३० वैशाख २०८२, मङ्गलबार

सहकारीको प्रवद्र्धन गर्न साझा धारणा बनाएर अगाडि बढ्छौं : अध्यक्ष कंडेल

२०७६ पुष २७, आईतवार
सहकारीको प्रवद्र्धन गर्न साझा धारणा बनाएर अगाडि बढ्छौं : अध्यक्ष कंडेल

काठमाडौं, २७ पुस ।

राष्ट्रिय सहकारी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष मिनराज कंडेलले नेपालको समग्र सहकारी अभियान थप सफलताका लागि साझा धारणा बनाएर सहकारीमार्फत उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धनका काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय सहकारी बैंकले राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र जिल्ला सहकारी संघ काठमाडौंका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा शुभकामना दिन आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष कंडेलले यस्तो बताएका हुन् ।

देशभरका सहकारीहरुको छाता संगठनका रुपमा महासंघले सहकारीहरुका साझा समस्याको पहिचान, समाधान र उनीहरुको कामको प्रभावकारिताका विषयमा ध्यान दिएर अगाडि बढ्ने धारणा राखे ।

उनले सहकारीका सबै तहसँग समन्वय गरी आगामी दिनमा अगाडि बढ्ने र त्यसको संयोजन महासंघले गर्ने बताए । सहकारी ऐनसँग बाझिएका अन्य ऐनहरुका कारण सहकारीले उत्पादन लगायत रोजगारी सिर्जनामा सहजताका साथ काम गर्न नपाएको भन्दै उहाँले छिटो भन्दा छिटो ऐन संशोधनका लागि पहल गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, लेखा समितिका संयोजक धर्मदत्त देवकोटा, उपाध्यक्ष तथा बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायतले सहकारी संघ संस्थाहरुको प्रभावकारिताका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारीका छाता संगठनहरुले गर्ने कार्यक्रम तथा कारोबारमा दोहोरोपनाका कारण भएका समस्या समाधान गर्न सबैका बीचमा सहकार्य आवश्यक रहेको बताए ।

सहकारीमार्फत समृद्ध समाज निर्माणका लागि छाता संगठनहरुमा रहेको श्रोतलाई थप प्रभावकारी बनाउन तथा प्रविधि र नीति निर्माणमा साझेदारी गरेर अगाडि बढ्नका लागि सबैसंग आव्हान गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको संक्षिप्त परिचय र सहकारीको भावी कार्यदिशा विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमका सहभागीहरुले सहकारीमा देखिएका समस्याहरुको पहिचान, योजना र समस्या समाधान गर्ने प्रतिवद्धताका साथ अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीको स्वागत र बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकले राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र जिल्ला सहकारी संघ काठमाडौंका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा ओढाएर वधाई तथा कार्यकाल सफलताको शुभकामना प्रदान गरिएको थियो ।

अभिलेख

लोकप्रिय