‘सहकारी क्षेत्रको विश्वास पुनर्स्थापना गर्न काठमाडौं साकोस समिट सफल हुनेछ’
काठमाडौं : यही माघ ११ गते (बिहिवार) काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले ‘दोस्रो काठमाडौं साकोस समिट–२०८०’ आयोजना गर्दैछ । यतीबेला कास्कून समिटको तयारीमा जुटेको छ । ३ सयको हाराहारीमा सहभागी पुग्ने विश्वास कास्कूनले लिएको छ । लक्ष्यको करिब करिब नजिक पुगेको कास्कूनले जनाएको छ ।
सहकारीका जल्दाबल्दा विषयहरु मन्थनसहित निकास निकाल्ने थलो समिट हुने संघका अध्यक्ष दीपक पनेरुले बताए । पछिल्लो समय सहकारी क्षेत्रप्रति देखापरेको समुदायको अविश्वास र आशंका निवारण गर्दै विश्वास पुनर्स्थापना गर्न समिट सफल हुने उनको दाबी छ ।
काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजना गरिएको एक दिने समिटमा तीन वटा कार्यपत्र प्रस्तुत हुनेछ । समिटमा ‘सहकारीमा सुशासनका सवालहरुः कानूनी प्रशासनमा नियामकीय सहजता’ विषयमा नेपाल सरकारका पूर्व सचिव एवम् सहकारी विज्ञ गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गर्नेछन् । मैनालीको कार्यपत्रमाथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले टीप्पणी गर्नेछन् ।
त्यसैगरी दोस्रो सत्रमा ‘साकोसको दिगो वृद्धिः मुल्य र मापदण्ड’ विषयमा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समिति सदस्य एवम् विकू साकोसका पूर्व अध्यक्ष केशव सापकोटाले प्रस्तुत गर्ने छन् । सापकोटाको कार्यपत्रमाथि नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले टीप्पणी गर्ने कार्यक्रम छ ।
समिटको अन्तिम सत्रमा ‘संकटमा सहकारी उद्यमको निरन्तरता’ विषयमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले प्रस्तुत गर्ने छन् । उक्त कार्यपत्रमाथि सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले टीप्पणी गर्ने कार्यक्रम छ । यसबाहेक कास्कूनका व्यवस्थापक अरुण तिवारीले संघको परिचयसँगै समिटको थिमबार स्पष्ट पार्नेछन् । समिटको निष्कर्षसहित काठमाडौं घोषाणापत्र जारी गर्दै गर्ने कार्यक्रम सम्पन्न हुने अध्यक्ष पनेरुले बताए ।
दिग्गज व्यक्तिहरु, अभियन्ताहरु, सरकार, सरोकारवाला र सदस्यहरुको यो जमघटले सहकारी अभियानले आगामी दिशा तय गर्ने अध्यक्ष पनेरुले बताए । ‘छलफल, अन्तरसंवाद, मस्तिष्क मन्थन, प्रश्नोत्तर, सिकाइ मार्फत नै निकास निस्कन्छ, यो काठमाडौं साकोस समिट त्यही काम गर्ने साझा चौतारी हो’ कास्कून अध्यक्ष पनेरुले भने, ‘यो समिट केवल कास्कूनका लागि होइन, सहकारी अभियानको हितका लागि हो ।’