गजब छ, दिनमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा १०० वटा समाचार बनीरहँदा ९० वटा जतिमा सहकारीकै हुने गरेका छन् । सामाजिक सञ्जाल जताततै सहकारीका बिषयले तातेको छ वा प्राथमिकता पाएको छ । सकारात्मक समाचार सुन्न वा पढ्नका लागि वास्तविक अभियन्ताहरु खोजी खोजी समाचार पढीरहेका छन् । आजकल यस्तो समयमा सुन्न वा पढ्न प्रायः मुस्किल बनेको छ ।
देशभर ३१ हजार सहकारी संस्थाहरु छन् भन्ने सहकारी विभागको भनाइ छ । अभियानको भनाई र भाषण सुन्ने हो भने पनि करिब ३ प्रतिशत सहकारीमा समस्या देखिएका छन् । तर पत्याउने कसरी ? आधार के ? वास्तविक सहकारी कति छन् ? यतिको संख्यामा सहकारी सञ्चालनमा वास्तवमै छन् त? भन्ने शंका पनि गर्न सकिन्छ । नेपालमा कति सहकारी सञ्चालनमा छन् त भन्ने यकिन तथ्यांक उपल्लो नियमनकारी निकाय सहकारी विभागले ढुक्क भएर भन्न सक्नेवाला छैन ।
राज्यको माथिल्लो निकायको त यस्तो अवस्था छ भने अभियानको छाता संघ राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून लगायत केन्द्रीय संघहरु, प्रदेश संघ, जिल्ला सहकारी संघ र बिषयगत संघहरुमा आफ्ना जिल्लामा सहकारीको अवस्था के कस्तो छ? भन्ने सम्मको ज्ञान होला जस्तो लाग्दैन । यसमा कसैको चासो र चिन्ता नै छैन । कुनै फोरमहरुमा गएर आफ्ना अनुकुल हुनेगरी भाषण गर्ने, आफु अनुकुल हुनेगरी राय राख्ने, मिले मिलोस् नमिले केही छैन तर माखो समेत नमार्ने गरी लामो निन्द्रामा बसे जस्तो गरी आदर्शका कुरा गर्नेहरु अभियानकर्मी भए पछि के को सहकारी अभियान अगाडि बढ्छ ? विगत २ वर्षदेखि विभिन्न बहानामा सहकारीका क्षेत्रमा केही न केही नकारात्मक बिषयहरु प्रवेश हुँदै सहकारी क्षेत्रमा माखे साग्लो जत्तिकै विभिन्न बिषयहरुले घेरिएको छ ।
यस्ता विषयहरु आइरहँदा सहकारी क्षेत्रको मात्र काम गर्ने राज्यको निकाय सहकारी विभाग, मन्त्रालय, अभियानको महासंघ, केन्द्रीय संघ, प्रदेश र जिल्ला संघहरुको भूमिका हेर्न लायक नै भएको छ । कुन ठाउँबाट सुरु गर्ने, वास्तविक समस्याहरु के के छन् भन्नेसम्मको पनि हालसम्म कुनै निक्र्यौल गर्न किन कन्जुस्याँई गरेको होला भन्ने बिषयहरुका बारेमा कुराहरु आउन थालेका छन् । यसो हेर्दा सहकारी अभियानको सकारात्मक कुरा गर्ने र अभियानलाई सुद्धिकरण र प्रवद्र्धन गर्नेहरुको संख्या नै पो कमी भएको पो हो की भन्न मिल्ने नै देखिन थालेको छ ।
