२९ श्रावण २०७७, बिहीबार

सहकारीकर्मी !

१० बैशाख २०७७, बुधबार
सहकारीकर्मी !

सहकारिता स्वावलम्बीहरूको आन्दोलन हो । स्वावलम्बीहरू परिश्रमी हुन्छन् । कवि मोहन कोइरालाले पसिनाको कविता सुनाउनुहुन्थ्यो । पसिनाको मूल्य सर्वाेपरि हुन्छ । वास्तवमा पसिना अमूल्य हुन्छ ।

परिश्रम बिनाको जीवन त निःसार हुन्छ; दिग्भ्रमित औ व्यर्थ हुन्छ । परिश्रमीले अर्काको परिश्रमको पनि त्यत्तिकै सम्मान गर्दछ । उसका लागि अर्काको परिश्रममा बाँच्नु मरेतुल्य हुन्छ । त्यसकारण उसले अर्काको परिश्रमको मूल्य तोक्दैन; पैसामा पसिना खरिद गर्दैन । उसका दृष्टिमा त श्रमको खरिदारीमा शोषण हुन्छ ।

श्रम र सेवाको सुक्ष्म भेद गाईपालकको उदाहरणमा खुल्दछ । गाई पाल्ने सहकारीकर्मीले गाई बिरामी नपरून् भनी खोप लगाउन प्राविधिक डाक्दछन् । त्यस्तै, भकारो सुधारका लागि आफ्नो ढङ्ग नपुगे सिकर्मीको सहयोग लिन्छन् । सक्न छाडियो भनेर गोठालो भने राख्दैनन् । कारण प्राविधिक र सिकर्मीको सेवा हो, जसको मूल्य हुन्छ; गोठालोको श्रम हो, जो अमूल्य मानिन्छ । आफैँले गोठाली गरिएन भने परिश्रमीमा गनिन्न । परिश्रमबिना बाँचे जस्तै होइन्न ।

‘भनेजति पैसा दिएर गोठालो राख्दा शोषण कसरी हुन्छ ?’ भन्नेहरु गरिखाने होईनन्, पराश्रयी हुन् । स्वावलम्बीहरू पैसाको धाकमा अर्काको बुई चढ्दैनन् । आफ्नै खुटृामा टेकेर गन्तव्यमा पुग्ने वर्ग हुन्— सहकारी आन्दोलनकारीहरू ।

त्यसै गरी स्वावलम्बीहरूलाई बसी–बसी नाफा खान मन लाग्दैन । ‘आफ्नो पैसा लगानी गरेर नाफा कमाउनु नराम्रो हो र !’ भन्नेहरू सम्पत्तिको भाडामा बाँच्दछन् । स्वावलम्बीहरूलाई त्यस्तो सित्तैको जीवन चाहिँदैन । आफैँले आफ्नो श्रममा लगाएको पुँजीमा मात्र अर्काको श्रमको नाफा जोडिने हुँदैन । अर्काको श्रममा परिचालित पुँजीमा जम्मा हुने नाफा खासमा आफ्नो होइन । अर्काको भाग खानु शोषण हो ।

एवं रीतले अर्काको उत्पादनमा ‘खेलो’ गरेर खाने वर्गमा पनि स्वावलम्बी पर्दैनन् । आफ्नो उपभोगका लागि अर्काको उत्पादन उचित मूल्यमा बजारमा किनिन्छ । आफ्नोउत्पादन उचित मूल्यमा बजारमा बेचिन्छ पनि । उत्पादक र उपभोक्ताको बीचमा बसेर बेपार भने कहिल्यै गरिँदैन । कारण त्यहाँ शोषण हुन्छ ।

‘बजारमा चलेको मूल्यमा किनेर चलेकै मूल्यमा बेच्दा कसरी मर्का पर्दछ भन्नेहरूले पैसाको हिसाबमात्र जान्दछन् । फलाउनुको मूल्य अर्कै हुन्छ; बनाउनुको महत्व पनि अर्कै हुन्छ । उपभोक्तासँग उपरि मूल्य लिनु शोषण हो अनि उत्पादकलाई पूरा मूल्य नदिनु पनि शोषणै त हो ।

परिश्रममा रमाउने, शोषण देख्न नसक्ने र मानवीय सम्बन्धहरूको खोजी गर्दै हिड्ने सहकारीकर्मीहरू को हुन् ?

