१ असोज २०८१, मङ्गलबार

आइसीए चुनावमा धाँधली भयोः अध्यक्षका प्रत्यासी बान्सेल

२०७९ असार ९, बिहिबार
आइसीए चुनावमा धाँधली भयोः अध्यक्षका प्रत्यासी बान्सेल

काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को हालै सम्पन्न निर्वाचनमा धाँधली भएको आरोप अध्यक्षका एक प्रत्यासीले लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी जीन लुईस बान्सेलले आइसीए चुनाव अन्तर्गत भएको मतदान प्रक्रियाले प्रजातन्त्रको खिल्ली उडाएको भन्दै गम्भीर रोष प्रकट गरेका हुन् ।

स्पेनको सेभिलामा जुन २० तारिखमा सम्पन्न निर्वाचनमा फ्रान्सेली सहकारी अभियानको प्रतिनिधित्व गर्दै कोपफ्रान्सका अध्यक्ष बान्सेल पनि अध्यक्षका प्रत्यासी थिए । मतदानमा उनले ३ प्रत्यासीमध्ये सबैभन्दा कम मत प्राप्त गरेका थिए । कुल कुल ७ सय ६९ मतमध्ये बान्सेलले जम्मा १ सय ६० मत प्राप्त गरेका थिए । अर्जेन्टिनी सहकारी अभियन्ता एरियल ग्वार्को ४ सय ४५ मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

मतदानका क्रममा धेरै अलमल, आंशकाहरु भएको र अनियमितताका बहु श्रृङ्खलाहरु चलेको आरोप उनले लगाएका छन् । ‘आइसीए निर्वाचन अन्तर्गत मतदानको दिन सहकारी सञ्चालनको धरोहर मानिने प्रजातन्त्रको खिल्ली उडाइयो’, बान्सेलले लेखेका छन्, ‘त्यसै कारण निर्वाचित भएको दाबी गर्नेहरुको म्यान्डेट अबैध छ ।’ आइसीए चुनावका क्रममा प्राविधिक कमजोरीले गर्दा विद्युतीय मतदान प्रक्रिया अघि बढ्न नसकेकोतर्फ पनि बान्सेलले विरोध जनाएको भान हुन्छ ।

उनले चुनावी परिणामले अन्तर्राष्ट्रिय सहकारी अभियानलाई एकताबद्ध गर्ने प्रयासमा खलल पार्ने त होइन भन्ने चिन्ता आफुलाई लागेको बताएका छन् । यद्यपि, यस्ता किसिमका दुःखद घटनामाथि विजय प्राप्त गर्ने प्रतिबद्धताबाट आफु कदापि विमुख नहुने धारणा बान्सेलले सार्वजनिक गरेका छन् । उनले युवा पुस्ताले उर्जा र गतिशिलताका साथ सहकारी मुल्य र मान्यताहरुलाई थप उचाईमा लानसक्ने आशा र कारण आफु निरन्तर यही अभियानमा जोडिने विश्वास दिलाएका छन् ।

आइसीएमा आन्तरिक विश्वासको संकट परेको पनि उनले जनाएका छन् । अध्यक्षकी अर्की प्रत्यासी अष्ट्रेलियाकी मेलिना मरिसनले भने निर्वाचनमा पराजित हुनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया सार्वजनिक गरेकी थिइन् । उनले पनि मतपरिणामा सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमार्फत चुनावमा भएको पराजयलाई ‘दुभाग्यपूर्ण’ को संज्ञा दिएकी थिइन् ।

बान्सेलले आइसीएको चुनावी साधारण सभा कार्यक्रमको भव्य आयोजना गर्ने स्पेनी सहकारी अभियानलाई भने आयोजना तथा आतिथ्यताका लागि धन्यवाद दिएका छन् ।

अभिलेख

लोकप्रिय