१६ चैत्र २०८०, शुक्रबार

अध्यक्ष स्वयंमले पैसा चलाउँदा डुब्यो गुडविल सहकारी, सदस्यको रुवाबासी

४ चैत्र २०७७, बुधबार
अध्यक्ष स्वयंमले पैसा चलाउँदा डुब्यो गुडविल सहकारी, सदस्यको रुवाबासी

काठमाडौं : ललितपुरको कुमारीपाटी स्थित गुडविल बचत तथा ऋण सहकारी संस्थामा सदस्यले जम्मा गरेको बचत अध्यक्ष स्वयंमले चलाएको प्रारम्भिक अध्ययनले देखाएको छ । प्रारम्भिक अध्ययन अनुसार संस्थामा सदस्यहरुको ७० करोडको हाराहारीमा बचत छ । उक्त रकम मध्ये अधिकांश रकम अध्यक्ष दिवाकर श्रेष्ठले चलाएका छन् ।

संस्थामा अध्यक्ष श्रेष्ठ नै कार्यकारी प्रमुख थिए । संस्थाका अधिकांश सञ्चालक सहकारी के हो ?, र कसरी चल्छ भन्ने विषयमा जानकार छैनन् । स्रोतका अनुसार संस्थाका अधिकांश कर्मचारी सहकारीका सञ्चालक छन् । संस्थाको लगानी कहाँ कति छ?, बचत कति जम्मा भएको छ? लगायतको सम्पूर्ण हिसाब हेर्ने जिम्मा पाएका एक कर्मचारीको मृत्यु भैसकेको छ । उक्त कर्मचारीले केही महिना अधि मात्र आत्महत्या गरेको थियो ।

१८ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा संस्थाले सर्वसाधरणबाट निक्षेप संकलन गरेको थियो । संस्थामा भक्तपुर निवासी एक सदस्यको ९ करोड रुपैयाँसम्म फसेको छ । संस्थाका अध्यक्ष यतिबेला सम्पर्कमा छैनन् । संस्थाका उपाध्यक्ष र केही सञ्चालक भने सम्पर्कमा आएका छन् तर, उनीहरु संस्थाका बारेमा अनविज्ञ छन् ।

 

समस्या समाधानका लागि बचत संघको पहल

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले समस्या समाधानका लागि पहल थालेको छ । मंगलबार सदस्यहरुलाई संघमा बोलाएर समस्या समाधानका लागि औपचारिक पहल सुरु गरेको छ । उक्त संस्था जिल्ला बचत संघको सदस्य पनि हो । मंगलबार संघमा भएको भेलाले बचतकर्ताहरुबाट ६ सदस्यीय कार्यदल बनाएको छ । उक्त कार्यदलले समस्या समाधानका लागि ललितपुर महानगरपालिका सहकारी शाखालाई समेत अवगत गराएको छ ।

आज कार्यदल, संस्थाका सञ्चालक, सदस्य, नियामक निकाय र बचत संघका सञ्चालकहरुबीच छलफल हुँदै छ । उक्त छलफलले समस्या समाधानको पहल गरिने बचत संघका अध्यक्ष रामहरि बजगाईले जानकारी दिनुभयो । संस्थाको हिसाब किताब हेरर समस्या समाधानको पहल गरिने उहाँले बताउनुभयो ।

अभिलेख

लोकप्रिय