७ कार्तिक २०७८, आईतवार

संकटको समयमा सहकारी सेवा निरन्तरता महत्वपूर्ण : लेनी [ प्रस्तुतिको नेपाली भावानुवाद ]

१२ जेष्ठ २०७७, सोमबार
संकटको समयमा सहकारी सेवा निरन्तरता महत्वपूर्ण : लेनी [ प्रस्तुतिको नेपाली भावानुवाद ]

एशियाली ऋण महासंघ (अकू) की प्रमुख कार्यकारी अधिकृत एलिनेता सानरोके (लेनी) ले नेफ्स्कूनद्धारा २०७७ साल जेठ ११ गते आयोजित बेबिनारमा दिएको प्रस्तुतिको नेपाली भावानुवाद यहाँ प्रस्तुत गरिएको छ । यसलाई नेफ्स्कूनका सञ्चार अधिकृत रञ्जनमणि पौड्यालले अनुवाद गर्नुभएको हो ।

यो संकट अल्पकालीन हो । हामी धेरै सकारात्मक छौं । यो संकट अन्त्य हुन्छ तर यसले समय लिन्छ । हामीेले समाचारमा सुनेका छौं कि कोरोना भाइरस विरुद्धको खोप अमेरिकामा परिक्षण भइसकेको छ । अब जनवरीदेखि जुनसम्ममा खोप उपलब्ध हुने अनुमान गरिएको छ । यसका कारण पनि हामी भन्न सक्छौं यो संकट अल्पकालीन हो । तर संकटपछि हाम्रा बानी व्यहोरा र वातावरणहरु परिवर्तन हुनेछन् । हामीले सदस्यहलाई गर्ने सेवाका रुप परिवर्तन हुनेछन् । यद्यपि, हाललाई सबभन्दा महत्वपूर्ण विषय भनेको जारी संकटको कुशल व्यबस्थापन हो । चुनौती र असान्य परिस्थितिका बाबजूद हाम्रा बचत तथा ऋण सहकारी संस्थाहरुको सेवा निरन्तरताको सुनिश्चितता अहिलेको प्रमुख आवश्यकता हो ।

प्रथमतः हामीले हाम्रा सदस्यहरुको सुरक्षाको हेक्का राख्नुपर्दछ । बचत तथा ऋण सहकारीको नेतृत्व तथा व्यबस्थापनले बुझ्नुपर्ने कुरा के के हो भने हाम्रा संस्थाको जग भनेको हाम्रा सदस्यहरु हुन् । सदस्य बिना साकोस रहँदैन । तपाईहरुलाई लाग्न सक्छ अहिलेको अवस्थामा संस्था बचाउनु प्रमुख कुरा हो तर होइन सदस्य सबभन्दा प्राथमिक कुरा हो । सदस्यहरुको अवस्था के छ भनेर तपाईहरुले बुझ्नुपर्छ । लकडाउन लम्बिदै गएको अवस्थामा सदस्यहरु बिरामी परेका छन की, केहीले जागिरबाट बिस्थापित हुनुपरेको छ कि, उनीहरु बजार जान पाएका छैनन् कि, उनीहरुले सम्पत्ति गुमाउनुपरेको छ कि भनेर जानकारी लिनुपर्छ ।

आवतजावतको कठिनाईका कारण सदस्यहरुले वित्तीय सेवा पाउन असहज स्थिति उत्पन्न भएको हामीले बुझेका छौ । धेरै साकोसहरुमा प्रविधिमैत्री भुक्तानी माध्यमको सुविधा उपलब्ध नहुनसक्छ, सदस्यहरु निक्षेप जम्मा गर्न कार्यालय आउन नसक्ने परिस्थिति बन्न सक्छ र अर्को चिन्ताको विषय भनेको सदस्यहरुसँग आकस्मिक बचतको अभाव हुनसक्छ । आकस्मिक बचत एकदमै महत्वपूर्ण छ । लकडाउनका कारण आधारभूत आवश्यकता परिपूर्तिका सामाग्रीहरु खरिद गर्न सदस्यहरुसँग बचत छैन भने उनीहरु भोकै रहन्छन् । यो राम्रो हो कि नेपाल लगायत धेरै राष्ट्रमा केही साकोसहरुले आपतकालीन सहयोग स्वरुप खाद्य सामाग्रीहरु उपलब्ध गराएका छन् । तर, यो अल्पकालीन व्यबस्था वा सहयोग मात्र हो । यस्तो काम सधैका लागि सम्भव छैन । यदि सदस्यहरुको आकस्मिक बचत भएको भए उनीहरु आफ्नो आत्मनिर्भर हुने थिए ।

