१५ चैत्र २०७९, बुधबार

सहकारी कर्म: घण्टाको ५० रुपैयाँ कमाउने किसान दिनकै ५ हजार कमाउँछन्

२ चैत्र २०७९, बिहीबार
सहकारी कर्म: घण्टाको ५० रुपैयाँ कमाउने किसान दिनकै ५ हजार कमाउँछन्

प्रकाश बञ्जरा

झापा : कुनै समय घण्टाको पचास रुपैयाँ हाजिरामा काम गर्ने झापा गौरादह-४, स्थित नमुना एकिकृत सहकारी बिउ उत्पादन समुहका सदस्यको जीवन सामुहिक कर्मले माथि उकासेको छ ।

९ वर्ष पहिले स्थापना भएको सामुहिक बिउ उत्पादन खेतीमा पहिले प्रति घण्टा ५० रुपैयाँ हाजिरामा काम गर्ने किसानहरु अहिले काम गर्न छाडेका छन्। एक कट्ठा जग्गालाई एक सेयर मान्ने गरी ७९ जना किसानबाट ८० बिघा जमिनमा सामुहिक कृषि खेती सुरु गरेका किसानलाई पहिला लगानी डुब्लाकी भन्ने जोखिम थियो । तर समयसँगै उनिहरुको उक्त जोखिम हटेको छ।

८० विघा जमिनमा बिउ उत्पादन गर्ने र त्यो बिउ बिक्रि गरेर त्यसको प्रतिफल लिने किसानहरु अहिले कोही लघु उद्योगमा लागेका छन् त कोही पाहुना घर र कोही अन्य सामुहिक खेतीबाटै सञ्चालित परियोजनामा जागिरे बनेका छन् । अरु भन्दा पनि आफुले सदस्यको जीवनलाई माथि उकास्नेतर्फ जोड दिने गरेको नमुना एकिकृत सहकारी विउ उत्पादन समुहका अध्यक्ष वेदनिधि चापागाई बताउँछन् ।

९ वर्ष पहिले बिउ उत्पादन सुरु गर्दा घण्टाको ५० रुपैयाँ हाजिरामा काम गर्ने सदस्यहरु अहिले ३ जना नमुना अचार लघु उद्योगको सन्चालक बनेका छन् । त्यही लघु उद्योग सन्चालन गर्ने मध्ये ३ जना अचार उत्पादन कसरी गरिन्छ भनेर तालिम दिने समेत बनेका छन् । सदस्यलाई आत्मनिर्भर बनाउन नमुना अचार लघु उद्योग सञ्चालन गरेका महारानी झोडाको यस सामुहिक बिउ उत्पादन समुहले ६ जना सदस्यलाई अचार उत्पादनको लागि लगानी समेत गरिदिएको छ।
संस्थाले लघु उद्योगको १० प्रतिशत लगानी गरिदिएको छ भने बाँकी सदस्य आफैले गरेका छन् । सुरुमा अचार कसरी बनाउने भन्ने तालिम लिएर उद्योग सुरु गरेका उनीहरु अहिले तालिम सहजकर्ता बनेर देशका विभिन्न ठाउँमा तालिम दिन पुग्छन् । उनिहरुले दिनको ५ हजारसम्म तालिम प्रदान गरेको पारिश्रमिक पाउने गरेको संस्थाका अध्यक्ष वेदनिधी चापागाईको भनाई छ ।

जबसम्म महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्दैनन् तबसम्म आर्थिक सबलिकरण हुन सक्दैन भन्ने भनाई राख्ने संस्थाका अध्यक्ष चापागाई घरेलु उत्पादन गर्न सहज भएपनि बजाकिरण गर्न गाह्रो हुने धारणा राख्छन् ।
नमुना एकिकृत कृषि बिउ उत्पादन समुहको स्थापनाको बखत महारानी झोडा साना किसान सहकारी संस्थाले प्रवद्र्धन गरेको भएपनि हाल नमुना आफैमा स्वायत्त संस्थाको रुपका विकास हुँदै गरेको छ । नमुनाको स्थापना बखत साना किसानले लगानी गरेको १५ लाख रुपैयाँको प्रतिफल आफुहरुले दिँदै आएको अध्यक्ष चापागाईले सुनाए ।

समूहले मकै, धान र गहुँको बिउ उत्पादनमा आफुहरुले अहिले जोड दिइरहेको छ। अहिले रामपुर १६ र रामपुर १२ ब्राण्डको मकैको बिउ उत्पादन भइरहेको र २ जना बाली विज्ञले निरिक्षण र नियमन गरीरहेको नमुना बताउँछ।

कुनै समय निकै संघर्ष गर्दै अहिले नमुनाको रुपका विकास भएको यो सामुहिक कृषि बिउ उत्पादन केन्द्रमा भ्रमण गर्ने र कृषिको बारेमा जान्न बुझ्न चाहानेको संख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ । स्थापनादेखि हालसम्म २ हजार भन्दा बढीले आफ्नो एकीकृत बिउ उत्पादन केन्द्रको भ्रमण गरिसकेको अध्यक्ष चापागाई बताउँछन् । टाढाबाट आउने भिजिटरहरुलाई लक्षित गरेर नमुनाले अहिले पाहुना घर समेत निर्माण गरेको छ । एयर कण्डिसनसहित निर्माण भएका पाहुना घरमा एक सय जना सम्मलाई राख्न सक्ने क्षमता रहेको छ । नमुना एकिकृत बिउ उत्पादन केन्द्र भित्र १८ जना लघु उद्योगमा काम गर्ने छन् भने ४ जनामा मासिक तलब र अन्य २ जना स्टाफ पाहुना घरको लागि राखिएका छन् ।
बिउ उत्पादनका लागि नमुनाले अहिले ६० बिघामा धान खेती गरिरहेको छ भने ७ हेक्टरमा रामपुर १२ र रामपुर १६ मकैको विउ उत्पादन गरिरहेको छ ।

सहकारी संस्थाहरुले नाफा कमाउने भन्दा पनि सदस्यहरुको जिवन स्तरलाई माथि पुर्याउने तर्फ लक्षित हुनुपर्ने नमुनाका अध्यक्ष वेदनिधि चापागाईले सुझाए ।

अभिलेख

लोकप्रिय