नेपाली सहकारीकर्मी र भारतीय मन्त्रालयका अधिकारीबीच भेटवार्ता, सहकार्यका नयाँ आयामको खोजी
काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ मा सहभागी हुन नयाँ दिल्लीमा रहेको नेपाली सहकारी अभियानको टोलीले भारतको सहकारिता मन्त्रालयका उच्च अधिकारीसँग भेटवार्ता गरेको छ ।
नेपाली सहकारी अभियानको टोलीले सहकारिता मन्त्रालयका अतिरिक्त सचिव तथा राष्ट्रिय सहकारी विकास निगम (एनसीडीसी) का प्रबन्ध निर्देशक पंकज कुमार बंशल, एनसीडीसीका चिफ डाइरेक्टर हिमान्सु, डाइरेक्टर दिनेश कुमार बर्मासँग आज भेटवार्ता गरेको हो ।
भेटमा पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष केशव प्रसाद बडाल, निवर्तमान अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगराज शर्मा, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंककी सञ्चालक अमृता सुब्बा र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको सहभागिता थियो ।
भेटमा दुई मुलुक बीचको सहकारी अभियानबीच सहकार्य गर्ने, अभियानलाई थप सशक्त बनाउने, पारस्परिक हित अभिवृद्धि गर्ने र नयाँ आयामहरु खोजी गर्ने विषयमा छलफल भएको छ ।
नेपाली सहकारीकर्मी टोलीलाई मन्त्रालयले स्वागत समेत गरिएको थियो । भारतीय सहकारी अभियानको विकास र प्रर्वधनमा सरकारले गर्दै आएको काम, आगामी रणनीति लगायतका बारेमा जानकारी सचिव बंशलले जानकारी गराएका थिए ।
पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष केशव प्रसाद बडालले मन्त्रालयका उच्च अधिकारीलाई उपहार स्वरुप ढाका टोपी प्रदान गरेका थिए ।
नेपाली सहकारीकर्मीका टोली बिहीबार नै राष्ट्रिय सहकारी विकास निगम (एनसीडीसी) पुगेका थिए । एनसीडीसीमा पनि नेपाली टोलीलाई स्वागत गर्दै एनसीडीसीको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराउँदै सहकार्यका आयामहरुका बारेमा छलफल भएको थियो ।
नेपाली सहकारीकर्मी टोलीले नेपालका सहकारी अभियानको बारेमा जानकारी गराउँदा सहकार्यका आयामहरुका बारेमा जानकारी गराएका थिए।