८ बैशाख २०८१, शनिबार

सरकारले माग सम्बोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं: मल्ल

१७ चैत्र २०७९, शुक्रबार
सरकारले माग सम्बोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं: मल्ल

बागलुङ : राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रको माग सरकारले संबोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न बाध्य हुने बताएकी छिन् ।

‘अभियानका तर्फबाट धेरै पटक प्रधानमन्त्री, मन्त्री, सचिव, रजिष्ट्रार लगायत सरोकारवालाहरुलाई सहकारीका समस्या समाधान गर्न अनुरोध गरेका छौं’, मल्ले भनिन्, ‘अब अन्तिम पटक ध्यानाकर्षण गराउछौं । यदी अभियानका माग अब पनि सुनुवाई भएनन् भने देशभरका सहकारीकर्मीहरुलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं ।’

६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड बागलुङद्वारा शुक्रबार बागलुङमा आयोजित सहकारीमा महिला सहभागिता विषयक जिल्ला स्तरीय महिला गोष्ठीको उद्घाटनपछि बोल्दै मल्लले यस्तो बताएकी हुन्। ‘हामीले जहिले पनि शान्तिपूर्ण र भद्र रुपमा हाम्रा माग राखेका छौं । सरकारका तर्फबाट हाम्रा मागको सुनुवाई गर्ने काम भएको छैन’, वरिष्ठ उपाध्यक्ष मल्लले भनिन्, ‘अभियानले सहकारी ऐनमा भएका कर्जा सूचना केन्द्र, कर्जा न्यायाधिकरण स्थापना लगायतका ऐन कार्यान्वयनका माग राखेको छ । सरकारले सहकारीका माग अब पनि सुनेन भने हामी चरणवद्ध आन्दोलन गर्ने तयारीमा छौं । नयाँ वर्षसँगै देशभर सहकारीकर्मीहरुको आन्दोलन सुरु हुन्छ ।’

कार्यक्रममा महिलाहरुलाई नेतृत्वमा अग्रसर हुन आव्हान गर्दै लगनशीलता, अध्ययन र निरन्तरको कार्यका कारण मात्रै महिलाहरु नेतृत्वमा आउन सक्ने बताईन । उनले महिलाले नेतृत्व गरेका सहकारीहरुले राष्ट्रिय रुपमा सकारात्मक सन्देश दिएको चर्चा गर्दै महिलाहरु सामाजिक रुप सक्षम बन्ने भरपर्दो माध्यम सहकारी भएको समेत बताईन ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको आयोजना तथा विभिन्न १७ सहकारी संघ संस्थाहरु सह–आयोजक बनेर सहकारीमा महिला सहभागिता र नेतृत्व विषयक जिल्ला स्तरीय गोष्ठीको आयोजना गरिएको थियो ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउँदै विभिन्न क्षेत्रमा नेतृत्वमा पु¥याउनका लागि सहकारी भरपर्दो माध्यम भएको बताईन ।

गोष्ठीले सबल सहकारी निर्माणमा महिलाको अर्थपूर्ण सहभागिताका लागि सहयोग पु¥याउने जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिईन । जिसीका अनुसार महिलाहरु सहकारीमा अग्रसर हुँदा परिवारको आर्थिक विकासमा टेवा पु¥याउनुका साथै मुलुकको आर्थिक विकासमा समेत सहयोग पुग्ने भएकाले महिला गोष्ठी आयोजना गरिएको बताईन । गोष्ठीले नौ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।

गोष्ठीमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा महिला सहभागिता र नेतृत्व विषयमा तथा संघका सल्लाहकार तेजेन्द्र बहादुर थापाले सहकारीको दिगोपन : स्वनियमन र सुशासन विषयमा सहजीकरण गरेका थिए। सहकारीमा महिलाको अर्थपूर्ण सहभागिताका लागि निरन्तर शिक्षा, समन्वय र सहकार्यमा जोड दिइएको थियो ।

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक चण्डी प्रसाद शर्माले महिला गोष्ठीको निष्कर्षका रुपमा जारी गरिएको नौ बुँदे घोषणा पत्र बारे जानकारी गराएका थिए ।

गोष्ठी जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिङ्गला खड्का जिसीको स्वागत तथा सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । गोष्ठी सम्पन्न गर्न सहयोग गर्ने जिल्लाका १७ वटा सहकारी संघ संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

राष्ट्रिय सहकारी दिवसका अवसरमा बागलुङमा हरेक वर्ष विविध कार्यक्रम हँुदै आएका छन् । यस वर्षको सहकारी बजार सरसफाई, अभिमुखीकरण कार्यक्रम लगायतका कार्यक्रम हुने भएका छन् ।

जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाले संयुक्त रुपमा चैत १८ गते बजार सरसफाई र २० गते मुल समारोह, जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा १९ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सहकारीको दिगोपन : स्वनियमन र सुशासन भन्ने नाराका साथ मनाउन लागिएको सहकारी दिवस बागलुङका सम्पूर्ण पालिकाहरुमा मनाउनका लागि जिल्ला सहकारी संघ बागलुङले आव्हान गरेको छ ।

अभिलेख

लोकप्रिय