७ बैशाख २०८१, शुक्रबार

सहकारी लेखापरीक्षणमा गम्भिर हुन आग्रह

१७ चैत्र २०७०, सोमबार
सहकारी लेखापरीक्षणमा गम्भिर हुन आग्रह

 सिमरा, १७ चैत्र । नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले सहकारी संघ/संस्थाहरु समुदायमा आधारित सेवामुखी व्यवसाय भएकोले अन्तिम लेखापरीक्षण कार्यमा लेखापरीक्षकहरु गम्भिर हुनुपर्ने बताएका छन् ।

आइतबार डिभिजन सहकारी कार्यालय बाराले आयोजना गरेको ‘सहकारी नियमन, सुशासन, पारदर्शिता र समन्वयका लागि सहकारी संस्था, लेखापरीक्षक र सम्वद्ध सरकारी निकायहरुको भूमिका’ विषयक कार्यशालामा बोल्दै पौडेलले उक्त कुरा बताएका हुन् । वित्तिय विवरणप्रतिको जिम्मेवारी व्यवस्थापनको हुने भएपनि लेखापरीक्षकहरुले आफ्नो पदीय जिम्मेवारीप्रति सचेत भएर सुझाव दिन सके सहकारीको विकृति र जोखिमहरु न्युनीकरणमा सहयोग पुग्ने पौडेलले बताए ।

‘कतिपय सहकारीहरु सिद्धान्त र व्यवसायिक भावनाबाट च्युत हुने र लेखापरीक्षकहरुको सुझावको पालनामा गम्भिर नहुँदा समस्याहरु देखा परेको छ ।’ नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) का सञ्चालकसमेत रहेका पौडेलले भने– ‘सहकारी सुशासनका लागि समयमा लेखापरीक्षण स्वीकृति लिई सबै सदस्यहरुलाई सूचना गरेर वार्षिक साधारणसभा गर्दा धेरै हदसम्म सुशासन हुनेछ ।’

कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख महेन्द्र राउतको अध्यक्षता र आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कृष्ण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, साना किसान कृषि सहकारी संघका उपाध्यक्ष मिश्रीलाल सहनी, जिल्ला मत्स्यपालक सहकारी संघका अध्यक्ष ओमप्रकाश ठाकुर, बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरी, नेपाल अडिटर्स एशोसिएशन बाराका प्रतिनिधि उमेश मिश्र, वरिष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्रीलगायतले आफ्नो धारणा राखेका थिए ।

अन्तरक्रिया गोष्ठिले आगामी चैत्र २० गते ‘सहकारीमार्फत दिगो आर्थिक विकास तथा सामाजिक न्याय’ मूल नाराका साथ ५७ औं राष्ट्रिय सहकारी दिवस भव्यतापूर्वक मनाउने निर्णयसमेत गरेको छ । सोका लागि जिल्लाका सबै संघसंस्थाहरुलाई आ–आफनो पहिचानसहित उपस्थित हुनका लागि पनि आग्रह गरेको छ ।

अभिलेख

लोकप्रिय