ज्ञानु पौडेल
अध्यक्ष, जनउत्थान बचत तथा ऋण सहकारी संस्था, रुपन्देही
तेश्रो राष्ट्रिय महासम्मेलनमा सहभागी हुन जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट नाम दर्ता गराएको छु । महासम्मेलनमा सहभागी हुनुको मुख्य उद्देश्य भनेको सिकाई आदान प्रदान नै हो । अहिले सिंगो वित्तीय क्षेत्र नै संक्रमणको अवस्थामा छ । त्यसको असर सहकारीमा पनि देखिन थालेको छ । संकटलाई समाधान गर्ने उपायहरु पनि छलफल तथा संवादबाट आउँछ भन्ने मैले पूर्ण रुपमा विश्वास लिएको छु । सिकाई सहभागि हुने संस्थाहरुका लागि लाभदायी हुने मेरो बुझाई छ ।
संस्थालाई सुरक्षित एवं व्यवस्थित रुपमा सञ्चालन गर्न सञ्चालक र व्यवस्थापनको भूमिका महत्वपूर्ण रहन्छ । त्यसका लागि सिकाई निरन्तर चाहिन्छ । महासम्मेलनमा जाने भनेको एक किसिमको लगानी हो । त्यसको प्रतिफल भनेको संस्थालाई सुरक्षित र व्यवस्थित रुपमा अगाडि बढाउने नै हो । जनउत्थान साकोस जुन ठाउँमा छ, वित्तीय मन्दीको अवस्थामा पनि कुनै समस्या छैन । तरलता व्यवस्थापन गरेका छौं । समुदायमा आधारित भएर कारोबार गरेका र नीति, विधि अनुसार चलेका सहकारीमा तरलता समस्या छैन । आफूसँग भएको अनुभव पनि शेयरिङ गर्न पाइन्छ । अरुहरुबाट पनि सिक्न पाइने भएकाले महासम्मेलन फलदायी हुने मेरो अपेक्षा छ ।
नेपालको सहकारी क्षेत्रमा थुप्रै असल अभ्यासहरु भएका छन् । सहकारीहरुले महिला सशक्तिकरण, आर्थिक तथा समाज रुपान्तरणमा धेरै काम गरेका छन् । नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता के छ? भन्ने विषयमा थाहा गर्ने मेरो उद्देश्य छ । तथ्यांक अनुसार पुरुषको तुलनामा सहकारीमा महिला सहभागिता बढी छ । महिलाहरुको आर्थिक उन्नति र नेतृत्व विकासमा कस्तो भूमिका खेल्न सकिन्छ भन्ने एउटा सत्र महासम्मेलनमा रहेको छ । प्यानल डिस्कसनको टपिक्सहरु मैले हेरेँ । धेरै विषयवस्तु हामीलाई काम लाग्ने खालका छन् । अर्कोतर्फ सिकाई कहिल्यै पनि पूर्ण हुन सक्दैन । सिकाईलाई सधैंभरि खुल्ला राख्नुपर्छ । महासम्मेलनमा नेपालमा काम गरिरहेका सहकारीकर्मीहरुले एकअर्काको अनुभव साटासाट गर्न सक्छन् भने विज्ञहरुबाट पनि राम्रो कार्यपत्र प्रस्तुत हुनसक्छ ।
सकारात्मक रुपमा लिइयो भने यस्ता सम्मेलनहरु आवश्यक छन् । यसले हाम्रो क्षमता अभिवृद्धि गर्छ भने विज्ञहरुको अनुभव सुन्न पाइन्छ । त्यो कुरालाई आफ्नो संस्थामा लागु गर्न सकियो भने त्यसले संस्थालाई राम्रो बनाउन सहयोग गर्छ । असल अभ्यास सिकेर आफ्नो संस्थालाई कसरी बलियो बनाउने र जोखिमलाई कसरी न्यूनिकरण गर्दै जाने भन्नेमा टेवा मिल्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको छलफल तथा सम्वादबाट नेतृत्व विकासमा सघाउ पुग्छ । त्यसैले यस्ता फोरमहरु सहकारी क्षेत्रको लागि आवश्यक छ । सहभागि हुने तर फोरमलाई सिकाइको रुपमा लिइएन भने त्यसले कुनै अर्थ राख्दैन । यस्ता फोरमबाट केहि कुरा सिक्नुपर्छ र अरुहरुलाई पनि सिकाउन पर्छ भन्ने सोच विकास गरियो भने पक्कैपनि फलदायी हुन्छ । महासम्मेलनमा सहभागि हुने तर सिक्नको लागि ध्यान नदिने हो भने त्यसले केहि उपलब्धी दिँदैन । विज्ञहरुबाट आएका सल्लाह सुझाव र निचोडलाई आफ्नो संस्थामा ल्याएर प्रयोग गर्यो भने संस्थालाई अझ उचाइमा पुर्याउन मदत मिल्छ ।
अहिलेको अवस्थामा संस्थालाई कसरी सुरक्षित राख्ने र सहकारीप्रति देखिएको नकारात्मकतालाई चिर्ने काम महासम्मेलनले गर्न सक्नुर्पछ । सबै सहकारी राम्रा छैनन् र समाजको लागि केहि गरेका छैनन् भन्ने कुरालाई चिरेर सहकारीमार्फत राम्रा काम पनि भएका छन् भन्ने कुरालाई महासम्मेलनले स्थापित गर्नुपर्छ । सहकारी अभियानको सहि बाटो महासम्मेलनले पहिल्याउनु पर्छ । अहिलेसम्मको उपलब्धीको समिक्षा गर्दै आगामी बाटो पहिल्याउन सकेमात्र महासम्मेलन उपलब्धीमूलक बन्नेछ । अहिलेको वर्तमान समस्यको विषयमा पछि व्यापक छलफल जरुरी छ ।
सहकारीप्रति साझा बुझाई गराउने थलोको रुपमा यसलाई विकास गर्न सकियो भने महासम्मेलन सफल हुन्छ । सहभागिता बढाउने र भाषणमा मात्रै सीमित गरियो भने त्यति अर्थपूर्ण हुँदैन । त्यसकारण यस्ता फोरमहरु चाहिन्छ तर विषयवस्तु छनौटमा भने आयोजकले ध्यान पुर्याउनुपर्छ ।
(पौडेलसँग गरिएको कुराकानीमा आधारित)