१२ आश्विन २०८०, शुक्रबार

उत्प्रेरित कर्मचारी, सुशासित सञ्चालक र सफल सहकारी

२८ भाद्र २०८०, बिहीबार
उत्प्रेरित कर्मचारी, सुशासित सञ्चालक र सफल सहकारी

विगतलाई वर्तमानसँग जोड्दा:
वि.सं. २०१३ सालमा चितवनको बखान सहकारी संस्थादर्ता सँगै सहकारी ऐन २०४८ पछिल्लो विवरण अनुसार २०७९ फागुनसम्म आइपुदा ३१,३७३ प्रारम्भिक सहकारी, १८ केन्द्रीय सहकारी संघ, १ राष्ट्रिय सहकारी बैंक र केन्द्रमा सहकारी अभियानको छाता संगठनको रूपमा राष्ट्रिय सहकारी महासंघ समेतको ठूलो सहकारी क्षेत्र स्थापित भएको छ । यसै वर्षसम्मको आँकडा हेर्दा यस क्षेत्रमा ३३,७७१ व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारी र लाखौंको संख्यामा प्रतक्ष वा परोक्ष रोजगारीको काइदा खडा भएको छ ।

प्राविधिक रूपमा सहकारी क्षेत्रले फड्‌को मार्दै गर्दा कारोबार र भुक्तानीलाई वित्तीय संस्थाहरूको आन्तरिक सञ्जालमा जोड्ने आवश्यक पूर्वाधार तयार हुन थालेका छन् । यसैले समुदायका छरिएर रहेको पुँजीलाई विद्यतीय कारोबारमार्फत एकीकृत गर्न सफल हुने क्रममा छ। सहकारीका विभिन्न काम कारवाहीहरू पनि भर्चुअल/अभौतिक उपस्थितिमा गर्न सकिने पनि भएको छ । जसले गर्दा सदस्यको समय बचत भई अरु आफ्ना काम निरन्तर गर्नलाई बाधा नपुग्ने भएको छ। यस बारे आम सहकारी सञ्चालक तथा सदस्यहरूले मनन गर्नुपर्दछ । कोभिड १९ पछि यस्ता प्राविधिक बैठक हुन थालेको र नेपालमा यस्तो अभौतिक (virtual) प्रणाली ठीक छैन भन्ने सोचाइ टुङ्गिएको छ ।

सहकारीमा उत्प्रेरणाको महत्व रहन्छ?
कुनैपनि व्यक्ति वा प्रणालीलाई कुनै काम गर्न वा नगर्नका निम्ति अग्रसर गराउने प्रेरक तत्वलाई उत्प्रेणा भनिन्छ । यो एउटा मनोवैज्ञानिक प्रक्रिया हो र यसले व्यक्ति विशेषको कार्यलाई सुनिश्चित गर्दछ। व्यक्तिले कुनै संख्यामा लगातार काम गर्नको लागि शक्ति दिन्छ ।

अंग्रेजी शब्द motivation ल्याटिन भाषाको mover बाट विकसित भएको हो । तसर्थ उत्प्रेरणाले व्यक्तिलाई सहकारी संस्थामा काम गर्न प्रेरक शक्ति दिन्छ । यसका महत्वहरूलाई केलाउँदा सहकारी कर्मचारीहरुलाई आन्तरिक इच्छा शक्ति बढाउन मद्दत गर्छ । कुनै कर्मचारीलाई सहकारीप्रति झुकाव उत्पन्न गराउँछ । संस्थामा रहेर निर्देशित लक्ष्यतर्फ अगाडी बढ्न आकर्षित तथा कृयाशिल बनाउँछ । व्यक्तिलाई मेरो आधार नै यही संस्था हो भन्ने महसुस गराउँछ । कुनैपनि कर्मचारीलाई (सहकारी भित्र वा बाहिर) कामको शिलशिलामा आन्तरिक वा बाह्य लक्ष्यतर्फ उन्मुख गराई भयबाट मुक्त गराउन सहज गर्दछ ।

सहकारीमा लगातार कर्मचारी काम छाड्ने वा संस्थाको कार्य विभाजनमा लगातार झमेला सिर्जना उत्पन्न हुँदै गर्दा उत्प्रेरणाको सहयोग लिई उक्त कर्मचारीलाई सुचारु बनाउन सहयोग पुग्दछ । यो सुन्नमा आउँछ कि कर्मचारीलाई ‘यो भएन त्यो भएन’ भनेर मानसिक दबाब दिइन्छ तर उसबाट के हुन सक्छ भनेर मनोवैज्ञानिक उत्प्रेरणा दिईदैन, त्यसो हुनाले यसतर्फ बुन्नु जरुरी छ । कर्मचारीलाई उद्देश्यमूलक काममा लागि दिन सञ्चालकले हेयको भावले नहेरी समकक्षी भावनाले व्यवहार गर्दा अझै राम्रो प्रतिफल देखिन्छ।