त्यस्तै, दोस्रो कुरा, साकोस नेतृत्व र उच्च व्यबस्थापनले कर्मचारीको ख्याल राख्नुपर्छ । सदस्य जस्तै कर्मचारीहरुसँग पनि आपतकालीन बचत नहुन सक्छ । यदि महामारी र लकडाउन लम्बियो भने निश्चय पनि साकोसहरुको आम्दानी हुनेछैन, तरलता संकट उत्पन्न हुनसक्छ जुन कुरा तपाईका कर्मचारीहरुलाई राम्रोसँग थाहा छ । रोजगारीको सुरक्षाको प्रश्न पनि उठ्छ । थाइल्याण्डमा लकडाउन अवधिमा बन्द रहेका केही कम्पनीहरुले आफ्ना कर्मचारीको तलबको केही प्रतिशत कटौती गरेका छन् । कर्मचारीहरुको तलब वृद्धि नहुन सक्छ, बोनेस प्राप्त हुनेछैन जुन कुरा साकोसहरुमा पनि लागू हुनसक्छ । यस्तो सम्भावनाहरुका बीच कर्मचारीहरुमा मनोबल कमी हुनसक्छ । घरबाट कामका सम्बन्धमा पनि इन्टरनेटको पहुँचमा विविध खाले समस्याका कारण चुनौतीहरु छन् । गाउँघर वा कार्यालयभन्दा टाढा रहेका कर्मचारीहरु बसेको स्थानमा घरबाट काम गर्ने सहज कार्यालीय वातावरण उपलब्ध नहुनसक्छ जसले गर्दा कर्मचारीको कार्यदक्षता पनि सीमित गर्दछ । यदि कर्मचारीहरुलाई कार्यालयमा उपस्थितिको लागि आग्रह गरिएको छ भने उनीहरु व्यक्तिगत रुपमा सुरक्षित रहेको संस्थाले सुनिश्चित गर्नुपर्दछ । उनीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराएको सुनिश्चित गर्नुपर्दछ अन्यथा उनीहरु बिना हातहतियार युद्धभूमिमा गए जस्तो हुन्छ ।

तपाईहरुसँग अहिले बचत परिचालनको क्षमतामा ह्रास आएको हुनसक्छ र यदि भाखा नाघेको ऋण बढ्दो हुनसक्छ तर त्यसमा कुनै सम्झौता हुने छैन ।

त्यस्तै, तेस्रो महत्वपूर्ण पक्ष भनेको साकोस हो । अब प्रश्न आउँछ के हाम्रो संस्था यस्तो संकटको लागि तयार छ ? विपद् व्यबस्थापन सम्बन्धी हामीले योजना बनाएका छौं ? हामीले के पाएका छौं भने धेरै साकोसहरुले भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिको लागि पूर्वयोजना बनाएपनि हाल कायम रहेके जस्तो स्वास्थ्य विपत्तिका लागि पूर्वयोजना बनाएका थिएनन । त्यस्तै कानूनी परिपालना अर्को विषय हो । तपाईहरुले आफ्ना लेखापरिक्षण तथा वार्षिक, अर्धवार्षिक, चौमासिक वा मासिक प्रतिवेदनहरु नियामक निकायमा पेश गर्नुपर्ने कानूनी बाध्यताहरु छन् । जुलाईमा तपाईहरुको वार्षिक लेखापरिक्षण हुन्छ । यस्तो अवस्थामा आवश्यक प्रतिवेदन र कागजातहरु उपलब्ध गराउने समयसीमा केही थप गर्न सकिने सम्भावनाका विषयमा नियामक निकायहरुसँग सम्पर्क गर्नुभयो ? जुलाई १५ सम्ममा नेपालका साकोसहरुको लेखापरिक्षण भैसक्नुपर्ने छ । अहिले लकडाउन जारी रहेको अवस्थामा के त्यो सम्भावना छ ? संस्थासँग सम्बन्धित यस्ता विषयहरु समयमै सम्बोधन हुनुपर्दछ ।

