१५ चैत्र २०८०, बिहीबार

म बाँचुञ्जेल सहकारी अभियानबाट अलग हुन्न !

३० भाद्र २०७३, बिहीबार
म बाँचुञ्जेल सहकारी अभियानबाट अलग हुन्न !

हाम्रो जस्तो मुलुकलाई सहकारी अपरिहार्य छ । हाम्रो आर्थिक, सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटो सहकारी हो । जहाँ ठूला पुँजीपति छैनन् । छरिएर रहेका गाउँ बस्तीहरु छन् । विकट धरतलीय स्वरुप छ । यस्तो ठाउँमा सहकारी मोडेल ठिक छ । सहकारी अभियान बुझिसकेपछि मेरो निष्कर्श म बाँचुञ्जेल सहकारी अभियानबाट अलग हुन्न ।

min

मिनराज कडेंल
वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय सहकारी संघ

घण्टौं हिडेर होस् या ट्रक चढेर बिद्यालय जाँदा…

सहकारीको अभियानमा २१ वर्षको अनुभव संगालेका मिनराज कँडेलको जन्म २०१७ सालमा धादिङ, बेनिघाट–१, रिचोकटार मलेखुमा भएको हो । ३०३१ सालमा एसएलसी उत्तीर्ण गरेका कँडेलले प्राथमिक शिक्षा धादिङको मलेखुबाट र माध्यमिक शिक्षा आदर्श मावि गजुरीबाट सम्पन्न भएको हो । कक्षा ६ देखि १० सम्म पढ्दा उनी करिब एक घण्टाको बाटो हिंडेर पढ्न जाने र फर्कने गर्नुपथ्र्याे । त्यतिबेला चिनीयाँहरुले पृश्वी राजमार्ग निर्माण गर्दै गरेको हुनाले निर्माणका सामान बोक्ने ट्रक आयो भने बल्ल कंडेल र उनका साथीहरु मोटर चढेर सहजै बिद्यालयसम्म पुग्न पाउँथे ।

साँढे २३ वर्ष एउटै बिद्यालयको प्रधानध्यापक

काठमाडौबाट परिक्षा दिएर एसएलसी उत्तीर्ण गरेका कंडेलले एसएलसी सक्नासाथ बागेश्वरी प्रावि मलेखुमा पढाउन सुरु गरे । त्यतिबेला एसएलसी उत्तीर्ण गरेका सबै शिक्षक स्वतः स्थाई हुने प्राबधानका कारण पढाउन सुरु गर्नासाथ उनी पनि स्थाई शिक्षक बनेका थिए । आईए उत्तीर्ण गरेपछि निमावि पढाउन सुरु गरे । त्रिविबाट बिएड गरेपछि उनले मावि पढाउन थाले । विद्यालयलाई पनि अपग्रेड गर्दै लगे । साँढे २३ वर्ष एउटै बिद्यालयको प्रधानध्यापक बनेर उनी शिक्षण पेशाबाट बाहिरिए । राजनीतिमा पनि उतिकै सक्रिय कँडेलले शिक्षक रहँदा नै धेरैपटक जेल जीवन बिताउनु परेको थियो । आफुले पढाएको बिद्यालयमा उनले जिल्लाकै पहिलोे विज्ञान संकायको उच्च शिक्षाको पढाई सुरु गराएका छन् । करिब ६ वर्ष हुन लाग्यो हाल उनी त्यहि विज्ञान संकाय पढाई हुने जयबागेश्वरी बहुमुखी क्याम्पसको अध्यक्ष छन् । त्यस्तै बिद्यालय संचालकमा पनि उनी अहिले मनोनित सदस्य भएर काम गरिरहेका छन् ।

सानैदेखि संधै अन्याय अत्याचारका विरुद्धमा…
२०३३ सालमै गाउँमा पुस्तकालय खोल्नेदेखि सामाजिक कुरिती, विकृति विसंगतीका विरुद्धमा, गलत रवैया र अन्याय अत्याचारका विरुद्ध साँस्कृतिक कार्यक्रममार्फत सबैलाई चेतना दिलाउने कार्य गर्दथे । वि.स.२०३४/३५ सालदेखि ८/१० वर्ष नै काठमाडौमा आएर कंडेलसहित साथीहरुले देउसी भैलो गरेर रकम उठाई पुस्तकालयमा योगदान गर्ने र पुस्तकालयमार्फत सबैलाई चेतना जागृत गराउने कार्य गर्दथे ।

