१५ चैत्र २०८०, बिहीबार

सहकारी मार्फत गुल्मीबाट दुई करोडको कफी विदेश निर्यात

२४ श्रावण २०७१, शनिबार
सहकारी मार्फत गुल्मीबाट दुई करोडको कफी विदेश निर्यात

गुल्मी २४ साउन । गुल्मीमा एक वर्षको अवधिमा झन्डै दुई करोडको कफी उत्पादन भएको छ । जापान र कोरीयामा मुख्य बजार रहेको गुल्मेली कफी आर्थिक वर्ष २०७०÷०७१ मा तीन लाख ४४ हजार किलो उत्पादन भएको हो । कृषकले पाउने निर्धारित मूल्य प्रतिकिलो रु ५५ का दरले कुल रु एक करोड ८९ लाख २० हजारको कफी उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत चेतनारायण अधिकारीले बताउनुभयो ।
जिल्लाको कुल १५५ हेक्टर कफी उत्पादन क्षेत्रमध्ये उत्पादनशील ९१ मा हेक्टरमा उक्त परिमाणको कफी उत्पादन भएको हो । अघिल्लो आर्थिक वर्षमा कफीको सत्रु मानिने सेतो गबारोले सताएपछि कृषक निरुत्साहित थिए । गत वर्ष त्यसको निराकरण भएकाले उत्साहजनक कफी उत्पादन भएको अधिकारीले बताउनुभयो ।

 कफीको पकेट क्षेत्र तोकेर कृषकलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम कृषि विकास कार्यालयले सञ्चालन गरेको छ । कृषकको घरमा उत्पादित झन्डै चार लाख किलो ‘राइट चेरी’ (नसुकाएको र बोक्रा नछोडाएको) कफी खरिद गरी ८६ मेट्रिकटन ड्राई चेरी (सुकाएर बोक्रा निकालेको) उत्पादन भएको कृषि कार्यालयको भनाइ छ ।नेपालमै कफीखेतीको उत्पादन थलो आँपचौरमा गत वर्ष सबैभन्दा बढी पाँच हजार किलो कफी उत्पादन भएको थियो ।
गुल्मीमा कुल ११ वटा सहकारी संस्थामार्फत कफी सङ्कलन भई प्रशोधन केन्द्र जोहाङ खैरेनी पठाइन्छ र प्रशोधनपछि विदेशमा बिक्री गरिन्छ । हालसालैमात्र जिल्ला कफी सहकारी संस्थाले गुल्मीको बलेटक्सारमा पनि सङ्कलन केन्द्र स्थापना गरी खरिद बिक्री गर्न थालेको संस्थाका अध्यक्ष नीलकण्ठ गौतमले बताउनुभयो ।
सो संस्थामार्फत सङ्कलन हुने ८०० टन कफी यसैवर्षदेखि बलेटक्सारमा प्रशोधन गरी कोरियाली बजारमा पठाउन थालिएको हो । गत वर्ष नै बलेटक्सारमा देशमै पहिलोपटक कफी अनुसन्धान केन्द्रको स्थापना भएपछि जिल्लाभरकै कृषक कफीखेतीप्रति आकर्षित भएका हुन् ।

 त्यस्तै कफी सङ्कलन, व्यवस्थापन र बिक्री वितरणमा सुरुदेखि नै अगुवाइ गरेको जिल्ला सहकारी बहुउद्देश्यीय सहकारी सङ्घ गुल्मीले गत वर्ष ३० टन कफी सङ्कलन गरी प्रशोधनपछि घरेलु बजार र अन्तर्राष्ट्रिय बजारमा पुर्याएको सङ्घका उपाध्यक्ष शेषकान्त गौतमले बताउनुभयो ।
उहाँका अनुसार ३० टन ड्राइ चेरी प्रशोधन गर्दा गत वर्ष १५ टन कफी उत्पादन भएको थियो । सो संस्थाका प्रबन्धक युवराज आर्चायका अनुसार गत वर्ष १० टन कफी अन्तर्राष्ट्रिय बजारमा सरदर प्रतिकिलो ७०० का दरले पठाएर रु ७० लाख भित्र्याइएको छ भने पाँच टन घरेलु बजारमा न्यूनतम प्रतिकिलो ६०० का दरले बिक्री गरिएको थियो ।
ङ्घका उपाध्यक्ष गौतमका अनुसार जापान र अष्टे«लियामार्फत सङ्घले अन्तर्राष्ट्रिय बजारमा गुल्मीको कफी पुर्याउने गरेको छ ।
आँपाचौरका हीरा गिरीले सन् १९९० को दशकमा बर्माबाट बिरुवा ल्याई नेपालमै पहिलोपटक कफीखेतीको सुरुवात गर्नुभएको थियो । त्यसपछि आँपचौरकै पारश्वर खरेलले कफीलाई व्यवसायीकरण गर्नुभएको थियो ।
उहाँले गरेको व्यावसायिक कफीखेतीको चर्चा तत्कालीन नारायणहिटी दरबारमा पुगेपछि २०४० सालमा तत्कालीन राजा वीरेन्द्र सिधै हेलिकप्टरमार्फत कफी कृषक खरेलको बारीमा आउनुभएको थियो ।
त्यसपछि आँपचौरमा रु दुई करोडको लागतमा कफीका लागि सिँचाइ कुलो निर्माण भएको थियो । “राजा वीरेन्द्र आँपचौरको कफीखेती अवलोकन भ्रमणमा आउँदा म कृषि विकास कार्यालय गुल्मीमैै थिए, राजा वीरेन्द्रको भ्रमणले आँपचौरमा कफीखेतीले व्यावसायिक रुप लिएको हो”–तत्कालीन गुल्मीको कृषि विकास कार्यालयका कर्मचारी हाल गृह मन्त्रालयका शाखा अधिकृत रामचन्द्र पन्थीले भन्नुभयो, “त्यसबेला गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत वेदकुमार श्रेष्ठले गुल्मीको कफीखेतीको सम्भावनाबारे एउटा कृति प्रकाशन गरेर देशैभर चर्चामा ल्यानुभएको थियो ।”

अभिलेख

लोकप्रिय