लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
खोटाङ : दिक्तेल बजार स्थित लालुपाते बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने ५ जनालाई धरौटीमा छाड्न आदेश भएको छ ।
जिल्ला न्यायाधीश सुवासबाबु पुरीको बिहीबारको इजलासले ३५ प्रतिवादीबाट ४ करोड ४० लाख ४१ हजार १८ रुपैयाँ बिगो माग दाबी गर्दै परेको उजुरीका आधारमा सहकारीका तत्कालीन अध्यक्ष मृतक अनिल जोशीका भाइ सुनिल जोशी, श्रीमती रविना श्रेष्ठ, प्रबन्धक रुकु श्रेष्ठ र ऋणि जसुदा पौडेललाई कारागार पठाइएको हो ।
सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईं र सचिव मनोज राईलाई जनही ५ लाख, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई १०/१० लाख रुपैयाँ धरौटीमा छाडेको छ ।
उनीहरुविरुद्ध गुमेको बचत फिर्ताको माग गर्दै २ सय ६५ जनाले उजुरी दिएका थिए । सहकारीका अध्यक्ष अनिल जोशीको कोरोनाले २०७८ वैशाख १५ गते पोखरामा निधन भएपछि वेशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प भएको थियो ।