२१ फाल्गुन २०८०, सोमबार

राज्यलाई अलि पोजेटिभ बनाउन सकेनौं [मिनराज कडेलको अन्तर्वार्ता]

१८ पुष २०८०, बुधबार
राज्यलाई अलि पोजेटिभ बनाउन सकेनौं [मिनराज कडेलको अन्तर्वार्ता]

नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय हो राष्ट्रिय सहकारी महासंघ । सहकारी संघ/संस्थाको प्रवद्र्धन तथा विकासका लागि नीतिगत पहलकदमी गर्ने, सहकारी संघ/संस्थाको व्यवसायिकता प्रवद्र्धन गर्र्दै तीन खम्बे अर्थनीति अनुरुप सहकारी क्षेत्रलाई एक सवल खम्बाको रुपमा स्थापित गर्ने, सबै सहकारी संघ/संस्थालाई ऐक्यवद्ध बनाउँदै सहकारी अभियानलाई सशत्त बनाउने र सहकारी अभियानको नेतृत्वदायि भूमिका निर्वाह गर्ने महासंघको प्रमुख उद्देश्य हो ।
यी उद्देश्य हासिल गर्न रणनीतिक योजनाका साथ कार्यक्रमहरु पहिचान गरी महासंघले काम गरीरहेको छ । पछिल्लो समय सहकारीहरु सकसमा छन् । सहकारीको शीर्षस्थ निकाय महासंघले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको समेत आरोप छ । यसै बीचमा महासंघले नयाँ नेतृत्व समेत प्राप्त गर्दैछ । पुष २७ र २८ गते हुने ३१औं वार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि नेतृत्व चयन गर्नेछ ।
२०७६ साल पुष २४ गते सम्पन्न महासंघको २७औं साधारण सभाबाट अध्यक्ष मिनराज कडेल सर्वसम्वत निर्वाचित भएका थिए । यस बीचमा महासंघले गरेका गतिविधिमा केन्द्रीत रहेर महासंघका अध्यक्ष मिनराज कडेलसँग सहकारीखबरका लागि काजी श्रेष्ठले गरेको कुराकानी ।

नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको ४ वर्ष नेतृत्व गर्नुभयो । यस बीचमा महासंघले के काम गर्यो?
२०७६ सालको पुषमा हामी निर्वाचित भएर आयौं । त्यस लगत्तै फागुनबाट कोभिड सुरु भयो । धेरै लामो समय लकडाउन भयो । कोभिड, युक्रेन रुस युद्ध लगायतले विश्वसँगै नेपालको अर्थतन्त्रमा समेत असर पुग्यो । जुन लक्ष्य लिएका थियौं, त्यस अनुसार काम गर्न सकेनौं । तर, हाम्रो सिंगो टिमले धेरै प्रयास ग¥यौं । हाम्रो नेतृत्व आएपछि १० वर्षे रणनीतिक मार्गचित्र तय गरेर अघि बढेका छौं । ‘दिगो एवंमर्यादित सहकारी अभियानको नेतृत्वदायी महासंघ’ भन्ने भिजन तयार ग¥यौं ।
बहस पैरवीमा के–के काम गर्ने? स्वनियमन र सुशासनमा कसरी अघि बढ्ने? सदस्य संघलाई कसरी सवलिकरण गर्ने? महासंघ आफै कसरी सबल र सक्षम बन्न सक्छ? भनेर यी चार पिलरमा रणनीति तयार ग¥यौं । यी रणनीति भित्र सात÷सात वटा थप विषय समावेश छन् । यी रणतीति कार्यान्वयन गर्दै अघि बढेका छौं । त्यस लगत्तै तीन वर्षिय व्यवसायिक योजना पनि बनायौं । बजेट पेश गर्दा त्यही नीति भित्र रहेर काम गरीरहेका छौं ।

सदस्य संघहरुको सबलिकरणका लागि रणनीति बनाउने, उनीहरुलाई शिक्षा, तालिम दिने काम निरन्तर अघि बढाई रहेका छौं । महासंघ आफै सुशासित ढंगले अगाडी बढाउनु पर्छ भनेर थुप्रै नीति कार्यविधि तयार गरेर सोही अनुसार आफ्नो गतिविधि अघि बढाएका छौं । यसरी अघि बढिरहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितीका कारण पछिल्ला दिनमा सहकारीहरुमा केही समस्या देखिए ।

