१५ चैत्र २०७९, बुधबार

सहकारीको ऋण समयमै भुक्तानी गर्न महासंघको उर्दी

२ चैत्र २०७९, बिहीबार
सहकारीको ऋण समयमै भुक्तानी गर्न महासंघको उर्दी

काठमाडौं : नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यलाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न आह्वान गरेको छ । बुधबार अपिल जारी गर्दै महासंघले ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन आग्रह गरेको छ ।

पछिल्लो समयमा केही सहकारीमा समस्या सिर्जना भएपछि सहकारीका बचतकर्ताहरूले बचत फिर्ता लिन थालेको र तरलतामा चुनौती देखापरेको महासंघले जनाएको छ । सहकारी संघ संस्थाहरूले बचत रकमको सामान्यतय ८० प्रतिशतसम्म सदस्यहरूलाई नै कर्जा प्रवाह गर्ने भएकाले बचत फिर्ता गर्न सहज वातावरण बनाउन ऋणी सदस्यहरूलाई ऋणको किस्ता तिर्न आह्वान गरेको हो ।

त्यसैगरी, केही संस्थाले गलत क्रियाकलाप गरेको र त्यसको हल्लाका कारण ‘सहकारी संस्थाहरू उस्तै हुन्’ भन्ने बुझाइ सदस्यमा परेकाले एकैपटक बचत फिर्ता लिन खोज्दा संस्थाको तरलता व्यवस्थापनमा कठिनाइ भएको महासंघका अध्यक्ष मीनराज कँडेलको हस्ताक्षरमा जारी विज्ञप्तीमा उल्लेख छ ।

महासंघले सदस्यहरूले नै संस्थाको सुरक्षण गर्नुपर्ने भएकाले सदस्यले आफ्नो जिम्मेवारी सक्रियतासाथ निर्वाह गर्नुपर्ने मागसमेत गरेको छ । तथापि, सहरी क्षेत्रका संस्थाहरूले सदस्य नै नबनाइ बचतकर्ताका रूपमा कारोबार गरेकाले समेत समस्या सिर्जना भएको आरोप छ । संघ संस्थालाई समेत सदस्यसँग सम्पर्क र समन्वय गरी विश्वासको वातावरण सिर्जना गर्न महासंघले आह्वान गरेको छ ।

महासंघले सहकारीको तरलता व्यवस्थानार्थ नेपाल सरकारसँग सहुलियतपूर्ण कर्जाको समेत माग गरेको छ । सहकारीको छुट्टै कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकरण, बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्नसमेत माग गरेको छ ।

अभिलेख

लोकप्रिय