मद्दत गर्ने उपकार नगर्ने, पुँजी प्रयोग गर्ने लगानी नगर्ने, उत्पादन गरेर बेच्ने अनि किनेर उपभोग पनि गर्ने तर किनीबेची नगर्ने — सहकारी अभियन्ताहरू विलक्षणका लाग्दछन् । उनीहरू अर्काको रोजगारी नगर्ने रोजगार हुन् र अर्कालाई कामदार नराख्ने उद्यमी पनि हुन् । कसैलाई कामदार नराखेर उद्योगधन्दा कसरी चल्ला ?

गाईपालककै उदाहरणमा फर्कने हो भने सहकारीकर्मीका परिवारका सदस्यहरू मिलेर गोठाली आफैँ गर्दछन्; अर्कालाई गोठालो राख्दैनन् । कतैका कोही ‘गोठालो बस्छु’ भनेर आएकै खण्डमा धरि ‘हुन्छ’ भन्दैनन् । उल्टै उनलाई पनि आफूले गरेझैँ गाईपालन गर्ने सुझाउ दिन्छन्, जो–चाहिने सहयोग गर्दछन् र पराधीन होइन मालिक बनेर जीविकोपार्जन गर्ने बाटो देखाउँदछन् ।

त्यसो भए सहकारीकर्मीहरूले गाई पालेर खाइखेतीमा सीमित हुनुपर्ने अवस्था हुँदैन ? हुँदैन । बथान बढेसँगै यान्त्रीकरण गर्दै गइन्छ । दूध दुहुने, आहारा तयार पार्ने, भकारो सफा गर्ने— एकपछि अर्काे प्रयोजनमा उपकरणको सहयोग लिइन्छ । कुँडो पकाउने सुविधा, गोठको अवस्था, पानी, बिजुलीको व्यवस्थालगायतको स्वाभाविक स्तरोन्नति हुन्छ । त्यस्तै, प्राविधिक रेखदेख, दाना प्राप्ति, दूध सङ्कलन, प्रशोधन, बजारीकरणजस्ता साझा उपयोगका सेवा, सुविधाहरू संस्थाको तहमा मिलाइन्छ । त्यसरी प्रत्येक सदस्यले सयौँ नभए दशौँ गुना आम्दानी बढाएर संवृद्धि प्राप्त गर्दछन् ।

सहकारितामा सम्पन्न भइयो भनेर स्वावलम्बनको अभ्यास गर्न छाडिँदैन; छाडियो भने विलासमा झरिन्छ । सहकारी सदस्यहरूमा सम्पन्न भएर बाँच्ने आकाङ्क्षा अवश्य हुन्छ तर धनाड्य बन्ने महत्वाकाङ्क्षा हुँदैन । आफूलाई भएपछि पुग्ने स्वार्थी उनीहरू होइनन्; अरूलाई पनि हुनुपर्दछ भन्ने सहयोगी हुन् । सबै जना सँगसँगै सम्पन्न बनेर, प्रकृति–मैत्री उत्पादन एवं उपभोगको तरिका रोजेर अनि मानवीय मूल्यहरूको जगेर्ना गरेर बाँच्ने ध्येय उनीहरूको हो । Plockboy, Bellers, Owen, Dr. King, रोचडेली अगुवाको पदचिह्न खोज्दै आज पनि उनीहरू समुदाय बनाउने अभियानमै छन् ।

प्रकारान्तरले सहकारी संस्था खोल्दैमा अथवा खोलिएको संस्थाको सदस्य बन्दैमा सहकारीकर्मी होइन्न । माथी तालिका दायाँपटिृ जनाइएका व्यक्तिहरूले स्वावलम्बन र पारस्परिकताको अभ्यास गर्न सक्तैनन् । बिचौलियाले उत्पादकसँग सस्तोमा किनेर अनि उपभोक्तालाई महङ्गोमा बेचेर नाफा खान खोज्दछ । आफ्नो स्वभावले गर्दा ऊ शोषणरहित आर्थिक सम्बन्धहरू स्थापना गर्ने सहकारी आन्दोलनमा सहभागी हुने कुरै आउँदैन । त्यस्तै, कल्याणकर्ता ठालु पल्टिन्छ भने लगानीकर्ता वा रोजगारदाता परिश्रमी हुँदैन ।

रोजगार पनि सहकारीकर्मी होइन । किनभने ऊ अधीनस्थ हुन्छ; स्वतन्त्र हुँदैन । रोजगारहरूको त श्रम सङ्गठन बन्दछ; सहकारी सङ्गठन बन्दैन । त्यसो भए सहकारिताको अभ्यासकर्ता को हुन्त ?

सहकारीकर्मी तीनथरी हुन्छन् : प्राथमिक उत्पादक (Primary producers), वास्तविक कामदार (Actual workers) र आम उपभोक्ता (Bonafide consumers) ।

स्रोतः सहकारिता

अभिलेख

लोकप्रिय