१८ बैशाख २०८१, मंगलवार

हिजोका इररहरु समाधान उन्मुख छन्: अध्यक्ष ढकाल

५ बैशाख २०८१, बुधबार
हिजोका इररहरु समाधान उन्मुख छन्: अध्यक्ष ढकाल

मोरङ : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी असार मसान्तसम्ममा साकोस अभियानमा आशाको सञ्चार भइसक्ने दाबी गरेका छन् ।

नेफ्स्कूनले सदस्यको बचत सुरक्षाको पूर्ण ग्यारेन्टी गर्ने प्रतिबद्धता दोहोर्याउँदै ढकालले विगतका केही समस्याहरु अब समाधान उन्मुख भएको स्पष्ट गरेका हुन् ।

अध्यक्ष ढकालले मोरङ बचत तथा ऋण सहकारी संस्था लि.का बाल सदस्यहरुको भेलालाई सम्बोधन गर्दै भने, ‘केही निराशाहरु थिए, ती पनि असार मसान्तसम्म आशामा परिणत भैसक्नेछन् ।’

संस्थाका अध्यक्ष निल कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला बचत संघ मोरङका अध्यक्ष प्रेम प्रकाश कोइराला लगायतको उपस्थिति थियो । कार्यक्रममा नेफ्स्कूनका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित पछिल्लो समाचारप्रति इंगित गर्दै अध्यक्ष ढकालले मोरङको साकोस अभियानलाई बचत सुरक्षाको प्रत्याभूतिसँगै अन्य विषयमा पनि विश्वस्त पारेका हुन् । नेफ्स्कून साकोस म्यानेजर्स क्लबले बैशाख ३ गते लतिलपुरमा आयोजना गरेको कार्यक्रममा पनि उनले बचत सुरक्षाको विषयलाई नेफ्स्कूनले प्राथमिकतामा राखेको भन्दै आशंका नगर्न आग्रह गरेका थिए ।

‘हाम्रो मनसायमा आशंका नगर्न यहाँहरु समक्ष हार्दिक आग्रह गर्छु,’ अध्यक्ष ढकालले भने, ‘हिजोका इररहरु समाधान उन्मुख छन् । नयाँ सञ्चालक समिति निर्वाचित भैसकेकपछिको मुख्य ध्यान तीनै इररहरु करेक्शन गर्ने काममा केन्द्रीत भएका छन् । हामी अहोरात्र त्यसैमा लागेका छौं ।’

उनले सुशासन, ऐन कानूनको परिपालना, बहसपैरवी, वित्तीय अवस्था सबलीकरण, कर्जा असूली, अन्तर्राष्ट्रिय साझेदारी, व्यवस्थापकीय चुस्तता आदि विविध विषयमा नयाँ सञ्चालक समिति निर्वाचित भैसकेपछिको साढे ३ महिनामा दुरगामी महत्वका धेरै काम भएको उल्लेख गरे ।

सहकारी ऐन कार्यान्वयनको विषयमा जारी बहसपैरवीले चाँडै नै सकारात्मक नतिजा ल्याउने भन्दै अध्यक्ष ढकालले मोरङको साकोस अभियानलाई थप विश्वस्त पारे । अध्यक्ष ढकालले भने, ‘कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोषका विषयहरुमा सरकारसँगको लबिङले परिणाम चाँडै ल्याउँदैछ ।’
यस्तै, वित्तीय साकोस ऐन जारी गराउन नेफ्स्कूनको वर्तमान नेतृत्व सक्षम हुने दाबी गरे ।

उनले, ‘पछिल्लो समय नियामक निकायलाई पनि अन्य सहकारी र बचत ऋण सहकारीहरुबीचको पृथकता स्थापित गर्न साकोस ऐन आवश्यक भएको रियलाइजेशन भएको छ । त्यसको समाधान भनेको नेफ्स्कूनले विगत लामो समयदेखि उठाउँदै आएको छुट्टै वित्तीय सहकारी ऐन निर्माण नै भएको उहाँहरुले स्वीकार्नुभएको छ । त्यसैले हामीले यो पटक धेरै विश्वस्त भएर त्यसै दिशामा कामहरु परिलक्षित गरेका छौं ।’

अर्को एक विषयमा अध्यक्ष ढकालले नेफ्स्कून सञ्जाल सम्बन्धलाई उच्च प्राथमिकता दिएर अघि बढ्न उद्यत रहेको पनि बतए । नेफ्स्कूनले जिल्ला संघ र प्रदेश संघहरुसँग हार्दिकता पूर्ण सम्बन्ध कायम राख्न चाहेको जानकारी स्पष्ट पारे । ‘सञ्जाल साझेदारी मोडलको विषयमा केही समयअघि मात्रै जिल्ला र प्रदेश गरी ४० भन्दा बढी संघका प्रतिनिधिहरुसँग दुई दिने बसाइले एउटा ठोस निकास दिएको छ । हामी उत्साहित छौं’, ढकालले भने ।

अभिलेख

लोकप्रिय