एक्सेस् र प्रोबेशन जस्ता गुणस्तर सुनिश्चिताको स्तरीकरण कार्यक्रममा आबद्ध साकोसहरुको कार्य सम्पादन गुणस्तरको विषय पनि छ । तपाईहरुसँग अहिले बचत परिचालनको क्षमतामा ह्रास आएको हुनसक्छ र यदि भाखा नाघेको ऋण बढ्दो हुनसक्छ तर त्यसमा कुनै सम्झौता हुने छैन । ख्याल राख्नुपर्ने कुरा के हो भने ऋणको व्यबस्थामा कुनै परिवर्तन हुने छैन किनकि स्वसहयोग र सुरक्षा जस्तो बचत तथा ऋण सहकारी सञ्चालनको सिद्धान्त कोभिड महामारीका बाबजूद कायमै छन् । तिनमा कुनै परिवर्तन भएको छैन । अहिले हामीले गर्ने एकमात्र काम भनेको संकटको असरको व्यबस्थापन हो । त्यस्तै, तपाईहरुको संस्थाको लगानीमा पनि असर पर्छ ।

अब म यस्तो अवस्था व्यबस्थापनका लागि अकूले जारी गरेका सुझावहरुको विषयमा चर्चा गर्न गइरहेकी छु । सदस्यहरुको विषयमा तपाईहरु जुन भौगोलिक र सामाजिक अवस्थामा संस्था सञ्चालन गरिरहनुभएको छ त्यसको आधारमा कोभिड–१९ ले पार्ने असरको विश्लेषण गर्दै चाल्नुपर्ने कदमका बारेमा टुङ्गोमा पुग्नुभयो भने तपाईको व्यबसाय निरन्तरता योजना (बीसीपी) प्रभावकारी हुन्छ । जहाँसम्म हाम्रो सुझाव छ, पहिलो कुरा स्वास्थ्य हो । मानौ तपाईको संस्थामा ६० वर्ष र त्यो भन्दा माथिका सदस्यहरु छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार ६० वर्ष र माथिको उमेर समूहकाहरुमा कोरोना भाइरस संक्रमणको जोखिम बढी हुन्छ । हामीले उक्त उमेर समूहका सदस्यहरुका बारेमा जानकारी राख्नुपर्छ र उनीहरु रहेको स्थानमा रोग संक्रमणको अवस्था के छ । त्यस्तै, अर्को विषय भनेको सदस्यहरुको ऋण तिर्न सक्ने क्षमतामा पक्कै पनि असर गर्छ । अर्को भनेको प्रविधिमैत्री भुक्तानी वा बचत जम्मा सेवाहरुको उपलब्धता हो ।


मैले इन्टरनेटमा खोज्दै जाँदा पाएको एउटा निचोड यहाँ प्रस्तुत गर्न चाहन्छु । त्यहाँ राखिएको एउटा प्रश्न छः तपाईको साकोसले संकटको यस्तो अवस्थामा तपाई र तपाईको परिवारलाइ कस्तो सहयोग गर्न सक्छ ?

जसमा ३ वटा बुँदा उत्तर राखिएका छन् ।

. मेरो मनको शान्ति बढाउने : यो संकटबाट छुट्काराका लागि मलाई आवश्यक राहत उपलब्ध गराउने ।

२. आशा जगाउनेः  मार्गदर्शन र समस्या समाधानमा निरन्तर मेरो साथ । वित्तीय मात्रै होइन सल्लाह, सुझाव र मार्गदर्शनको पर्खाइमा सदस्यहरु हुनसक्छन् यो समायमा । सदस्यहरुमा उत्प्रेरणा र आशाहरु जगाउन सकिन्छ ।

