– सहकारी सम्बन्धी प्रदर्शनी, महोत्सव तथा भेलाहरु, चेतनामूलक नाटक आदि आयोजना गरिन्छ ।
– शशिधर पोखरेल/
सन् १८४४ मा बेलायतको रोचडेलबाट शुरुभएको सहकारी अभियानको अन्तर्राष्ट्रिय छाता संगठन अन्तर्राष्ट्रिय सहकारी महासंघले ९३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउदैंछ । यो दिवस प्रत्येक वर्ष जुलाईको पहिलो शनिवारका दिन विश्वव्यापी रुपमा मनाइन्छ । यस बर्ष जुलाई ४ अर्थात आषाढ १९ गते शनिवार यो दिवस मनाइदै छ । यसको मूल लक्ष भनेको सहकारीमा जनचेतना बृद्धि गर्नु र सहकारी अभियानका सफल प्रयासहरुलाई प्रवद्र्धन गर्नु हो । यति मात्र नभई यसले अन्तर्राष्ट्रिय ऐक्यवद्धता, आर्थिक सक्षमता, समानता र अन्तर्राष्ट्रिय शान्तिको प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यस दिवसले सहकारी अभियान र सरोकारवाला निकायहरु (सरकार, स्थानिय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय) संगको सम्बन्ध मजवुत बनाउनमा समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन शुरु गरेको भएता पनि सन् २००० देखिका मात्र डिजिटल अभिलेखहरु देख्न पाइन्छ । यसरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र संघले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउन थालेको छ । संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरुलाई समेत यो दिवस भव्य रुपमा मनाउन आव्हान समेत गर्दै आइरहेको छ । यति मात्र नभै यो दिवस संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहकारी महासंघले एउटै लक्ष र उद्देश्यका साथ भब्य रुपमा प्रत्येक बर्ष जुलाईको पहिलो शनिवार मनाउने निर्णय गरेका हुन ।
यसरी सन् १९९५ देखी नै अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघ ले एउटै साझा नारा तय गरी संयुक्त रुपमा अन्तर्राष्ट्रिय सहकारी दिवस र संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउदै आएको छ । जसले सहकारी अभियानका विश्वव्यापी समस्याहरु समाधानका लागी अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघको योगदानलाई समेत छर्लङ्ग पार्दछ ।
कसरी मनाइन्छ त अन्तर्राष्ट्रिय सहकारी दिवस ?
विश्वभरीका सहकारी अभियानका नेतृत्वदायी संस्थाहरुले यो दिवसलाई फरक फरक किसिमबाट मनाउदै आएका छन । जस्तै:
– आइसिए र युएनबाट यो दिवसको अवसरमा प्राप्त सन्देशलाई आ आफ्ना भाषामा अनुवाद गरी सम्पूर्ण सहकारीकर्मीहरु, सञ्चार माध्यम, सरकार तथा सरोकारवालाहरुसम्म पुर्याई प्रचार प्रसार गर्ने काम गरिन्छ ।
– सहकारी सम्बन्धी जनचेतना मूलक कार्यक्रमहरु विभिन्न सञ्चारमाध्यमहरुवाट प्रसारण गरी जनस्तर सम्म पुर्याउने काम गरिन्छ ।
– सहकारी अभियान रसरोकारवाला निकाय विच छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिन्छ ।
– समूदाय संग मिलेर विभिन्न सामाजिक कामहरु जस्तैः रक्तदान, वृक्षारोपण, स्वास्थ्य शिविर आदि गरिन्छ ।
जे जस्ता कार्यक्रमहरु आयोजना गरेतापनि यसको मूलभुत उद्देश्य भनेको सहकारी सम्बन्धी जनचेतना फैलाई सहकारीको माध्यमबाट सामाजिक आर्थिक र साँस्कृतिक विकास गर्नु नै हो ।
के हो त यस बर्षको नारा ?
यस बर्ष आइसिएले “सहकारी रोजौं, समानता रोजौं” भन्ने नारा तय गरेको छ । समानता सहकारी को १० वटा मूल्य मध्ये एक आधार मूल्य हो । विश्वव्यापी रुपमा ब्याप्त असमानताका कारण विश्वको आर्थिक विकाशको दर द्रुत गतिमा अघि बढ्न सकेको अवस्था छैन । त्यो असमानता चाहे लैंगिक, धार्मिक, सामाजिक, आर्थिक, उमेर जे मा होस् त्यसको प्रत्यक्ष असर पर्ने भनेको समूदायमा नै हो । अहिले विश्वमा आय को खाडलको चौडाई बढ्दै गईरहेको अवस्थामा सहकारीले आफ्नो स्रोतमा प्रजातान्त्रिक नियन्त्रण गर्दै असामानताका कारण बढ्दै गइरहेको खाडलको चौडाई समानताका माध्यमबाट कम गर्दै लैजान सक्छ भन्ने नै यो नाराको मर्म हो । सहकारीले समानता माध्यमबाट जो लिंग, जाती, वार्ण, धर्म का आधारमा असमान ब्यवहार खपिरहेका छन त्यस्ता समुदायको आर्थिक विकास गरी जिवनस्तर उकास्न यो नारा कोसेढूंगा सावित हुनुपर्दछ ।
कसरी हुन्छ सहकारीमा समानता ?
सदस्यता : यसमा जात, धर्म, लिंग बर्णका आधारमा भेदभाव गरिंदैन । एक सदस्य एक मतको आधार हुन्छ । ब्यवस्थापन र नियन्त्रणमा सवै सदस्यहरुको समान अधिकार हुन्छ । अर्को कुरा कुनै ब्यक्तिको वित्तिय क्षमताको आधारमा अर्को सदस्यलाई विभेद गरिदैन ।
वितरण : सहकारी सदस्यहरुकै चाहना अनुरुप सदस्यहरुकै दिर्घकालिन विकास र सदस्य सन्तुष्टिका लागी सञ्चालित सहकारीले समान वितरण प्रणाली मार्फत गरिवी निवारणको लक्ष साथ अघि बढेको हुन्छ । जुन सदस्यहरुलाई विना भेदभाव समान रुपमा चाहे उद्यमशिलता विकासका लागी कर्जा होस वा प्रतिफल वितरण नै होस समानन रुपमा वितरण गरिन्छ जुन समानताको अर्को उदाहरण हो ।
सहभागिता : सहकारी संस्थाहरुले आफ्ना हरेक कृयाकलापहरुमा सबै सदस्यहरुलाई समान अवसर दिने गर्दछ चाहे ति उत्पादक, उपभोक्ता, कामदार जो सुकै हुन । यसरी विभिन्न माध्यमबाट सहकारीहरुले सदस्यहरुमा समान ब्यवहार गरिरहेका हुन्छन ।
अन्त्यमा,
नेपालको सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी संघले पनि यो दिवस भव्य रुपमा मनाउँदै आइरहेको छ । यस बर्ष पनि नारालाई ब्यवहारमा उतार्न सबै सहकारी संघ संस्था तथा सरोकारवाला निकायलाई अनुरोध गरेको छ । सहकारीका माध्यमबाट सामाजिक आर्थिक र साँस्कृतिक विकाशका लागी अहम् भुमिका खेल्दै विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमका साथ ९३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २१ औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २२ औं राष्ट्रिय सहकारी संघ दिवस सफल र फलदायी बनोस् । शुभकामना । जय सहकारी ।