२२ मंसिर २०८०, शुक्रबार

१५ प्रतिशत लाभांश घोषणा गर्दै चण्डेश्वरी साकोसको ३१औं साधारण सभा सम्पन्न

८ आश्विन २०८०, सोमबार
१५ प्रतिशत लाभांश घोषणा गर्दै चण्डेश्वरी साकोसको ३१औं साधारण सभा सम्पन्न

काभ्रे : चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था को ३१औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षता एवं बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि महर्जनले सञ्चालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण सहकारीमा समस्या आएको बताए । समुदायमा छरिएर रहेको स–सानो पुँजी संकलन गरी राष्ट्रिय पुँजी निर्माणमा सहकारीले सघाउ पुर्‍याउन सक्ने भन्दै उनले उक्त पुँजीलाई सदस्यमाझ उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना र राष्ट्रिय उत्पादन बढ्ने बताए ।

सभामा संस्थाका अध्यक्ष श्रेष्ठले विगत ३ वर्षदेखि वित्तीय बजारमा देखिएको नकारात्मक प्रभावका वावजुद पनि संस्थाले गत आ.व. मा गुणात्मक वृद्धि गर्न सकेको बताए । वित्तीय मन्दीका बावजुद पनि संस्थाले सञ्चालन मुनामा र भाखा नाघेको कर्जामा सुधार गरी २.४९ प्रतिशतमा राख्न सकेको उनले जनाए ।

संस्था नेफ्स्कुनले सञ्चालन गरेको एक्सेस ब्राण्ड कार्यक्रममा सहभागि रहेको र  स्तरोन्नति गर्दै यस वर्ष सिल्भरमा उक्लिएको उनले बताए । नेपालकै एक अग्रणी, गुणस्तरीय र दीगो संस्थाको रुपमा चण्डेश्वरी साकोस स्थापित भएको उनले सभामा बताए ।

संस्थाका सचिव बुद्ध रत्न मानन्धरले संस्थाको आ.व. २०७९/८० को नीति तथा कार्यक्रमको समिक्षा र आव २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाको मुल उद्देश्य सदस्यबाट संकलित पुँजीलाई सदस्यहरुकै आर्थिक उपार्जनमा लगाउनु रहेको भन्दै उनले सदस्यहरुमा सीप र पुँजी प्रदान गरी उनीहरुको आर्थिक स्तर उकास्ने काममा संस्था लागिपरेको बताए ।

संस्थाका कोषाध्यक्ष गणेश कुमार रञ्जितले संस्थाको आव २०७९/८० को आर्थिक प्रगति समीक्षा र आव २०८०/८१ को आर्थिक कार्यक्रम र बजेट सभामा प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक राम प्रसाद श्रेष्ठले संस्थाको गत आव २०७९/८० को समग्र समीक्षा प्रतिवेदन सभामा पेश गरेका थिए ।

आ.व. २०७९र०८० को अन्त्य सम्ममा संस्थामा ९ हजार १ सय २२ सेयर सदस्य रहेका छन् भने १ अर्ब २५ करोडको कुल सम्पत्ति रहेको छ। संस्थाले सो अवधिमा ११ करोड १५ लाख शेयरपुँजी संकलन गरेको छ भने संस्थाको जगेडा कोषमा १३ करोड रहेको छ । त्यसैगरी बचत संकलन ९६ करोड ७६ लाख गरेको संस्थाले ९७ करोड २७ लाख कर्जा सदस्यहरुमा लगानी गरेको छ। संस्थाले आयकर अघि ४ कराेड ५९ लाख ९७ हजार नाफा आर्जन गरेकाे छ।

साधारणसभाले गत आव २०७९/८० को नाफाबाट १५ प्रतिशतका दरले सदस्यहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। संस्थाले आगामी आ. व. २०८०/८१ को अन्त्यसम्ममा सदस्य संख्या १० हजार ५ सय, कुल सम्पत्ति १ अर्ब ५३ करोडको पुर्‍याउने लक्ष्य लिएको छ ।

सभामा विभिन्न विधामा उत्कृष्ट सदस्य, कर्मचारी र विद्यार्थीहरूलाइ सम्मान एवं पुरस्कृत गरिएकाे थियाे ।

अभिलेख

लोकप्रिय