रणनीतिक मस्यौदामा कडेलले आफ्नो धारणा समेत राखेका थिए ।
बैठकले २०२५ को नोभेम्बरमा श्रीलङ्कामा साधारण सभा गर्ने र क्षेत्रीय निर्वाचनको तयारीबारे पनि निर्णय गरेको छ । बैठकले यसअघि भियतनाममा २९ जुलाई २०२४ मा सम्पन्न हाइब्रिड बैठकमा पारित प्रस्तावहरूलाई अनुमोदन गरेको थियो ।
नेपाल आइसीए एपीको निरन्तर बोर्ड सदस्य रहँदै आएको छ भने यस क्षेत्रको सहकारी अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
अब २०२५ को क्षेत्रीय बोर्ड बैठक फेब्रुअरी १८ मा जापानमा हुनेछ । जुलाई र अक्टोबरमा अनलाइन बैठक हुनेछ भने साधारण सभा नोभेम्बरमा श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ । आइसीए एपीमा हाल २९ देशका ११० सदस्य छन् ।
एशिया प्यासिफिक क्षेत्रका सहकारीहरूलाई एकजुट गरी सहकार्य र सुदृढीकरणमा यो समितिले जोड दिँदै आएको छ।