राजनैतिक आडबाट पदीय भूमिकामा रहने पद हडप्ने अनि हालको सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि जरैसम्म गएर केही विश्लेषण गर्न समेत नसक्ने, सहकारीका आधारभूत बिषयहरु सहकारीका सिद्धान्त, मूल्य, मान्यता, दर्शन, आदर्शका बारेमा अत्तो न पत्तोको रुपमा केही बोल्न नपर्नेहरुको बिगबिगी भएका कारण पनि यो सहकारीका समस्याहरु जस्ताको तस्तै रहेको हो भन्ने आधारहरु रहेका छन् । अभियानका नेतृत्वमा पुगेकाहरुका आफ्ना प्रारम्भिक संस्थाहरुको हालत, अवस्था, भूमिका र जिम्मेवारीहरुका बारेमा नियमनकारी निकायहरुबाट अनुगमन, नियमन गर्ने र विश्लेषण गर्ने हो भने यि र यस्ता बिषयहरु प्रष्टै देखिने गर्दछन । हामीले चाहेका हाल सहकारी क्षेत्रमा देखिएका समस्या तथा यसका समाधान हो ।
के राज्यको सहकारी क्षेत्र हेर्ने निकाय यस्ता समस्या समाधानका लागि लागिरहेको छ त? अभियानलाई विश्वास दिलाउनका लागि के कस्तो पहल भयो? यी प्रश्नको जवाफ विश्वास गर्न लायकको आधारहरु कहीँ कतै भेटिएको छैन । नियमनकारी निकायले हालसम्म एउटा रोडम्याप तयार गरी यति समय भित्र हामी यो यो तरिकाबाट काम गर्छौं र यति समय भित्र सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्छौं भन्ने बिषय यस अवधिमा आइसक्नु पथ्र्यो ।
तर यहाँ त सहकारी क्षेत्रका समस्याहरु यो यो हो भन्नेसम्मको पनि जानकारी नियमनकारी निकाय र अभियानले गरेको देखिँदैन । यसको मतलब राज्य पनि यो क्षेत्रको समस्या चाडो भन्दा चाडो सुल्झाउन चाहँदैन भन्न किन नमिल्ने? अभियानमा रहेका मानिसहरु राजनैतिक आडका कारण पद हत्याउने, राज्यको नियमनकारी निकाय वास्ता नगर्ने अनि सहकारी कसले जोगाइदिने ? सकारात्मक रुपले सहकारी क्षेत्रमा सुधार ल्याउनु पर्दछ भन्नेहरु विस्तारै पाखा लगाउने योजना समेत भएका कारण पनि यो क्षेत्र चाडो समस्या सुल्झिएला भन्ने आशा गर्न सकिन्न ।
अहिले यो क्षेत्र सुधारका लागि धेरै भाषण र अन्ट सन्ट कुराहरुको आवश्यकता छैन । जानेका बिषयहरु मात्र मिठो र छोटो तरिकाले मात्र राख्दा सहकारीमा केही सुधारको आशा पलाउन सक्छ । अहिले पनि सहकारी क्षेत्रमा कार्यकारी भूमिकामा रहेर तलबी कर्मचारी भई कार्य गरिरहेका अनेकौं दृष्टान्तहरु देखिएका छन् । एकाघरका परिवारहरु सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा देखिन्छन् ।
सहकारी ऐन, मापदण्ड विपरित समय समयमा जारी भएका निर्देशन विपरित समितिमा नै रहेर कार्यहरु गरिरहेका पाइएको छ । २ देखि ३ वटा सहकारी संस्थाको सञ्चालक समितिको पदमा रहि सुशासनको बारेमा भाषण गरिरहेको देखिन्छ । सीमितमा रहने अनि आफ्नै लागि ऋण व्यवस्थापनका गर्दै अपचलन हुँदै आइरहेको देखिन्छ । एउटै व्यक्ति अभियानमा एकपछि अर्को स्थानमा पदिय भूमिकामा रहेर कार्य गरिरहेको देखिन्छ । यहाँ कसैले कसैको बारेमा केही बोल्नेवाला छैन । तै चुप मै चुप । किन यस्तो भइरहेको छ ? यस्तै प्रवृती भएका कारण यहाँ सिंगो सहकारी क्षेत्र नै बदनाम हुन पुगेको छ । नियमनकारी निकाय मौन छ । कसैले नियमनको र अनुगमनको काम गर्न त के वास्ता र समस्या बुझ्न समेत कोशिस गर्दैन ।
(लेखक जिल्ला सहकारी संघ, काभ्रेका निवर्तमान अध्यक्ष हुन्)