३.मेरो अनावश्यक तनाव न्यूनीकरणः मलाई चाहिएको बखत जे र जसरी पनि कर्मचारी र विधिहरुमा सहज पहुँच उपलब्ध गराएर ।
अहिले साकोसका सदस्यहरु चिन्तित छन् किनकि भविष्य कस्तो हुने हो भन्ने प्रश्नहरु छन् । यी माथिका हरु सदस्यहरुसँग जोडिने आधार हुन सक्छन् । तपाई घरमा हुन सक्नुहुन्छ, तपाईका कर्मचारी घरमा हुन सक्छन् तर पनि सञ्चार र सामाजिक सञ्जालहरुमार्फत सदस्यहरुसँग निरन्तर पहुँच स्थापित गर्न सकिन्छ । यो एकदमै महत्वपूर्ण कुरा हो । अर्को, यसै बिषयमा उमेर जोखिमको कुरा छ । यस विषयमा अघि नै चर्चा भइसकेको छ । रोग प्रतिरोधात्मक क्षमतामा कमीका कारण

हाम्रो सुझाव भनेको तपाईको साकोसमा सदस्य शिक्षाको कार्यक्रम छ, त्यसमा तत्कालै र पछि पनि स्वास्थ्य शिक्षाको पाटो जोड्नुपर्छ । स्वास्थ्य सम्बन्धी धेरै विषयहरु सदस्य शिक्षामा जोड्न सकिन्छ भन्ने मलाई लाग्छ । रोगबाट बचाउने र संरक्षण गर्ने दायित्वमा हामी लाग्नुपर्छ । विज्ञहरुका अनुसार अहिलेको कोरोना भाइरस हामीसँगै रहन्छ । यो हराएर जादैन । खोप उपलब्ध भएपनि भाइरस रहन्छ नै । त्यही भएर स्वास्थय बीमा आवश्यक छ । अर्को भनेको सदस्यहरुको ऋण तिर्न सक्ने क्षमतामा कमी हो । दैनिक ज्यालादारीमा भर पर्ने सदस्यहरुलाई असर गर्छ किनकि उनीहरु अहिले काम गर्न सक्दैनन । त्यस्तै, लघु उद्यमीहरुमा पनि लकडाउनका कारण कामको निरन्तरताको समस्या छ । कृषि तथा कृषिजन्य व्यबसायमा लागेकाहरु पनि आफ्ना उत्पादनहरु बिक्री गर्न असमर्थ छन् । फिलिपिन्समा कृषकहरुले यातायात नचलेका कारण बजारको पहुँच नभएकाले उत्पादन फालेका छनु । हामीले केही सदस्यहरुसँगको छलफलमा के पायौ भने केही राष्ट्रमा सदस्यहरुसँग पैसा भएर पनि बचत जम्मा गर्न वा ऋण तिर्न उनीहरु साकोससम्म जान सकेका छैनन किनकि संस्थाले घरदैलो सेवा उपलब्ध गराएको छैन । लकडाउनका कारण मुल्यवृद्धि भएका कारण पनि सदस्यको ऋण तिर्न सक्ने क्षमतामा हस आउछ । यस्ता असरहरुका सम्बन्धमा साकोसहरुको काम भनेको वित्तीय परामर्श प्रदान गर्नु हो । लकडाउन खुलेपछि सदस्यहरुलाई उनीहरुको बढ्दै गएको किस्ता बुझाउन कठीन हुन्छ । त्यसकारण साकोसहरुले पुनर्सम्झौता गर्नुपर्ने हुन्छ । त्यसका लागि वित्तीय परामर्श आवश्यक छ । अर्को काम भनेको लडकाउनका समसयमा सदस्यहरुको उत्पादनको बजारीकरणका लागि सहजिकरण भूमिका हो । नेपालमा यस्तो गरिएको छ छैन मलाई जानकारीमा छैन तर अन्यत्र यस्तो प्रचलन छ । अर्को काम भनेको सदस्यहरुसँग पहुँच स्थापित गर्ने । त्यस्तै, अर्को भनेको अहिले र लडकाउन सकिएपछि व्यबसाय विकास सेवा लाई साकोसहरुले एकीकृत गर्ने जसका माध्यमबाट सदस्यहरुलाई रोजगारी र उद्यमको प्रत्याभूति गर्न सकियोस ।

साकोसहरुले व्यवसाय निरन्तरता योजना (बीसीपी) तयार गर्नुपर्छ । साकोसका व्यबस्थापकहरुको रुपमा तपाईहरुले संस्था भित्र र बाहिर गर्ने हरेक सञ्चार सकारात्मक हुनुपर्छ । त्यस्तै, हामी अहिले लचकता पनि कायम गर्नुपर्छ । भर्चुअल भेटघाटलाई बाक्लो बनाउनुपर्छ ।

