९ माघ २०७८, आईतवार

बागमती प्रोस्कूनको प्रथम साधारण सभा सम्पन्न, सहकारी संघ/संस्था सम्मानित

१९ मंसिर २०७८, आईतवार
बागमती प्रोस्कूनको प्रथम साधारण सभा सम्पन्न, सहकारी संघ/संस्था सम्मानित

बनेपा : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको प्रथम बार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष उद्धव सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभामुख श्रेष्ठले सहकारीले गरिबी निवारणमा मुख्य भूमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले सहकारीमा सुशासनको समस्या रहेको बताउनुभयो ।

आफैले कानुन बनाउदै तोड्दै जाने प्रवृति देखिएको भन्दै सभामुख श्रेष्ठले सुशासन महत्वपूर्ण कुरा भएको स्पष्ट पार्नुभयो । सदस्यले सहकारीको आवश्यकता महसुस हुनेगरी काम गर्नु पर्छ नत्र सहकारीको आवश्यकता छ की छैन सोच्नु पर्ने दिन आउँने तर्फ उहाँले सचेत गराउनुभयो । सहकारीले बचत तथा ऋणको मात्र काम गरेर ब्याजमात्र कमाउने नभइ उत्पादन तथा रोजगारसँग जोडेर जानुपर्ने उहाँको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले सबै सहकारीहरुले बचत तथा ऋणको मात्र काम गरेकोमा आपत्ति जनाउँदै मुख्य उद्धेश्यअनुरुप काम गर्न आग्रह गर्नुभयो । सबैले बचत तथा ऋणको मात्र काम गरेकोले आफ्नो मुख्य विषय र मुख्य उद्धेश्य अनुरुप काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संघका अध्यक्ष उद्धव सापकोटाले संघ दर्ताको समयमा प्रदेशका ८२ वटा संस्था बागमती प्रोस्कूनमा आबद्ध रहेको जानकारी दिनुभयो । उहाँले संघले सहकारीमा सुशासन ल्याउन महत्वपूर्ण भूमिका खेलेको, तालिम शिक्षालगायतको कार्य गरेको जानकारी सभामा गराउनुभयो ।

बागमती प्रदेश बचत संघले स्थानीय तहहरुमा सहकारी ऐन नियम निर्माणका लागि सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले सहकारीले सदस्यको धितो दृष्टिबन्धक गर्दा लाग्ने शुल्क महंगो भएको कारण संस्था र सदस्य मर्कामा परेको भन्दै प्रमुख अतिथि र अतिथिहरुको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पहिला २५ सय शुल्क लाग्ने ठाँउमा हाल ८ हजार, ५ हजार शुल्क लाग्नेमा ५० हजार र ६५ हजार शुल्क लाग्ने ठाँउमा १ लाख २५ हजार शुल्क लिने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो । अन्य प्रदेश र संघीय सरकारले पनि नलिने शुल्क बागमती प्रदेशले लिएर अन्याय गरेकोले तत्काल संशोधन हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले सहकारीले तिरेको कर सहकारीकै प्रवर्धनका लागि राज्यले खर्च गर्नु पर्ने पनि माग गर्नुभयो ।

यसैबीच साधारण सभाको अवसरमा संघले विभिन्न संघ/संस्था तथा व्यक्तिलाई प्रमुख अतिथिबाट सम्मानित समेत गरेको छ । संघले जिल्ला संघहरुमा काभ्रेपलाञ्चोक जिल्ला बचत संघ, प्रदेश उत्कृष्ट संस्थामा सामुदायिकक बचत तथा ऋण सहकारी संस्था तथा उत्कृष्ट संस्थामा दोलखाको जिरीस्थित एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थालाई सम्मानित गरेको छ । यस्तै, नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालाई सहकारी विद्वता व्यक्तित्वबाट सम्मानित गरिएको थियो ।

संघका कोषाध्यक्ष टापबहादुर श्रेष्ठले संघको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक केशवप्रसाद दंगालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रम संघका महासचिव जिवसराज खड्काले संचालन गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय