काभ्रे : बनेपा-८, तीनदोबाटोमा केन्द्रीय कार्यालय रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालकै उत्कृष्ट बन्न सफल भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले ३६औं स्थापना दिवसको अवसरमा देशभरका सहकारी मध्ये चण्डेश्वरीलाई उत्कृष्ट संस्थाको रुपमा घोषणा गरेको हो । नेफ्स्कुनका निवर्तमान अध्यक्ष डि.बी. बस्नेत संयोजक रहेको समितिले चण्डेश्वरीलाई उत्कृष्ट संस्थाको रुपमा चयन गरेको हो ।
नेफस्कूनले ३६ औं स्थापना दिवस कार्यक्रममा घोषणा गरिएको पुरस्कार आगामी साधारण सभामा प्रदान गर्नेछ । चण्डेश्वरी बचतले गत वर्ष नेफ्स्कूनबाटै बागमती प्रदेशस्तरीय उत्कृष्ट संस्थाको पुरस्कार पाएको थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंकले पनि बागमती प्रदेश स्तरिय उत्कृष्ट संस्थाको सम्मान गत वर्ष प्रदान गरेको थियो ।
चण्डेश्वरी बचत गत वर्ष एक्सेस ब्राण्ड पाउने नेपालको एक मात्र सहकारी हो । २०७६मा नेपालका २६ वटा सहकारीले ब्राण्ड पाएकोमा गत वर्ष चण्डेश्वरीले मात्र ब्राण्ड पाएको थियो । यस वर्ष (2022-2023) एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत चण्डेश्वरीले एक्सेस ब्रोञ्ज (कास्य स्तर) ब्राण्ड प्राप्त गरेको थियो ।
असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ति १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । संस्थाको सेयर पुँजी ११ करोड १५ लाख, जगेडा कोष ११ करोड ९९ लाख, अन्य कोष ३६ लाख, बचत ९६ करोड ७२ लाख, लगानी १ अर्ब ३० लाख र कुल संस्थागत पुँजी ११ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
संस्थामा ९ हजार १ सय २२ जना सदस्य छन् ।