अर्को भनेको सदस्यहरुको प्रविधिमा पहुँचको विस्तार हो । यो अहिले एकदमै महत्वपूर्ण छ । यस विषयमा साकोसहरुले धेरै गर्न बाँकी छ । मलाई विश्वास छ यस विषयमा नेफ्स्कूनले काम गरिरहेको छ । हामीले सकेसम्म प्रविधिगत बाटाहरु खोज्नुपर्छ । सदस्यहरुले मोबाइल फोनको प्रयोग गरेर पानी बत्ती, टेलिफोन केवल रिचार्ज मात्र होइन बचत संकलन र ऋण भुक्तानी लगायतका विविध सेवाहरु संस्थामार्फत उपभोग गर्न सकुन । हामीले नगदमा अत्यधिक भर पर्ने प्रचलनलाई निरुत्साहित गर्नुपर्छ । यसका लागी साकोसहरुले हाम्रा सदस्यलाई प्रविधिगत शिक्षा प्रदान गर्नुपर्छ । हाम्रो अनुभवले पनि के भन्छ भने यस्ता प्रविधिहरु उपलब्ध भएपनि कतिपय सदस्यहरुलाई त्यसको प्रयोगका बारेमा जानकारी नहुन सक्छ । अर्को भनेको सदस्यहरुको संकटलाई जितेर तुरुन्त पुनः लयमा फर्किन्छु भन्ने क्षमता हो । सदस्यहरुमा यस्तो संकटको समाधान आफै गर्न सक्ने सक्षमताको विकास हो । भविष्य कस्तो हुन्छ भन्नेमा अहिले सदस्यहरु चिन्तित छन् । उनीहरु तनावमा छन्, चिन्तित छन् । यो मानसिक स्वास्थ्य बाहेक वित्तीय स्वास्थ्यका विषयमा पनि उनीहरुमा तनाव छ । उनीहरुसँग आकस्मित बचत छैन । त्यही भएर हामीले सदस्य शिक्षामा अनिवार्य वित्तीय परामर्शलाई समावेश गर्नुपर्छ जसमा कम्तिमा ६ महिनाको खर्च तथा आम्दानीको सही विश्लेषण गर्न सिकाउनुपर्छ । यसरी प्रशिक्षित ग¥यौ भने मात्र सदस्यहरु यस्तो संकट आफै समाधानका लागि सक्षम हुनेछन् ।

जहाँसम्म कर्मचारीको कुरा छ यसमा रोजगारी सुरक्षा, घरबाटै काम गर्ने वातावरण, उच्च आत्मबल, व्यक्तिगत स्वास्थ्य सुरक्षा जस्ता विषय समेटिन्छ ।

रोजगारी सुरक्षा र मनोबलका सम्बन्धमा हामीले उनीहरुलाई उपलब्ध सेवासुविधा बिना कुनै कटौती पाइरहेको सुनिश्चित गर्नुपर्छ । उनीहरुको रोजगारी निरन्तरता सुनिश्चित गर्नुपर्छ । उनीहरुको सेवा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिनुपर्छ । सिर्जनात्मक तवरले उपलब्ध कर्मचारीहरुको प्रयोग गरेर सदस्यहरुसँगको पहुँच कायम राख्नुपर्छ । हामीले पारदर्शिता कायम गर्नुपर्छ । त्यस्तै, साकोसहरुले व्यवसाय निरन्तरता योजना (बीसीपी) तयार गर्नुपर्छ । साकोसका व्यबस्थापकहरुको रुपमा तपाईहरुले संस्था भित्र र बाहिर गर्ने हरेक सञ्चार सकारात्मक हुनुपर्छ । त्यस्तै, हामी अहिले लचकता पनि कायम गर्नुपर्छ । भर्चुअल भेटघाटलाई बाक्लो बनाउनुपर्छ । अर्को विषय भनेको घरबाट कामका चुनौतीहरु हुन् । मलाई थाहा छ तपाईहरु यो गरिरहनुभएको छ तर यसका लागि नीतिगत व्यबस्था आवश्यक छ । सबै कर्मचारीलाई घर पठाएर ल अब तपाईहरु घरबाट काम गर्नुहोस् भनेर हुँदैन । यस सम्बन्धमा घरबाट कसरी काम गर्न सकिन्छ भन्ने स्पष्ट नीतिगत व्यबस्था हुनुपर्छ । अर्को भनेको अफिसमा काम गर्ने कर्मचारीको स्वास्थ्य सुरक्षा हो । सबै कर्मचारीलाई पीपीई उपलब्ध गराउने, व्यक्तिगत भेटघाट बन्द गरेर डिजिटल भेटघाटको व्यबस्था मिलाउने ।

