२ भाद्र २०७९, बिहीबार

सहकारी पहिचान सहितको ‘कोप कार्ड’ सेवाको सुरुवात

२० श्रावण २०७९, शुक्रबार
सहकारी पहिचान सहितको ‘कोप कार्ड’ सेवाको सुरुवात

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले सहकारी संस्थाहरुको लागि सहकारी पहिचान सहितको ‘कोप कार्ड’को सेवा सञ्चालनमा ल्याएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसरमा आयोजित एक समारोहको बीच सेवाको उद्घाटन गरी शुभारम्भ गरिएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम कार्ड, स्मार्टक्यूआर र मोवाइल बैंकिङमार्फत आफनो सेवा दिँदै आएकोे छ ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुविधा पुर्‍याउँदै आएकोमा हाल बढ्दै गएको सहकारीको भूमिका र कारोबारसमेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रिया मिलाईएकोे टेक्नोलोजिजले जनाएको छ ।

विगत केहि समय अगाडिदेखि एससीटीले १ सयभन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइ सकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्‍याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गर्न लागेको हो ।

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएमरपीओएस जुनसुकै स्थानबाट सहजै चलाउन सकिनेछ । यो कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरुले जारी गर्नेछन् । यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरि कोप कार्ड जारी गर्न सक्नेछन् ।

बिहीबार इटहरी स्थित महिला साकोस र ललितपुर स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाबाट कोप कार्डको सेवा सुरु भएको छ ।

सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आवद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएममार्फत रकम निकाल्न सक्ने छन् भने, पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिकरुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोबारको लागि बैंक गइरहनु पर्ने बाध्यतावाट मुक्त हुने अपेक्षा गरिएको छ । साथै सहकारीहरुको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

कार्ड शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सेवालाई थप प्रविधिमैत्री बनाउन कोप कार्डले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले सहकारीमा प्रविधिको महत्व र उपयोगिताबारे प्रतिवेदन प्रस्तुत गर्दै कोप कार्डको सेवाले सहकारीहरुलाई विद्युतीय कारोबार गर्न थप प्रविधियुक्त सुविधाहरू दिँदै जाने र सहकारीहरुलाई अझ सवल बनाउँदै जाने विश्वास ब्यक्त गर्नुभयो । त्यस्तै, ग्लोबल आइएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले उक्त सहकार्यमा सहभागी भई सहकारी क्षेत्रमा पनि केहि टेवा पुर्याउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

त्यस्तै, स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने विश्वास व्यक्त गर्दै एससीटीले बैंक तथा वित्तीय संस्थासँग सधैँ सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । साथै उहाँले सेवा क्षेत्रमा प्रविधिको आवश्यकता रहँदै आएको सन्दर्भमा यस्ता सेवाहरू थपिँदै जाँदा संस्थाहरूको सेवा प्रविधियुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

अभिलेख

लोकप्रिय

x