४ साउन २०८१, शुक्रबार

गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै

२०८० वैशाख ३, आईतवार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै

काजी श्रेष्ठ

काठमाडौं, ३ बैशाख

– ललितपुर स्थित एक बचत तथा ऋण सहकारीले १३ वटा प्रारम्भिक सहकारी संस्थामा निक्षेप राखेको छ । ती मध्ये ७ वटा बहुउद्देश्यीय र ६ वटा बचत तथा ऋण सहकारी संस्था छन्। संस्थाले  ५ वटा प्रारम्भिक सहकारी संस्थाको सेयर खरिद समेत गरेको छ ।

– ललितपुरकै अर्को बचत तथा ऋण सहकारी संस्थाले ६ वटा प्रारम्भिक सहकारीमा बचत र ६ वटा सहकारीमा सेयर लगानी गरेको छ ।

– काठमाडौंको एक बहुउद्देश्यीय सहकारी संस्थाले ४ वटा प्रारम्भिक सहकारीमा झण्डै साढे १० करोड रुपैयाँ निक्षेप राखेको भेटिएको छ । सोही प्रतिकृतीको अर्को सहकारीमा समेत संस्थाले लगानी गरेको छ ।

– काठमाडौं गोंगबु स्थित एक बहुउद्देश्यीय सहकारीले एक दर्जनभन्दा बढी प्रारम्भिक संस्थाको निक्षेप लिएकाे छ।

– काठमाडौंको एक बहुउद्देश्यीय सहकारीले संस्थाले १ सयभन्दा बढी सहकारीबाट सेयर संकलन गरेको छ भने ऋण लगानी पनि प्रारम्भिक संस्थालाई गरेको छ।

यी त उदाहरण मात्र हुन्। कतिपय बचत ऋण सहकारी संस्थाहरुले अन्तर सहकारी कारोबारसम्बन्धी कानूनी प्रावधानको दुरुपयोग गरेका कारण सदस्यको बचत जोखिममा परेको छ । त्यस्ता सहकारीका गैरकानूनी क्रियाकलापका कारण वित्तीय संकटको वर्तमान अवस्थामा समग्र सहकारी क्षेत्रकै छविमा प्रश्न उठ्न थालेको छ । यसले केवल ती संस्थाको सुशासन र कार्यशैलीमा मात्र होइन समग्र अभियानकै दिगोपनामा प्रतिकुल असर पारेको छ ।

सहकारी ऐन २०७४ को दफा १४० तथा सहकारी नियमावली २०७५ को नियम ८० मा अन्तर सहकारी कारोबारबारे उल्लेख छ । तर, सहकारी कानूनले एउटा प्रारम्भिक सहकारीले अर्को प्रारम्भिक सहकारीमा वित्तीय कारोबार गर्न पाउने उल्लेख गरेको छैन । ऐनको आशयलाई तोडमोड गर्दै कतिपय प्रारम्भिक सहकारीहरुले अर्को प्रारम्भिक सहकारी संस्थाको सेयर खरिद गर्ने, बचत निक्षेप स्वीकार्नेदेखि ऋण लगानी समेत गरेको पाइएको छ । यो सरासर गैरकानुनी हो ।

सहकारीमा विद्यमान तरलता संकटका कारणहरु खोतल्दै जाँदा नियमविपरितका यस्ता अन्तर सहकारी कारोबारहरुको जोखिम सतहमा आएका हुन् । खासगरी काठमाडौं उपत्यका र सहर केन्द्रीत केही सहकारीमा यस्ता गैरकानूनी अन्तर सहकारी कारोबार मौलाउँदै गएको पाइएको छ । यसका कारण सदस्यको बचत जोखिमको स्तर बढ्दै गएको छ । ब्याजको लोभ, वासलतको आकारको कृत्रिम वृद्धि, निजी स्वार्थ आदिका कारण संस्थाहरुले अन्तर सहकारी कारोबार गर्दा सयौं सदस्यको बचत जोखिममा परेको हो । एउटा प्रारम्भिक सहकारी संस्थाले समान स्तर र प्रकृतिको अर्को संस्थामा करोडौं रुपैयाँसम्म निक्षेप राख्ने गरेको तथ्य फेला परेको छ ।

बचत ऋण सहकारीहरुको हकमा संस्थाहरुले विषयगत मन्त्रालयले सम्बन्धित विषयगत संघ वा सहकारी बैंकको भूमिकासमेत निर्दिष्ट गरी तोकेको मानदण्ड पालना गर्नुपर्ने प्रावधान सहकारी नियमावलीको नियम ८० को उपनियम ५ मा उल्लेख छ । यस सम्बन्धमा ऐन तथा नियमावलीका प्रावधानमा थप स्पष्टता आवश्यक देखिएका कारण कार्यविधिमा सबै खुलाउनुपर्ने देखिन्छ । सोही नियमको उपनियम ६ मा अन्तरसहकारी कारोबार सम्बन्धी अन्य व्यवस्था मन्त्रालयले स्वीकृत गरेको कार्यविधि बमोजिम हुने उल्लेख छ । तर, नियामक निकायले कार्यविधि नबनाएका कारण पनि सहकारी संस्थाहरुले जोखिम मोलेर गैरकानूनी कारोबार गरेका हुन् ।