केही सहकारीले सञ्चालकको नीति कम्पनीमा लगानी गरेको, घरजग्गामा लगानी, बचत अपचलनका घटनाहरु देखिए । आर्थिक मन्दीको असर बैंक तथा वित्तीय संस्था हुँदै सहकारीमा पनि देखा परे । केही सहकारीका कारण अन्य सहकारीमा बचत फिर्ताको माग बढ्यो । यी कारणले करिब करिब ६० वटा जति सहकारीमा समस्या देखिएका छन् । तीन संस्थाका कारण झण्डै ५ सय सहकारी संस्थामा समस्या देखिएको छ । समग्र सहकारीको तुलनामा यो समस्या १ प्रतिशतको हाराहारीमा हुन आउँछ । केही ठूला सहकारीको समस्याका कारण अलि समस्या देखिएको हो ।

कोरोनाको समस्या सहकारी अभियानबाट संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई समेत सहयोग गरेका थियौं । सदस्यहरुलाई राहत, घर घरमा पुगेर वित्तीय सेवा, अन्य सेवा, मनोवैज्ञानिक परामर्श समेत सहकारीहरुले प्रदान गरेका थिए ।

यो ४ वर्षको बीचमा जति काम गर्नु पर्ने थियो त्यो हुन नसकेको हो की भन्ने अनुभव भने भएको छ । यस बीचमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन भव्यताका साथ सम्पन्न गरेका छौं । नेपालमै आईसीए एपी र नेडाकको बोर्ड बैठक नेपामै सम्पन्न समेत गर्यौं । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नयाँ सन्देश समेत दिएको छ ।

महासंघले गर्नुपर्ने काम निरन्तर गरीरहेको छ । तर पनि केही सहकारीको समस्याका कारण सर्वसाधरण र उच्च नेतृत्व तहले हेर्न नजर त्यति राम्रो छैन । राज्यले सहकारी सुधार सुझाव कार्यदल समेत यस बीचमा बनायो । हामीले त्यहाँ बसेर योगदान गरेका छौं ।

कार्यदलले दिएको सुझाव अनुसार काम पनि अघि बढेको छ । तर, परिस्थितीले जती गर्नुपर्ने थियो त्यो गर्न सकेनौं । सहकारीको सकारात्मक सन्देश दिने हिसाबले काम गर्नुपर्ने छ । सहकारी अभियानलाई अर्थतन्त्रको तीन खम्बा मध्ये सहकारी क्षेत्रलाई एक दरिलो खम्बाको रुपमा अघि बढाउनुपर्छ ।

यस बीचमा धेरै सहकारीहरुले विविध खालका समस्या झेल्नुपरेको छ । सहकारीहरुलाई परेको समस्या सम्बोधनका लागि महासंघले अभिभावकीय भूमिका खेल्न सकेन भन्ने आरोप सुनिन्छ । महासंघ कहाँ चुक्यो?
मुलतः सहकारीमा तरलताको चाप परेको हो । केही सहकारीका सञ्चालकले बदमासी नै गरे । ति सहकारीले नीजि कम्पनी, घर जग्गामा लगानी गरे । गरेको लगानी समयमै उठ्न सकेन । पैसा नउठ्दा संस्थामा तरलता चाप पर्यो । उहाँहरुको माग आर्थिक सहयोग नै थियो । हामीले सफ्ट लोनका लागि राज्यलाई पनि गुहारेका हौं तर राज्यबाट त्यो सहयोग प्राप्त गर्न सकेनौं । राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून जस्ता वित्तीय कारोबार गर्ने निकायले सहयोग पनि गरेको हो । संस्थाको क्षमता अनुसार लगानी पनि भएको छ । तर, त्यतिले मात्रै पुगेन । एकैपटकमा धेरै बचत फिर्ताको माग भएपछि धान्न नसकेको हो । भएका सम्पत्ती नबिक्ने, लगानी गरेको कर्जा समयमै नउठ्ने तर बचत फिर्ताको लागि मात्रै सदस्य आएका कारण तरलता व्यवस्थापनमा समस्या देखिएको हो ।

यो हिसाबले मात्रै समस्या देखिएको हो । बहस पैरवी, ऐन नियम कार्यान्वयनमा हामी निरन्तर लागि नै रहेका छौं । आफ्ना सदस्यहरुलाई विश्वास जितेर काम गर्नुपर्ने स्वंयम संस्थाहरुले नै हो । वातावरण मिलाउने र बहस पैरवी गर्ने काम महासंघको हो त्यो निरन्तर गरिरहेका छौं ।

