१२ आश्विन २०७७, सोमबार

उद्योग व्यवसायमा बचत तथा ऋण सहकारीको लगानी ८.७ प्रतिशत

२२ श्रावण २०७७, बिहीबार
उद्योग व्यवसायमा बचत तथा ऋण सहकारीको लगानी ८.७ प्रतिशत

काठमाडौं, २२ साउन

७४.३ प्रतिशत उद्योग/ व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिएको छ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा सर्वेक्षण गरेको थियो । जसमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरु सहभागी भएका थिए ।

ती मध्ये कर्जा नलिएका उद्योग/व्यवसायहरुको संख्या १२ प्रतिशत रहेको छ । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेका, ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेका पाइएका छन् ।

सार्वजनिक प्रतिवेदनअनुसार उद्योगी व्यवसायीले वित्तीय श्रोत व्यवस्थापनका लागि दोस्रो, तेस्रो र चौथो विकल्पको रुपमा क्रमशः खर्च घटाउन कर्मचारी÷तलब कटौती गर्ने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने बताएका छन् ।

सर्वेक्षणमा सहभागी उद्योगी व्यवसायीमध्ये ७९.९७ प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, २६.४१ प्रतिशतले खर्च घटाउन कर्मचारी/तलब कटौती गर्ने बताएका छन् । यस्तै, १२.६१ प्रतिशतले सहकारी संस्थाबाट ऋण लिने १०.९८ प्रतिशतले नयाँ लगानी साझेदार खोज्ने र ६.५२ प्रतिशतले केही नगर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सर्वेक्षणमा सहभागी करिब ७० प्रतिशत उद्योग÷व्यवसायहरुले नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी/कामदारको रोजगारीलाई पूर्णरुपमा निरन्तरता दिन सकिने बताएका छन् ।

एक चौथाईभन्दा बढी (२५.९ प्रतिशत) उद्योग/व्यवसायीले आंशिक रुपमा मात्र निरन्तरता दिन सकिने बताएका छन् भने ४.२ प्रतिशतले सो सुविधा प्राप्त गरेतापनि कर्मचारी/कामदारलाई निरन्तरता दिन नसकिने बताएका छन् ।

बन्दाबन्दीे अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/ व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन/कारोबार घटेको जनाएका छन् । सहभागीमध्ये ०.९ प्रतिशत उद्योग/ व्यवसायहरुको उत्पादन/कारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको उत्पादन/कारोबारपूर्ववत रहेको देखिएको छ ।

अभिलेख

लोकप्रिय