१४ वर्षमा ज्योतिपुञ्ज, सेवा व्यवस्थापनलाई आधुनिक र गुणस्तरीय बनाउने प्रतिवद्धता
काठमाडौं : नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । संस्था २०६८ बैशाख २९ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई २०६८ भाद्र ०४ गतेबाट विधिवत रुपमा कारोबार शुभारम्भ गरेको थियो ।
स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष नविन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले प्रतिवद्धता जारी गर्दै सदस्य हितलाई केन्द्रविन्दुमा राखेर संस्थाको समग्र सेवा व्यवस्थापनलाई अझै आधुनिक र गुणस्तरीय बनाउने प्रयासमा सँधै दत्तचित्त रहने बताएका छन् । संस्थाले आगामी दिनहरूमा पनि सदस्य महानुभावहरूको निरन्तर साथ र सहयोगको अपेक्षासहित संस्थाको हितमा सदैव निष्ठापूर्वक कार्य गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गरेको छ ।
यस्तो छ वित्तीय अवस्था
साउन महिना सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थासँग २५ दशमलव ६२ प्रतिशत अर्थात् २४ करोड ६३ लाख ७१ हजार रुपैयाँ तरलता छ । संस्थाको शेयर पुँजी ८ करोड १४ लाख १५ हजार रुपैयाँ र बचत संकलन ९६ करोड १६ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
संस्थाले ४ हजार २ सय ३७ जना शेयर सदस्यहरु मध्ये २ सय ८१ जना सदस्यलाई विभिन्न शीर्षकमा ९७ करोड ८६ लाख ४८ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै, संस्थाको जगेडा कोषमा ११ करोड ५४ लाख ५१ हजार रुपैयाँ र अन्य विभिन्न कोषहरुमा १ करोड २१ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ ।
कुल सम्पत्ति १ अर्ब ३४ करोड १९ लाख ६३ हजार रुपैयाँ कुल सम्पत्ति रहेको संस्थाको कुल संस्थागत पुँजी १२ करोड ४४ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
मुख्य कार्यालयका अलावा संस्थाले काठमाडौंको गोठाटार, ललितपुरको लूभू र कुमारीपाटीमा सदस्य सेवा केन्द्रमार्फत सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ ।