१३ बैशाख २०८१, बिहीबार

सहकारी कपको उपाधि मदनकृष्ण कायस्थलाई

२५ चैत्र २०७१, बुधबार
सहकारी कपको उपाधि मदनकृष्ण कायस्थलाई

ललितपुर । गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थले तेश्रो राष्ट्रिय सहकारी कपको उपाधि जितेका छन् । पहिलो संस्करणका विजेता कायस्थले उपाधिसँगै १ लाख ७२ हजार मुल्य बराबरको मोटरसाईकल समेत हात पारे । बुधबार सम्पन्न फाईनल खेलमा तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीलाई १.५–०.५ ले पछि पार्दै दोश्रो पटक उपाधि चुमेका हुन् । पहिलो लिगमा सेतो गोटीबाट जीत हात पारेर हौसिएका मदनले दोश्रो खेलमा संयमित बन्दै बद्रीलालसँग बराबरी खेले ।
फाईनलमा पराजित भएका करुणामय साकोसका बद्रीलालले ५० हजार बराबरको ल्यापटप प्राप्त गरे । उता नियमित लिग तर्फको उपाधि दर्पण साकोस दमकका भुपेन्द्र निरौलाले हात पारेका छन् । प्रतियोगिताको अन्तिम चरणमा सुन्दर साकोस हेटौंडाका कृष्ण थापासँग बराबरी खेलेका भुपेन्द्रले १० खेलबाट ७ दशमलब ५ अंक बनाउँदै २५ हजार नगद समेत प्राप्त गरे । समान ७ दशमलब ५ अंक बनाएका संकटा साकोस काठमाडौंका नविन तण्डुकार तथा कृष्ण थापा प्रोगेशिभ प्वाईन्ट टाईब्रेकमा पछि पर्दै क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहे । अन्तिम खेलमा गोल्डेनगेटका रुपेश जयसवाललाई पराजीत गरेका नविनले १५ हजार नगद प्राप्त गरे । त्यस्तै कृष्ण थापाले १० हजार नगद प्राप्त गरे । गोल्डेनगेटका हिमाल लामासँग बराबरीको नतिजा आत्मसात गरेका मखन क्लबका पूण्यमान कर्माचार्यले ७ अंकका साथ प्रतियोगितामा चौथो स्थान कायम गरे ।
त्यसैगरी रुपेश जयसवाल, हिमाल लामा, ललितपुरका रविन्द्र शाक्य, क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी, गोल्डेनगेटका केशव श्रेष्ठ तथा कामना साकोसका सजिन महर्जन समान ६ दशमलब ५ अंकका साथ पाँचौं देखि दशौं स्थानमा रहे । त्यस्तै समान ६ दशमलब ५ अंक बनाएका मखन क्लबका राजेन्द्र प्रसाद श्रेष्ठ, अन्नपूर्ण उच्च
माविका मिलन लामा, शुभप्रभात साकोस मलंगवाका रविन्द्र बहादुर थापा तथा थापाथली चेस पार्कका मदन रायमाझी र सुवास भण्डारी क्रमशः एघारौं देखि पन्ध्रौं स्थान हासिल गर्न सफल भए ।
कामना साकोस तथा ताम्रकार समाजको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताका विजेतालाई शुक्रबार पुरस्कृत गरिने आयोजक संस्थाका राजु ताम्राकारले जानकारी दिए ।

अभिलेख

लोकप्रिय