अबको विषय भनेको संस्थागत असर र सुझावको विषय छ । पहिलो भनेको विपद् तयारी हो जसअन्तर्गतग बीसीपीको कुरा आउँछ । बीसीपी भन्नाले कोभिड जस्ता विपद्को समयमा सम्भावित जोखिम र चुनौती सामनार्थ रोकथाम र सामान्य अवस्थामा फर्कने प्रक्रियाको विकासलाई बुझाउँदछ । बीसीपीको मुख्य लक्ष्य भनेको विपद् पूर्व र विपद्को समयमा सञ्चालन निरन्तरता कायम गर्नु हो । बीसीपीले विपद्का समयमा व्यबसाय निरन्तरताको योजना पस्कन्छ । यसले जोखिम व्यबस्थापन गर्न र वैकल्पिक उपायहरु अबलम्बन गर्न सिकाउँछ । बीसीपी भित्र असरहरु, जोखिमहरु र समाधानका उपायहरु समावेश हुन्छ । पहिलो काम भनेको विपद्ले व्यबसायमा पार्ने असरहरुको पहिचान गर्नु हो । यसका बारेमा क्रेडिट युनियन बिजनेश सोलुसन नं २७ मा उल्लेख छ । दोस्रो काम भनेको जोखिका क्षेत्रहरु पहिचान र सबैभन्दा महत्वपूर्ण अन्तिम काम भनेको प्रतिक्रिया वा संस्थाले चाल्नुपर्ने कदमहरु हो । यी तिन पक्ष वा क्षेत्रहरुमा तपाईहरु केन्द्रित हुनुपर्छ । अर्को भनेको कार्ययोजना हो जसमा कसले के काम कहिले गर्ने भन्ने निर्दिष्ट हुनुपर्छ । ध्यानमा राख्नुपर्ने कुरा के हो भने बीसीपी खाली विपद् रहँदासम्मका लागि अल्पकालीन योजना हो, विपदु अन्त्यभएपछि फेरि संस्थाले पहिला बनाएका रणनीतिक योजनाहरुलाई समयानुकुल परिमार्जन वा संशोधन गरेर लागु गर्नुपर्छ । बिना मास्क अब तपाई अफिस वा बाहिर जानु हुन्न । पहिला जस्तो साथीभाई र अरु मानिसलाई छुनुहुन्न किनकि त्यो व्यक्ति भाइरस संक्रमित हुन सक्छ । खोप विकसित भएपनि तपाईमा आशंका रहन्छ । अन्तर्राष्ट्रिय भ्रमणहरु पहिला जस्ता हुनेछैनन ।
अब म तरलता व्यबस्थापनमा जान चाहन्छु । म खुसी छु कि नेपालमा साकोसहरुलाई अहिले तरलता संकट छैन । यसको मतलब फरक खालको संकट छ । अधिक तरलता कसरी उपयोग गर्ने वा लगानी गर्ने भन्ने प्रश्न केही साकोसहरुले हामीलाई राखेका छन् । डिजिटाइजेसनलाई गति दिन हामीले नेफ्स्कूनलाई पनि आग्रह गरिरहेका छौं । त्यस्तै, लगानीको विषयमा हामीले सदस्यलाई धेरै ऋणको भार बोकाउने सर्तमा अहिले नयाँ लगानी नगर्नुहोस् भनेका छौं । आकस्मिक ऋणहरु अब रोक्नुहोस् । व्यबसाय र कृषकहरुलाई ऋण दिनुहोस् । लगानी प्रक्रिया पुनर्मुल्याङ्कन र संशोधन गर्नुहोस् । व्यवसाय विकास सेवालाई लगानीमा एकीकृत गर्नुहोस् । ऋणको पोर्टफोलियो पुनर्सरचना गर्नुहोस् । सबै सदस्यलाई होइन संकटबाट प्रभावित सदस्यहरुका लागि मात्र ऋण पुनर्सरचना वा पुनलगानीको व्यबस्था गर्नुहोस् । व्यबस्थापकहरुले लकडाउनका कारण प्रभावित ऋणहरु र पुनर्सम्झौता सम्बन्धमा सञ्चालक समितिमा पारदर्शी ढंगले जानकारी गराउनुपर्दछ । बचतको विषयमा वित्तीय परामर्श र वित्तीय साक्षरता तालिमका साथै सबै सदस्यहरुका लागि अनिवार्य आकस्मिक बचत (कम्तिमा ६ महिनाको पारिवारिक खर्च धान्ने रकम बराबरको ) कार्यक्रम लागू गर्नुपर्छ जुन बचत विपद् बाहेकका अबस्थामा झिक्न नमिल्ने व्यबस्था गरिनुपर्दछ ।