उत्प्रेरणाले कर्मचारीहरुको दक्षतालाई अभिवृद्धि गर्न सक्दछ। उनीहरूलाई मनोपरामर्श दिने, भविष्यमा सहकारीबाट के-कस्ता कुरामा आफूलाई अब्बल बनाउन सकिन्छ भनेर way outs (बाटोहरु) सुझाउन सकिन्छ । सहकारी प्रति हरेक कर्मचारीलाई दिगो भई कार्यभार ग्रहण गर्न प्रेरित गर्दछ। जसले गर्दा भविष्यमा आइपर्न सक्ने आर्थिक विचलनका घटनामा कमी तथा निर्मुल पार्न सकिन्छ ।

सहकारीमा कस्तो ब्यबहार वा असल अभ्यास चाहिन्छ ?
सहकारी संस्था सदैब सदस्यको फाइदा तथा चाहना अनुसार अग्रसर रहनुपर्छ। जहिले पनि सदस्यलाई अग्रभागमा राखेर सञ्चालन गर्नुपर्दछ । सुशासनका आधारभूत तत्वहरु सहकारी संस्थामा यथावत हुनुपर्दछ । सन्चालकहरु एक आपसमा मनमुटाब भई संस्थाको सदस्यलाई वा उनीहरुको जीवनका विभिन्न आयाममा समस्या पर्ने अवस्थामा लानुहुँदैन । मेरो आवाज सुनिन्छ र सम्बोधन गरिन्छ? भन्ने कुरामा विश्वास गर्न सकेको अबस्था हुनु पर्दछ ।

सहकारीको मूल मर्म ‘एकको लागि सबै, सबैको लागि एक’ भन्ने भावनामा अटल रही यसका मान्यता र सिद्धान्तलाई आत्मसात गरी सहकारी संस्था सञ्चालन गर्नुपर्दछ । सञ्चालकले हरेक विषयमा सदस्यहरुलाई चेतना वृद्धि गरी विधिको शासन चलाउन पर्दछ। यस्तो सुनिन्छ ‘सञ्चालक भित्रै पनि कतिपय विषयहरु छर्लङ नपारी Decision Making (निर्णय प्रक्रिया) गरिन्छ । यो अवस्था कदापी राम्रो हुँदैन । जब communication Gap हुन्छ, त्यस संख्याको अवस्थामा प्रतिकुल असर पुग्न सक्छ । सुचना माग्ने र दिने संस्कारको विकास गर्नुपर्छ । साधारण सभालाई बढी ढर्रा मा खर्चिलो बनाउँदा उक्त संस्था नै कमजोर हुन जान सक्छ । त्यसप्रति वुद्धिमत्ता व्यवहार गर्नुपर्छ । वार्षिक कार्यक्रम, रणनीतिक व्यवसायिक योजना, साधारण सभाको निर्णयानुसार चल्ने गरी गर्नुपर्छ ।

सहकारी संस्था समुदायसँग कहिल्यै टाढा रहन सक्दैन । तसर्थ समुदायको चासोको सिद्धान्त अनुसार महिला, जनजाति, समाजका न्यून वर्गको उत्थान एवं समुदायप्रति चासोको कार्यक्रम सञ्चालन गर्ने साथै सहकारीका अन्य सिद्धान्त साथै बचत तथा ऋण सहकारीका हकमा थप विश्व ऋण परिषद्ले जारी गरेको सिद्धान्तहरू तथा मूल्य मान्यतालाई संस्था चलाउने आधार बनाउन आवश्यक छ ।

संस्थाले अहिलेपनि कार्य सम्पादन गर्दा स्विकृत विनियम अनुसार सञ्चालन गर्ने, गराउने, आवश्यकता अनुसार साधारणसभा र नियामक निकायको (सहकारी विभाग, प्रदेश/संघका राष्ट्रीय सहकारी बैंक, NEFSCUN आदि) स्विकृतीमा विनियम संशोधन गरी विद्यमान तथा उदयीमान सबाललाई सम्बोधन गर्नुपर्दछ। हाल संस्थाहरु कोपोमिस प्रणाली तथा पर्ल्सको मापदण्ड अनु‌सार दिइएका सुचकहरु अनुसार संस्थाले कारोबार गर्नुपर्ने हुन्छ। ‘उसको’ वा मेरो’ भन्ने भावना त्यागी निश्पक्ष तथा उचित निर्णय गर्नुपर्दछ । सदस्यहरूमा अलि आधुनिक तथा प्राविधिक ज्ञान भएका वा सो बारेमा चासो राख्ने सञ्चालक वा सदस्यहरुलाई निरन्तर उत्प्रेरित गराउनु पर्दछ । त्यस्तै गरी आर्थिक रूपले मितव्ययी हुने बानीलाई आत्मसाथ गर्नुपर्दछ ।