सहकारी अभियानको सुरुवात

२०४५/४६ को आन्दोलन पछि बहुदल आयो । कंडेल र उनको समूह पहिलेदेखि नै मिलेर सामुहिकरुपमा उपलब्धीमुलक काम गर्नुपर्छ भन्नेमा थिए । कँडेलको जग्गा जमिनमा चितवनमा थियो । खेतीपातीका काम गर्नको लागि २०५३ सालमा उनी सहित उनका तीनजना सहकर्मीहरु चितवन गएका थिए । त्यतिबेला चितवन, भरतपुरमा इन्जिनियर रामप्रसाद अधिकारीसँग भेट भयो । अधिकारी दिपज्योति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष थिए । अधिकारीले दिपज्योति सहकारीको सुरुवात र आफ्नो अनुभव सुनाए । एक घण्टाको सहकारीबारेको कुरा सुनेपनि उनी सहित तीनै जनाले धादिङ फर्केपछि सहकारी खोल्ने निधो गरे । त्यसपछि २०५३ साल असार २९ गते जिल्ला डिभिजन कार्यालयका प्रतिनिधि समेत बोलाएर ३० जनाको उपस्थितिमा बचत ऋण सहकारी खोल्ने भनि प्रारम्भिक भेला सम्पन्न गरे । कँडेलकै अध्यक्षतामा बसेको भेलाले जनकल्याण बचत तथा ऋण सहकारी संस्था खोल्ने निधो गर्यो । उनी सहकारीको संस्थापक अध्यक्ष बने । प्रतिव्यक्ति ५/५ हजार सेयर उठाएर एकै वर्षमा १ सय १ जना सदस्य सहित त्यो संस्था अगाडि बढेको थियो । उनी साँढे १२ वर्ष त्यही संस्थाको अध्यक्ष बने । कंडेलको सक्रियतामा २०५४ मा १५ वटा संस्थाहरु मिलेर धादिङमा जिल्ला सहकारी संघ गठन भयो । संघमा पनि उनी १५ वर्ष अध्यक्ष भएर काम गरे । २०५९ मा बचत तथा ऋण केन्द्रिय संघको संचालक बन्ने भनेर आएका कँडेल साथीहरुको समर्थनमा उपाध्यक्षमा निर्वाचित भए । यता पार्टीगतरुपमा हेर्ने हो भने कँडेलले नेकपा एमालेको सहकारी विभाग स्थापनामा महत्वपूर्ण योगदान गरेका छन् ।

उनी २०६४ सालमा उनी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन) को निर्वाचित अध्यक्ष भए । पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङगलाई चुनावमा हराएर अध्यक्ष बनेका उनी दुई कार्यकाल नेफस्कुनको अध्यक्ष भए । उनले आफु अध्यक्ष भएर निर्वाचित भईसकेपछि एकै पदमा दुई कार्यकालभन्दा बढि समय बस्न नपाउने नियम बनाए । कार्यकाल सुरु गर्दा ४ सयमा रहेको सदस्य संख्यालाई २२ सयमा पुर्याउने काम उनकै कार्यकालमा भएको थियो । उनी नेफस्कुनको सल्लाहकार हुन् । २०६४ देखि ७ वर्ष राष्ट्रिय सहकारी संघको संचालक रहेका उनी २०७१ देखि संघको बरिष्ठ उपाध्यक्ष छन् ।

नेकपा एमालेको राजनीतिमा सक्रिय उनलाई पार्टी जिल्ला कमिटीको अध्यक्ष बन्ने प्रस्ताव हुँदा हुँदै पनि उनले पार्टीको सहकारी विभागको आग्रहअनुरुप सहकारीको राष्ट्रिय संजालमा नै अगाडि बढिरहेका छन् । हाल उनी नेकपा एमाले लेखा आयोगको सदस्य छन् ।

आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको महत्वपूर्ण पाटो सहकारी

पार्टी राजनीति र सहकारीलाई सँगसँगै लगेका कंडेल भन्छन्, ʽखासगरी आर्थिक सामाजिक र साँस्कृतिक रुपान्तरणको महत्वपूर्ण पाटो रहेछ भनेर सुरुदेखि नै सहकारी अभियानमा लागियो । १६ वर्ष अगाडि मेरो क्रियाशिलता देखेर नै राष्ट्रिय सहकारी संघका अध्यक्ष दीपक बास्कोटाले ल्याण्डलाईनबाट फोन गरेर एउटा राम्रो तालिम छ भाई जाने हो भनेर धादिङबाट काठमाडौ बोलाएका थिए । मेरो क्रियाशिलता देखेर उहाँले त्यसो भन्नुभएको थियो । मैले पनि दाजुहरुले पठाए किन नजानु भनेर नेपालबाट एक्लो प्रतिनिधित्व गर्दै एकतर्फी हवाई भाडा तिरेर १५ दिनका लागि नयाँ दिल्ली गएको थिए । अन्तर्राष्ट्रिय सहकारी महासंघको एसिया प्यासिफिक रिजनको मुख्य कार्यालय दिल्लीमा रिजनको तालिममा म सहभागी भएँ ।ʼ

minraj

सात दिन विश्वको सहकारी पढायो

२००१ मा कँडेल सहकारीको अन्तर्राष्ट्रिय तालिममा सहभागी भएका थिए । तालिमको अनुभव सुनाउँदै उनी भन्छन्, ʽहामीलाई दिग्गज दिग्गज व्यक्तिले सात दिन विश्वको सहकारी पढायो । सात दिनमा संसारभरी सहकारीले के–के काम गरेको छ । कसरी जीवनस्तर परिवर्तन गर्न सक्दो रहेछ ? के काम गर्न सक्छ ? लगायत सारा विषय पढायो । ७ दिन पढायो, ७ दिन फिल्ड भिजिटमा लग्यो । सहकारीले गरेका कामहरु देखायो । म धेरै प्रभावित भएँ । भारतका दुई जना, नेपालबाट एकजना, श्रीलंकाका २ जना, भियतनाम, इरान लगायत बाट गरी ८ जना तालिममा सहभागी थियौं । हाई लेबलका मानिसले सात दिन विश्वकै सहकारीका बारेमा पढायो । म त्यसैले प्रभावित भएछु !ʼ

म बाँचुञ्जेल सहकारी अभियानबाट अलग हुन्न !

उनी भन्छन्, ʽदिल्लीमा रहँदा सहकारीको सप्ताहव्यापी कार्यक्रममा हामी ८ जनालाई मुख्य अतिथिका रुपमा राखेर सम्मान दिए । त्यहाँबाट सहकारी अभियान बुझिसकेपछि हाम्रो जस्तो मुलुकलाई सहकारी अपरिहार्य छ । हाम्रो आर्थिक, सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटो सहकारी हो । जहाँ ठूला पुँजीपति छैनन् । छरिएर रहेका गाउँ बस्तीहरु छन् । विकट धरतलीय स्वरुप छ । यस्तो ठाउँमा सहकारी मोडेल ठिक हो भन्ने लाग्यो । त्यसपछि म बाचुञ्जेल सहकारी अभियानबाट अलग हुन्न भन्ने प्रतिबद्धता गरेको छु ।

राजनीति लाई सहकारीले मद्धत गर्छ, सहकारीलाई राजनीतिले संरक्षण गर्नुपर्छ

उनी भन्छन्, ʽआर्थिक सामाजिक रुपान्तरणको पाटोमा राजनीति र सहकारी संगसंगै जोडिएको हुन्छ । राजनीति लाई सहकारीले मद्धत गर्छ, सहकारीलाई राजनीतिले संरक्षण गर्नुपर्छ । संसारको इतिहाँस हेर्दा जहाँ लोकतन्त्र, प्रजातन्त्र छ त्यहाँ सहकारी फस्टाउँदैछ । जहाँ निरकुशता छ त्यहाँ सहकारीलाई निर्मूल पार्ने काम भईरहेको छ । हाम्रो मुलुकको कायापलट गर्ने पाटो सहकारी भएको हुनाले यसलाई म छोड्न सक्दिन ।ʼ कँडेलले अहिले राजनीति र सहकारीलाई एकसाथ अगाडि बढाईरहेका छन् ।

प्रकाशित : २०७३ भदौ ३०

अभिलेख

लोकप्रिय