१६ मंसिर २०७७, मंगलवार

जनउत्थान सहकारीले शुरु गर्यो चक्लाबन्दी खेती

१६ असार २०७७, मंगलवार
जनउत्थान सहकारीले शुरु गर्यो चक्लाबन्दी खेती

बुटवल, १६ असार

तिलोत्तमा स्थित जनउत्थान वचत तथा ऋण सहकारी संस्थाले सुपौलीमा २७ बिघा खेतमा सामूहिक धान खेती सुरु गरेको छ । सुपौली गाउँमा २ कठ््ठादेखि डेढ बिघासम्म जग्गा भएका सहकारीका ४७ जना सदस्यको खेतमा सहकारीले पहिलोपटक सामूहिक चक्लाबन्दी खेतीको सुरुवात गरेको हो । प्रदेश ५ कै धेरै (१९ हजार ३ सय १७ जना) सदस्य भएको संस्थाले सुपौलीलाई ‘जनउत्थान कृषि गाउँ नै घोषणा गरेको छ । २७ बिघालाई तीनवटा ब्लकमा विभाजन खेती गरिएको छ । सहकारीले ७ बिघामा धान रोपेको छ ।

‘परम्परागत ढंगले सामूहिक खेती गर्दा पनि ४० प्रतिशत लागत कम हुने रहेछ, मेसिनबाट सामूहिक खेती गर्ने हो भने ७० प्रतिशतसम्म लागत कम हुन्छ’, संस्थाका व्यवस्थापक रनबहादुर थापाले भन्नुभयो, ‘सदस्यहरुलाई यो कुरा बुझाउन ६ महिना समय लाग्यो ।’ सुपौली गाउँमा २ सय ३ परिवारको करिब दुई सय ५० बिघा खेत छ । गाउँका सबै घरधुरीबाट एक जना नछुट्ने गरी ३ सय ४५ जना सहकारीका सदस्य छन् । सहकारीले अर्को वर्ष सिंगो गाउँका सबै परिवारको जग्गामा सामूहिक खेती विस्तार गर्ने लक्ष्य लिएको व्यवस्थापक थापाले बताउनुभयो ।

सामूहिक खेतीलाई प्रवद्र्धन गर्न सहकारीले आगामी ३ वर्षसम्म हरेक वर्ष १५ लाख रुपैयाँका दरले खेत जोताई, बिउ, मल र सिंचाईका लागि रकम खर्च गर्नेगरी बजेट छुट्टाएको छ । सामूहिक रुपमा चक्लाबन्दी खेती गर्दा एक्ला एक्लै गर्दाजस्तो मल, बिउ, कामदार र सिंचाईमा समस्या नहुने र उत्पादन पनि बढ्ने कृषि गाउँका संयोजक मेखराज पुनले बताउनुभयो । ‘एक्लाएक्लै खेती गर्दा जोत्न, ब्याड राख्न, मल पाउन, पानी सिंचाई गर्न, कामदार खोज्न अलग–अलग समय खर्च र आर्थिक भार, दुःख र झन्झट हुन्थ्यो’, पुनले भन्नुभयो, ‘त्यतिमात्र हैन, आपसी झै झगडा र वैमनस्यता समेत हुन्थ्यो, सामूहिक खेती गर्दा कुनै सामाजिक समस्या हुँदैन बरु सबै काम एकैपटक र सामूहिक भावना र सामाजिक एकता कायम हुन्छ ।’ सामूहिक रुपमा चक्लाखेती गर्दा प्रति कठ्ठा लागत खर्च कम्तीमा दुई हजार कम हुने अध्ययनबाट पुष्टी भएको सहकारीका व्यवस्थापक थापाले बताउनुभयो । ‘अलग अलग खेती गर्दा एक कठ्ठाको खर्च झण्डै ५ हजार हुँदो रहेछ, तर सामूहिक गर्दा तीन हजार मात्रै खर्च हुन्छ’, व्यवस्थापक थापाले भन्नुभयो ।

उत्पादित धानलाई एकमुष्ट रुपमा चामल बनाएपछि सदस्यको जग्गाको अनुपातमा वितरण गरिने पुनले बताउनुभयो । खेती गर्दा श्रम गर्ने सदस्यले ज्याला पाउने र श्रम गर्न नसक्नेले खर्च कटाएर चामल वा रकम लिन पाउने कार्यविधि बनाइएको पुनले स्पष्ट पार्नुभयो । सहकारीले कृषिसँगै व्यवसायिक तरकारी खेती र पशुपालन पनि गर्ने १० वर्षे कार्ययोजना बनाएको अध्यक्ष ज्ञानु पौड्यालले बताउनुभयो । सुपौलीपछि पश्चिम अमुवामा पनि सामूहिक कृषि गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

सामूहिक खेतीमार्फत उत्पादित खाद्यान्न वा तरकारीको बजारीकरण र विक्रिमा सहकारीले कोटिहवामा सहकारीको कार्यालय परिसरमै विक्रि केन्द्र स्थापना गरेको छ । लकडाउनका बेलादेखि नै सहकारीले आफ्ना सदस्यले उत्पादन गरेका तरकारी बजार मूल्य भन्दा सस्तोमा विक्रि गर्दै आएको छ । ‘हामीले चक्लाबन्दी खेतीमार्फत सहकारी संस्थाले देशकै लागि नमूना काम गर्न सक्छन् भन्ने उदाहरण दिने लक्ष्य लिएका छौं’, अध्यक्ष पौड्यालले भन्नुभयो ।

सामूहिक खेतीको प्रदेश ५ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले धान रोपेर उद्घाटन गर्दै वचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीले कृषि क्षेत्रमा चक्लाबन्दी खेतीको शुरुवात गरेर प्रदेशमै नमूना कामको शुरुवात गरेको औंल्याउनुभयो । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाले समेत चक्लाबन्दी खेतीलाई प्रोत्साहन गरेको र ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेकाले अब सम्भव भएका सबै जग्गामा चक्लाबन्दी खेती नै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सरकारले कम्तीमा १० बिघामा चक्लाबन्दी खेती गर्नेलाई ५० प्रतिशत अनुदान दिने नीति बनाएको छ । एक अर्ब ७७ करोड कूल पुँजी, एक अर्ब ३३ करोड वचत संकलन, एक अर्ब ३६ करोड ऋण लगानी रहेको सहकारीको संस्थागत कोष १२ करोड ६६ लाख रुपैयां रहेको कोषाध्यक्ष सरु रानाले बताउनुभयो ।

अभिलेख

लोकप्रिय