१६ चैत्र २०८०, शुक्रबार

झापामा सहकारीबाट दश अर्बको कारोबार

१८ श्रावण २०७१, आईतवार
झापामा सहकारीबाट दश अर्बको कारोबार

झापा, १८ साउन । यस जिल्लामा सहकारी संस्थाहरूले बर्सेनि रु दश अर्ब भन्दा बढीको कारोबार गर्दै आएका छन् ।
जिल्लामा सञ्चालनमा रहेका बचत तथा ऋण र अन्य विभिन्न प्रकृतिका सहकारीले वार्षिक सरदर १० अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार गर्दै आएका छन् ।
जिल्ला डिभिजन कार्यालयका अनुसार ती सहकारीमध्ये सबैभन्दा ठूलो कारोबार गर्ने सहकारीमा नेपाल बहुउद्देश्यीय र सहारा नेपाल बचत तथा ऋण सहकारी रहेका छन् । ती संस्थाले वार्षिक दुई अर्बभन्दा बढीको कारोबार गरिआएका छन् ।
त्यस्तै रु पाँच करोडभन्दा बढीको कारोबार गर्ने सहकारीको सङ्ख्या ३५ पुगेको छ । रु एक करोडभन्दा बढीको कारोबार गर्ने सहकारीको सङ्ख्या १०४ पुगेको डिभिजन सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
बढ्दो सहरीकरणसँगै बढेको व्यापारिक कारोबार र विप्रेषणका कारण सहकारीमा कारोबार बढेको उहाँले बताउनुभयो ।
खासगरी दमक, अनारमनी, मेचीनगर, सुरुङ्गा, सतासीधाम, बुधबारे, शनिश्चरेमा बढी कारोबार गर्ने सहकारीहरू सहर केन्द्रित रहेका छन् ।
यसैगरी, गएको आर्थिक वर्षमा मात्र थप ८२ वटा सहकारी दर्ता भई अहिले जिल्लामा कुल ७९९ वटा सहकारी पुगेको जनाइएको छ । यसमध्ये १५० सहकारी संस्थाको दर्ता खारेज गरिएको डिभिजन प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
जिल्लाका यी सहकारीमा महिला एक लाख ९० हजार र पुरुष एक लाख ३२ हजार गरी तीन लाख २२ हजार मानिस सङ्गठित भएका छन् ।
त्यस्तै, सहकारीको सञ्चालकमा तीन हजार ६५ महिला र चार हजार ५९८ पुरुष रहेको जिल्ला सहकारी सङ्घले जनाएको छ ।
सहकारीमा अहिले दुई हजार ४६३ जनाले कर्मचारीका रूपमा प्रत्यक्ष रोजगारी पाएका छन् । डिभिजन सहकारीका अनुसार जिल्लाका सहकारीमा कुल सेयर पुँजी करिब रु एक अर्ब ६९ करोड ३८ लाख २८ हजार ३१६, कोष हिसाबमा रु ९७ करोड ८३ लाख ३५ हजार ७५४, बचत निक्षेप रु छ अर्ब ४० करोड २४ लाख ९३ हजार ८८४, कर्जा लगानीमा रु सात अर्ब ५३ करोड ३७ लाख एक हजार ६२२ र नाफा १९ करोड ९२ लाख छ हजार ९४८ रहेको जनाइएको छ ।

अभिलेख

लोकप्रिय