सहकारी ऐनमा व्यवस्था भए बमोजिमका कर्जा सूचना केन्द्र, कर्जा असूली न्यायधिकरण, सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको लागि महासंघको लविङ नपुगेको की राज्यबाटै वेवास्ता गरिएको?
महासंघले भरपुर लविङ गरेका छौं । कर्जा सूचना केन्द्र स्थापनाको लाग कार्यविधि बनाउनु पर्ने थियो । त्यो कार्यविधिको मोडल महासंघले बनाएर विभागमार्फत मन्त्रालयलाई समेत पेश गरेका थियौं । म निर्वाचित भएको केही महिना भित्रै कार्यविधि सरकारलाई बुझाएका हौं । त्यस समयदेखि निरन्तर लविङ गरिरहेका छौं । ऐन र नियम बाझिएको, विद्यमान कर्जा सूचना केन्द्रमै सहकारी समावेश गर्नुपर्ने भन्ने लगायतका कारणले आउन सकेको छैन । कर्जा असूली न्यायधिकरण सरकारले गठन गर्ने हो । सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको लागि सहकारी मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखी पठाएको छ । तर, ४० प्रतिशत हिस्सा अर्थमन्त्रालयबाट निकासा हुन नसक्दा कोष खडा हुन सकेको छैन । पछिल्ला दिनमा सरकारले पनि चासो दिएको अवस्था छ ।

विशिष्टिकृत सहकारी संघको ढाँचामा कर्जा सूचना केन्द्र की विद्यमान कर्जा सूचना केन्द्रमा सहकारी समावेश?
सहकारी अभियानको माग विशिष्टिकृत सहकारी संघको ढाँचामा कर्जा सूचना केन्द्र हो । विद्यमान कर्जा सूचना केन्द्र र विशिष्टिकृत सहकारी संघको ढाँचामा स्थापना भएको कर्जा सूचना केन्द बीचको समन्वयमा सूचना आदन प्रदान हाम्रो माग हो । कार्यदलको रिर्पोटमा पनि त्यही छ ।

झिना मसिना काममा मात्रै महासंघ अल्झिएको र मूल मुद्दा ओझेलमा पर्यो भन्ने आरोप छ नि?
त्यस्तो हैन । सहकारीमा अझै पनि शिक्षा तालिम पुगेकै छैन । सहकारी विभाग, विषयगत संघहरु कसैको क्षमताले पनि यो पुग्दैन । महासंघले पनि निरन्तर शिक्षा तालिम प्रदान गर्दै आएको छ । अझै यो प्रयाप्त छैन । शिक्षा तालिमलाई सबै निकायले निरन्तर रुपमा गर्नुपर्छ । विभिन्न निकायको सहकार्यमा पुस्तिकाहरु समेत प्रकाशन गर्दै आएका छौं । काठमाडौं विश्व विद्यालयको सहकार्यमा सहकारीको अवस्थाबारे अध्ययन पनि गरेका थियौं । शिक्षा, तालिम, सूचनाको पाटो निरन्तर चल्नुपर्छ ।
राज्यलाई अलि पोजेटिभ बनाउन सकेनौं । हाम्रो आन्तिरिक समस्या पनि केही भए होलान । राज्यका उच्च तहलाई बुझाउन नसक्दा जति गर्नुपर्ने थियो त्यो हुन नसकेको पक्कै हो । गर्नुपर्ने काम बाँकी छन् । प्रयास निरन्तर जारी छ ।

सहकारीका अभियान बीच एकरुपता कायम नहुँदा राज्यबाट जति अपेक्षा गरेका थियौं त्यो हुन नसकेको पो हो की?
एउटा पक्ष यो पनि हो । हामी मन्त्री, सचिव कहाँ पुग्दा तपाईंहरु फरक फरक ढंगले आउनु हुन्छ एउटा साझा धारण लिएर आउनुुस् भन्नुहुन्छ । हामीले पटक पटक सहकारी बैंक, केन्द्रीय संघ, प्रदेश संघ, जिल्ला संघहरुलाई बोलाएर साझा धारणा बनाउन कोशिस गरिरहेका छौं, बनाएका पनि थियौं । त्यति हुँदा हुँदै पनि आफ्नो ढंगले अघि बढेका कारण केही समस्या आएका छन् । महासंघ सबै तहका संघहरुको अभिभावक भएका कारण सबैको आवाज सुन्नुपर्ने हुन्छ । यसलाई एकरुपता बनाएर लैजाने सवालमा हामी प्रतिवद्ध छौं ।

उत्पादनसँग सम्बन्धीत संघहरुले वित्तीय क्षेत्रमा मात्रै केन्द्रीत हुनुभयो भन्नुहुन्छ । वित्तीय क्षेत्रका साथीहरुको पनि आफ्नै गुनासो छ । समग्र रुपमा समन्वयनात्मक ढंगले महासंघले काम गरिरहेको छ । सहकारीको अन्तर्राष्ट्रिय मूल्य, सिद्धान्त र वर्तमान परिवेशको आधारमा सबै क्षेत्रको भावना समेट्ने गरी महासंघले लविङ गर्छ र गरिरहेका छौं । यसमा हामी प्रतिवद्ध पनि छौं ।

सहकारीमा विश्वासको संकट देखिएको छ । यसमा महासंघले के काम गरिरहेको छ?
हामीले सदस्य संघहरुलाई भनिराखेका छौं । हामी प्रारम्भिक सहकारीसम्म पुग्दैनौं । मुलतः सहकारीहरुले सदस्यहरुको विश्वास जित्नेगरी लाग्नुपर्छ । त्यसका लागि सहकारी विभागले भने अनुसार स्वेतपत्र जारी गनुप¥यो । बचत फिर्ताको लागि तत्काल क्यास नभएपनि बचतको ज्ञारेन्टी संस्थाहरुले नै गर्नुपर्छ । कहाँ कहाँ लगानी छ भनेर यथार्थ जानकारी सदस्यलाई गराउन जरुरी छ । त्यसो गर्दा सदस्यहरु पनि कन्भिन्स हुन्छन् । अहिलेको अवस्थामा पनि ४० प्रतिशतसम्म तरलता लिएर सहकारी बसेका छन् । जुन सहकारीमा विश्वासको वातावरण छ त्यहाँ कुनै समस्या छैन । विश्वासको वातावरण सृजना गर्न संस्था आफै लाग्नुप¥यो । महासंघ पनि निरन्तर लागि रहेको छ ।

विश्वासको वातारवरण बनाउ सरकारबाट चाल्नुपर्ने कदमको बारेमा झक्झकाई रहेका छौं । बदमासी गर्ने सहकारीलाई कारबाही गर्ने सवालमा हामी प्रष्ट छौं । वर्तमान परिस्थितीले आएको समस्याबाट बचाउन सरकार र अभियान बीचको संयुक्त पहल आवश्यक छ ।

महासंघको निर्वाचन सहितको साधारण सभा आउन केही दिन मात्रै बाँकी छ । तपाईंको चाहना दोहोर्याउने की नेतृत्व हस्तान्तरण?
सहकारी क्षेत्रका लागि वर्तमान परिस्थिती जटिल छ । हामीले थुप्रै काम गर्न अझै बाँकी छ । परिस्थितीका कारण धेरै मिहेनत गर्नुपर्ने अवस्था छ । नेतृत्वको विषयमा हामी छलफलकै क्रममा छौं । साथीहरुले पुनः एक पटक महासंघको नेतृत्व गरेर जानुपर्छ भनेर भन्नु भयो भने यसका लागि म तयार नै छु । परिस्थितीका कारण धेरै विवाद, मतमतान्तर गरेर जाने अवस्था छैन । तर, गम्भिर भएर लाग्नु पर्नेछ । अब आवश्यकताले बस्न्ु पर्ने अवस्था आयो भने बस्न पनि सकिन्छ । सल्लाहबाट यसरी जाउँ भन्ने कुरा आयो भने पनि छलफलबाटै टुंगोमा पुर्याउने छौं । आपसी सहमतीबाटै टुंगोमा पुर्याउने छौं ।

महासंघ छाता संघ भएकाले सबैको प्रतिनिधित्व हुनु आवश्यक छ । सबै विचार, भावना समेटिनु पर्छ । अहिलेको टिम भित्र पनि छलफल गरी एउटा उपयुक्त निकास निकाल्नेछौं ।

अभिलेख

लोकप्रिय