२३ मंसिर २०८१, आईतवार

नेफ्स्कूनको चुनावमा भाग लिन मंसिर भित्रै नविकरण गरी प्रतिनिधि पठाउनु पर्ने

२०८० मंसिर २१, बिहिबार
नेफ्स्कूनको चुनावमा भाग लिन मंसिर भित्रै नविकरण गरी प्रतिनिधि पठाउनु पर्ने

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को निर्वाचन सहितको ३२औं वार्षिक साधारण सभा आउन १६ दिन मात्रै बाँकी छ । नेफ्स्कून सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले पुष ७ र ८ गते निर्वाचन सहितको साधारण सभा गर्ने निर्णय गरेको थियो ।

साधारण सभाको मिति नजिकिँदै जाँदा सदस्यता नविकरण, आधिकारिक प्रतिनिधिको मनोनयन फाराम संकलनमा नेफ्स्कून व्यवस्थापन व्यस्त छ । नेफ्स्कूनको १ मुख्य कार्यालय, २५ फिल्ड कार्यालय र १३ सेवा केन्द्रबाट सदस्यता नविकरण, आधिकारिक प्रतिनिधिको मनोनयन फाराम संकलन कार्य भईरहेको जनाएको छ ।

साधारण सभामा सहभागि हुने सदस्य संघ/संस्थाले मंसिर मसान्तभित्रमा आधिकारिक प्रतिनिधिको मनोनयन फाराम भरी पठाउनुपर्ने नेफ्स्कूनले जनाएको छ । प्रतिनिधिको मनोनयन फाराम पठाउन संघको विनियमको परिच्छेद ३ को दफा ७ (३) अनुसार आवद्ध संघ÷संस्थाहरुले कम्तीमा मासिक ५ सय रुपैयाँ वा नियमित बचतको १ प्रतिशतका दरले नियमित रुपमा बचत जम्मा गर्नुपर्ने उल्लेख छ । कम्तिमा २०८० मंसिर मसान्त सम्मको मासिक बचत संघमा जम्मा गरिसकेपछि मात्रै साधारण सभामा सहभागि हुन पाउने व्यवस्था विनियममा छ ।

त्यस्तै विनियमको परिच्छेद ३ को दफा ९ (१) बमोजिम वार्षिक सदस्यता शुल्क वापत आ.व. ०८०/८१ सम्मको सदस्य संख्याको आधारमा प्रति वर्ष ३ रुपैयाँ प्रति सदस्यले हुन आउने रकम र जिल्ला संघमार्फत संघको नविकरण गरेको अवस्थामा जिल्ला संघले प्रति सदस्य १ रुपैयाँ राखी २ रुपैयाँका दरले यस संघमा बुझाएको हुनु पर्नेछ । त्यसैगरी प्रदेश बचत तथा ऋण सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको हकमा संघमा आवद्ध संस्थाहरुको संख्याको आधारमा प्रति संस्था १० रुपैयाँका दरले जम्मा हुन आउने रकम नविकरण वापत संघमा बुझाउनु पर्ने विनियममा उल्लेख छ । यदी विगतका वर्षमा संघको सदस्यता नविकरण नभएको अवस्थामा विलम्ब शुल्क बुझाएर नविकरण गर्न सकिने नेफ्स्कूनले जनाएको छ ।

त्यस्तै २०७९/०८० सम्मको लेखापरीक्षण प्रतिवेदन, साधारण सभाको निर्णय एवम् चालु आ.व. २०८०/०८१ को वार्षिक कार्यक्रम समेत संघमा पेश गर्नुपर्ने संघका महासचिवद्वारा जारी पत्रमा भनिएको छ । साधारण सभामा प्रतिनिधित्व गर्ने संस्थाको यस संघमा ऋणको भाखा समेत ननाघेको हुनुपर्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय