२२ मंसिर २०८०, शुक्रबार

नेफ्स्कूनको नीतिगत पथभ्रष्टता

३ मंसिर २०८०, आईतवार
नेफ्स्कूनको नीतिगत पथभ्रष्टता

काठमाडौं : सदस्यलाई नीति अनि विधि पढाएर कहिल्यै नथाक्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) आफै भने नीति र विधिमा अडिक रहन नसक्ने भएको छ । बारम्बार सुशासनको दुहाइ दिने विषयगत केन्द्रीय संघ आफै कुशासनको पहरेदार भएका अनेकौं दृष्टान्त केही वर्षयता सार्वजनिक भएका छन् ।

अनौपचारिक छलफलदेखि सामाजिक सञ्जाल हुँदै औपचारिक सभा सम्मेलन र सहकारीका फोरमहरुमा समेत नेफ्स्कूनको नीतिगत पथभ्रष्टताका विषयहरुमा बहस हुन थालेको छ । नेफ्स्कूनमा केही वर्षयता नेतृत्वबाटै नीति कुल्चने काम भएको भन्दै कडा आलोचना हुन थालेको छ । ‘नेतृत्वले आफूले अबम्लन गर्न सक्ने कुरा अरुलाई सिकाउनुपर्छ’ भनेर सामाजिक सञ्जालमा प्रतिक्रियाहरुको पहिरो जान थालेको छ ।

२०७९ पौष ८ गते सम्पन्न नेफ्स्कूनको ३१ औं वार्षिक साधारण सभाबाट २०८० मंसिर १ गते वार्षिक साधारण सभा गर्ने निर्णय भएको थियो । नेफ्स्कूनले प्रकाशन गरेको वार्षिक क्यालेण्डरमा पनि १ गते नै साधारण सभा गर्ने उल्लेख छ । तर, उक्त निर्णय अनुसार नेफ्स्कूनको साधारण सभा हुन सकेन । म्याण्डेट अनुसार साधारण सभा किन हुन सकेन? यो विषय सदस्यलाई जानकारी गराउनु पर्ने हैन र? तर, अहिलेसम्म पनि साधारण सभाको मिति चयन गर्न सञ्चालक समितिले सकेको छैन ।

स्रोतका अनुसार केही संस्थाका प्रतिनिधि काठमाडौं आएर पनि फर्किएका छन् । क्यालेण्डर अनुसार नै साधारण सभा हुने भनेर काठमाडौं आएका प्रतिनिधि फर्किएका हुन् ।

केही समय अघि बसेको नेफ्स्कून सञ्चालक समितिको बैठकले यही पुष ६ र ७ गते साधारण सभा गर्ने निर्णय गरेको थियो । तर, सदस्यहरुलाई त्यसको औपचारिक जानकारी हालसम्म पनि गरिएको छैन । सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ र स्वयंम नेफ्स्कूनको विनियममा साधारण सभा बस्ने मिति, समय र स्थानको जानकारी तीस दिन अघि सदस्यलाई गराउनु पर्ने स्पष्ट उल्लेख छ ।

नेफ्स्कून स्रोतका अनुसार मंसिर ७ गते सञ्चालक समितिको ३१९औं बैठक बस्दैछ । उक्त बैठकले साधारण सभाको मिति पुनः सार्दै छन् । यस पटक नेफ्स्कूनको चुनावी साधारण सभा समेत हो ।

पछिल्लो बैठकले पुष ६ र ७ गते साधारण सभाको मिति तय गरिसकेको र पुनः साधारण सभाको मिति तय गर्ने एजेण्डा सहितको बैठकको चिठी आइपुगेको संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । नेफ्स्कूनका प्रवक्ता समेत रहेका ढकाललका अनुसार मंसिर ७ गते बिहान बैठक हुने जानकारी आएको छ । साथै साधारण सभाको नयाँ मितिका बारेमा आफूहरु जानकार नभएको उनले बताए ।

साधारण सभाको म्याण्डेट अनुसार काम हुन नसकेको भन्दै नेफ्स्कूनका पूर्व कामू प्रमुख कार्यकारी अधिकृत एवम् हाल साधारण सभाको प्रतिनिधि समेत रहेका शिव अधिकारीले आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा उनले ‘साधारणसभाले तोकेको म्यान्डेट पनि पूरा गर्न नसक्नु र नयाँ मिति पनि तोक्न नसक्नुले अब नेफ्स्कून संचालक समितिले सिङ्गो साकोस अभियान कता पुर्याउन खोज्नु भएको होला ?’ भन्दै खरो प्रश्न गरेका छन् । ‘कम्तिमा तोकिएको मितिमा साधारण सभा हुन सकेन भनेर आवद्ध संघ/संस्थालाई सूचना दिनुपर्ने होईन र? साकोस अभियनले के पाठ सिक्ने? यही हो त सुशासन?’, नेफ्स्कूनको भावी साधारण सभामा सञ्चालक सदस्यमा उम्मेदवारी समेत घोषणा गरेका अधिकारीले लेखेका छन्, ‘यदि चाड पर्वको कारण साधारण सभा गर्न नसकेको हो भने पनि समयमै सदस्यलाई जानकारी गराउनु पर्ने थियो ।’

नेफ्स्कूनले बचत तथा ऋण सहकारी सञ्चालनका विविध विषय र आयामहरु समेटेर हरेक वर्ष एकीकृत स्वनियमन मार्गनिर्देशन जारी गर्दछ । तर, उक्त निर्देशन नेफ्स्कून स्वंयमले कार्यान्वयन गर्दैन । सोही मार्गनिर्देशनका विविध विषयलाई समेत जोड्दै यतिबेला नेफ्स्कूनको चौतर्फी आलोचना भैरहेको छ ।

अभिलेख

लोकप्रिय