अर्को विषय आम्दानी हो । त्यसका लागि सहकारीमार्फत लघु उद्यम प्रवद्र्धन गर्ने ऋण सेवा विकास गर्नुपर्छ । सदस्यहरुको व्यबसाय सफलतामा सहयोग किसिमका प्रवद्र्धनात्मक काममा सहयोग गर्न सकिन्छ । बाहिरी ऋण छ भने पुनर्सम्झौता गर्ने समय अहिले हो । नेपालमा साकोसहरुलाई त्यसमा समस्या छैन किनभने उनीहरुको ऋण नेफ्स्कूनसँग छ । त्यही भएर नेपालका साकोसहरुसँग तरलता समस्या पनि छैन । सञ्चालन तथा पुँजीगत र्खचहरुमा सकेसम्म कम गर्नुहोस् । यो समय तपाईहरुको पीपीई, स्यानिटाइजर, मास्क लगायत अतिरिक्त खर्चहरु छन् । स्थीर सम्पति जोड्ने योजनाहरु अहिलेलाई पर सार्नुहोस् ।

संस्थागत पुँजी कुल सम्पत्तिको अनुपातमा १० प्रतिशत कायम राख्ने कोशिस गर्नुहोस् । संकटका समयमा वित्तीय सन्तुलन र आरामका लागि पनि यो आवश्यक छ । एक्सेसमा गएकाहरुलाई यसमा धेरै समस्या नहुन सक्छ । सबै साकोसहरुले के बुझ्नुपर्छ भने हामीसँग १० प्रतिशत संस्थागत पुँजी छ भने हामीले अहिले चिन्ता गर्नुपर्दैन । हामी बलियो छौं । सुशासनको विषयमा पनि सञ्चालक समिति यो समयमा थप सक्रिय भएर काम गर्न सक्छ भन्ने सुनिश्चित गर्नुपर्दछ यो अहिलेको समस्यमा एकदमै महत्वपूर्ण छ खासगरी बीसीपी लागू गरिएको छ भन्ने विषयमा । त्यस्तै, कानूनी संहिताको पालनामा पनि कमी आउन दिनुहुदैन ।

अन्त्यमा, संकटको समयमा पनि हाम्रो भूमिकामा केही कमी आउँदैन । सदस्यहरुका इच्छा, आकांक्षाहरुको सम्बोधन गर्ने काममा हामीले मार्गनिर्देश जारी गर्ने, अतिरिक्त सहयोग उपलब्ध गराउने काम गरिरहेका छौं । नेफ्स्कूनले सञ्जाल व्यबस्थापन कुशलतापूर्वक गरिरहेको छ । बेविनार आयोजना गरेर भेटघाटको अवसरका साथै संकटको सामनाका विषयमा छलफल चलाउने नेफ्स्कूनको यो राम्रो काम हो । अकू पनि सधै तपाईहरुको साथमा छ । अकूबाट यो समयमा तपाईहरुले के कस्तो भूमिकाको अपेक्षा गर्नुभएको छ भन्ने सम्बन्धमा सल्लाह सुझावको अपेक्षा गर्दछु ।

धन्यवाद ।

अभिलेख

लोकप्रिय