सहकारी सामुदायिक भावनाको जगमा निर्माण भएको हुन्छ । जबसम्म सहकारका सदस्यमा सामुदायिक सोच तथा “सर्वजना हिताय: र सर्वजन सुखाय‌:” को भावना रहन्छ तबसम्म सहकारीमा समस्या आँउदैन । हरेक समस्यालाई मिहिन ढंगले विश्लेषण गरी कारण र कारक पता लगाई सोही बमोजिमको समाधानको उपाय अवलम्वन गर्न जरुरी छ । सहकारीले नेपालको सन्दर्भमा आर्थिक विकास र नेपाली समाजको विकासमा ठूलो योगदान दिएको छ । केही छिद्र‌हरु सबैमा हुन्छ जबकी चन्द्रमा मा पनि कालो धब्बा रहन्छ।

सहकारीको व्यवस्थापनका खिचातानीले अहिले पनि केही संख्याहरु आलोचित छन् । यी संस्था सम्बद्ध सदस्यको बचत डुबेको छ र कतिपय सदस्यहरु पीडाकै कारण मृत्युवरण गर्दैछन् । थोरै संख्या भित्र देखिएको आर्थिक विचलनले या गैर अनुशासनले राम्रा काम गर्ने सहकारी संस्था हरुलाई पनि अस्तित्वमा ठेस पुग्ने अवस्था देखिएको हो।यस तर्फ सबै सदस्यहरुले सही जानकारी लिनु वा दिनु आवश्यक छ।

सहकारी सुधार्न के-के गर्न सकिएला?
सहकारी संस्थाहरुलाई सुधार गर्न विभिन्न उपाय हुन सक्छन् । कुनैपनि संस्थाले लाभको लागि प्रतिष्पर्धा गर्नाले ऐक्यवद्धता कायम गर्न कठिलाई हुन्छ, सोतर्फ बिचार पुर्याउन पर्ने देखिन्छ। संस्थामा सानो र ठूलो हैसियत खोज्नाले असमझदारी बढिरहेको हुन सक्छ । सोतर्फ सञ्चालकहरु सचेत हुनुपर्छ । दिइएको काममा हुनसक्ने ढिला सुस्तिलाई समग्र सदस्यको पहलले कम गर्न सकिन्छ नकि यो उसक काम हो मैले किन गर्ने? भन्ने कुरालाई त्याग्नुपर्छ । दक्ष जनशक्तिलाई पाखा लगाई म नै रजाई गर्छु भन्ने कुरालाई बेलैमा हटाउनुपर्छ । “सबै ठाउँमा म नै जानुपर्छ” भन्ने भन्दा पनि सो कार्यक्रममा कुन सदस्यलाई पठाउँदा उपयुक्त रिजल्ट आउँछ सो बुझ्न आवश्यक छ । त्यस्तै गरेर काम प्रति विश्वास गर्न नसक्नु र थप जिम्मेवारी प्रदान गर्न नसक्नुले अगाडी बढ्न सकिदैन । सञ्चालक बैठकमा अनावश्यक होहल्ला गर्नु, कुन सदस्यले के भन्न खोजेको छ, सुन्ने धैर्यता नराख्नुले समस्या ल्याउने हुँदा सोतर्फ विचार पुयाउनुपर्ने देखिन्छ । बिना एजेण्डा मिटिङमा बस्ने, भत्ताको मात्र आश गर्ने प्रबृती त्याग्नुपर्छ। अभौतिक (virtual meeting) मिटि़ग गरेर भएपनि भत्ता लिनैपर्छ भन्ने मानसिकता कदापि राम्रो हुँदैन ।

नविनतम खोज गर्ने तथा अनुसन्धान गर्ने सदस्यलाई प्रोत्साहित गर्नुपर्दछ। सबै सदस्यलाई काममा स्वतन्त्रता नहुँदा समस्या हुन सक्छ । सोतर्फ ध्यान पुप्याउन उचित देखिन्छ। साझेदारी भावनालाई विकास गर्दै सकारात्मक वृहत छलफल, अध्ययन र समिक्षामार्फत सबै तह र तप्काका संघ/संस्थासँगको सहकार्यमा सहकारी संस्थाहरु लागि आम सदस्यलाई केन्द्रबिन्दुमा राखी अगाडी बढ्नुनै सहकारीको उज्ज्वल भविष्यको लागि मार्ग दर्शन हुन सक्दछ । धन्यवाद ।

(लेखक धादिङ मण्डली साकोस, कलंकी काठमाडौंका शिक्षा उपसमितिका संयोजक हुन्)

अभिलेख

लोकप्रिय