सहकारी कानूनले अन्तरसहकारी कारोबारमा संलग्न विभिन्न सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुबाट उत्पादित उपज अग्रणी संस्था (लिड को-अपरेटिभ) को अवधारणाबाट कुनै एक संस्थामार्फत् संकलन, प्रशोधन एंव बजारीकरण गर्ने व्यवस्था मिलाउने गरी एकीकृत योजना संचालन गर्न सक्ने उल्लेख गरेको छ । त्यस्तै, सहकारी संस्थाले विनियममा व्यवस्था गरी विद्युतीय प्रणालीमार्फत् आफ्ना सदस्यले नेपालभर कुनै सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्ने गरी अन्तरसहकारी कारोबार गर्न सक्ने व्यवस्था गरेको छ ।

कानुनले पूर्ण रुपमा बन्देज लगाए पनि ति संस्थाहरुले अन्तर सहकारी कारोबार गर्दा जोखिम निम्तिएको हो । खुलेआम रुपमा अन्तर सहकारी कारोबार गर्दा पनि नियामक निकाय मौन छ । सहकारी संस्थाले विषयगत संघ, केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक र बैंक तथा वित्तीय संस्थाहरुसँग मात्र बचत तथा ऋणको कारोबार गर्न पाउँछ । समान प्रकृतीको संस्थासँग कारोबार गर्दा जोखिम उच्च हुने हुँदा कानुनले पूर्ण रुपमा बन्देज लगाएको हो ।

सामान्य अवस्थामा अन्तर सहकारी कारोबारको असर नदेखिए पनि अर्थतन्त्रमा संकट आउँदा त्यसको ठूलो असर देखिन्छ । सोही अनुरुप अहिले धेरै सहकारीमा समस्या देखा पर्नुको कारण एउटा अन्तर सहकारी कारोबार पनि हो ।

एउटा प्रारम्भिक सहकारी संस्थाले समान स्तर र प्रकृतिको अर्को संस्थामा निक्षेप राख्न, ऋण लगानी, सेयर लगानी गर्न नपाउने सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय बताउँछन् । सहकारी ऐन, नियमावलीमा अन्तर सहकारी कारोबारको व्यवस्था भएको तर बैंक जसरी कारोबार गर्नको निमित्त अन्तर सहकारी कारोबारको अवधारण नभएको उपाध्यायले बताए । अन्तर सहकारी कारोबार उत्पादन, संकलन, प्रशोधन एंव बजारीकरणसँग सम्बन्धीत रहेको उनले बताए ।

अन्तर सहकारी कारोबारले वित्तीय जोखिम, कानूनी जोखिम, बजार जोखिम र सञ्चालन जोखिम निम्त्याउने चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ बताउँछन् । ‘बजार सामान्य ढंगले सञ्चालन हुँदा असर देखिँदैन’, श्रेष्ठ भन्छन्, ‘जब आर्थिक संकट आउँछ त्यसपछि संस्था सञ्चालन नै गर्न असक्ने अवस्थामा पुग्छ । सदस्यलाई सेवा नै दिन नसकिने अवस्था सृजना हुनसक्छ ।’

विशेषगरी स्वार्थ (लोभ) र परनिर्भरता कारण अन्तर सहकारी कारोबार हुँदै आएको श्रेष्ठको बुझाई छ । ‘पहिलो कारण लोभले अन्तर सहकारी कारोबार बढाएको हो’, श्रेष्ठले भने, ‘दोस्रो कारण भनेको परनिर्भरता हो । अरुलाई सहयोग गर्न, अरुसँग सहयोग लिन निर्भर हुनुले समस्या निम्त्याउँछ । सदस्यको बचत जोखिममा राखेर गरिने यस्ता कारोबार पूर्ण रुपमा बन्द गरिनु पर्दछ ।’

अन्तर सहकारी कारोबारले सहकारी संस्थालाई अन्ततोगत्वा नाजूक अवस्थामै पुर्याउने बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत केशव दाहाल बताउँछन् । राम्रा भनिएका सहकारीहरु पनि अन्तरसहकारी कारोबारले समस्यामा पारेको उनको दाबी छ । अनुगमनको क्रममा एउटै प्रारम्भिक संस्थाले ७/८ वटा सम्म सहकारी संस्थाको डिपोजिट राखेको भेटिएको उनले बताए । सहकारी ऐनमा स्पष्ट व्यवस्था नहुँदा र कार्यविधि नबन्दा हाल सहकारी संस्थाहरुले अन्तरसहकारी कारोबार गरेको उनको तर्क छ ।

अभिलेख

लोकप्रिय