थोपा–थोपा मिलेर सागर बन्छ भन्ने नेपाली समाजमा प्रचलित भनाइलाई सार्थक बनाएका छन्, नारायणीपारी नवलपरासी गैडाकोटका युवाहरूले । २१ वर्र्षअघि २६ युवा मिलेर ‘फजुल खर्चको कटौती गरौ र बचत गर्ने बानीको विकास गरौं’ भन्ने नाराका साथ दैनिक ५० पैसाका दरले रकम बचत गर्न सुरु गरेको विकू बचत तथा ऋण सहकारीसँग अहिले ५० करोड रुपैयाँ बराबरको सम्पती जम्मा भइसकेको छ । “२६ जना मिलेर २०४८ भदौ ५ गते दैनिक ५० पैसा बचत गर्दै खोलेको संस्थामा अहिले सेयर सदस्यमात्रै १० हजार पुगे, ५० करोड रुपैयाँ जम्मा गर्न सफल भएका छौं” संस्थाका संस्थापक समेत रहेका अध्यक्ष इन्द्रराज ज्योति पौडेलले भने ।
५० पैसा जम्मा गरेर के नै हुन्छ र भनेर चिया पसलमा गफ गर्नेहरु अहिले संस्थाको प्रगति देखेर चकित हुने गरेको छन् । गरे के हुदैन भन्ने कुरा विकूले प्रमाणीत गरेको अध्यक्ष पौडेल सुनाउछन् । बिजय स्मारक युवा क्लवमा आवद्व रहेका युवाहरुले सहकारी खोलेकाले सुरुमा स्थानीय जनतालाई उनीहरुले चन्दाको रुपमा पैसा मागेको ठानी पैसा दिन अस्विकार गर्थे । “हामी गाउँ गाउँ रजिष्टर बोकेर बचत संकलन गर्न जान्थौ, अविश्वासका कारण पैसा दिनेहरुले पनि च्यात्तिएको, डढेको, खिया परेको नचल्ने पैसा दिएर पठाउथे पौडेलले भने, “पछि राष्ट्रिय बाणिज्य बैंकमा पैसा जम्मा गरेको रसिद देखाउन थालेपछि संस्थाप्रति विश्वास बढ्दै गयो” ।
पौडेलका अनुसार चिया, चुरोड रक्सीलगायतका फजुल खर्च घटाएर महिनाको १५ रुपैयाँ जम्मा गर्दा ६ महिनामा ९० जनाबाट १० हजार रुपैयाँ संकलन भयो । जम्मा भएको पैसा संस्थाले पशुपालनका लागि ऋण दिन थाल्यो । संस्थाबाट ऋण लिएर भैंसी पाल्नेहरू दुध बेच्न नारायणगढमा जान्थे । उनीहरुको दूध बिक्री नहुने समस्या आएपछि संस्थाले २०५४ सालमा गाउँमा दूध संकलन केन्द्र स्थापना गर्यो । जसका कारण पशुपालन फस्टायो, स्थानीय जनताको जिवनस्तरमा सुधार आयो भने संस्थाको प्रतिष्ठा पनि बढ्यो र सदस्यहरु पनि बढ्दै गए । विकू सहकारीले आफ्नै लगानीमा गैंडाकोटमा विजय सामुदायिक शिक्षा सदन पनि खोलेको छ । उच्च मावि तहसम्म अध्ययन हुने सो विद्यालयमा ११ सय भन्दा बढी विद्यार्थी छन् । सोही विद्यालयमा संस्थाले २५ जना गरिव तथा विपन्न विद्यार्थीलाई पढाउदै समेत आएको छ । “हामीले पढाएका विद्यार्थीलाई कक्षा १ देखि एसएलसीसम्म पूर्ण खर्च बेहोरेर पढाउछौं” पौडेलले भने । २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति पाएको संस्थाले नवलपरासीका ४३ गाविसमा सेवा दिदै आएको छ । हाल ६ वटा गाविसमा सेवा केन्द्र नै खोलेको संस्थाले एटिएम सेवा दिने समेत तयारी गरिरहेको जनाएको छ । विकूकै सक्रियतामा गैडाकोटमा विजय सामुदायिक एफएम समेत सञ्चालनमा छ ।
संस्थाले वित्तीय सेवा अन्र्तगत बचत तथा ऋण र गैरवित्तीय सेवा अन्र्तगत सेयर सदस्य महिलालाई सुत्केरी खर्च १ हजार, परिवार नियोजन खर्च १ हजार दिदै आएको छ । यस्तै सदस्यको मृत्यु भएमा किरिया खर्चबापत आफन्तलाई १० हजार सहयोग गर्दै आएको छ । सदस्यलाको सुविधाका लागि ‘डिस्काउन्ट कार्ड’ को व्यवस्था गरेको यसबाट औषधी पसल, फेन्सी स्टोर, दैनिक उपभोग्य पसललगायतका टाउमा ५ देखि १५ प्रतिशत छुट दिने व्यवस्था समेत मिलाएको छ । नियमित रुपमा सहकारी शिक्षा तथा तालिम संचालन गरिरहेको संस्थाले सदस्यका लागि विभिन्न सिपमुलक तालिम समेत संचालन गरिरहेको छ । “हामी सदस्यलाई सिपमुलक तालीम दिने, स्वरोजगार बनाउन ऋण दिने र उनीहरुको उत्पादनलाई बजारसँग लिङ गराउन समेत सहयोग गर्दै आएका छौं” पौडेलले भने ।
न्वारनको दक्षिणा सहकारीमा
बिकू सहकारीले छोराछोरीको उज्वल भविश्यका लागि सेयर सदस्यले छोराछोरीको न्वारनदेखिकै दक्षिणा जम्मा गर्ने चलन बसाएका छन् । “न्वारनको दक्षिणा ल्याएर बचत गर्न थाल्छन् । नियमित बचत गर्ने हो भने बालबालिका २० वर्र्षको पुग्दा १ लाख रुपैयाँ भन्दा बढी जम्मा हुन्छ ।” पौडेलले भने । त्यही रकमबाट उच्च शिक्षाका खर्च, विवाह खर्च वा यही पैसाबाट उनीहरु स्वावलम्बन समेत बन्न सक्छन् । यसैगरी संस्थाले शैक्षिक जनशक्तिलाई स्वावलम्बन बनाउनका लागि समेत सहयोग गर्दै आएको छ । प्रमाणपत्र धितो राखेर व्यवसाय गर्नेलाई ५० हजार र अध्ययन गर्नेलाई बढीमा एक लाख ५० हजार रुपैयाँ ऋण दिने नीति लागू गरेको छ ।
बुहारीलाई दुई बाख्रा, दुई डोरी र दुई किलो
विकुले महिलाको जीवनस्तर सुधारका लागि दुई बाख्रा, दुई डोरी र दुई किलो अभियान सञ्चालन गरेको छ । विपन्न महिलालाई दुईवटा बाख्रा तथा डोरी र किला प्रदान गरी उनीहरुको आयस्तरमा सहयोग पु¥याउन यो अभियान संचालन गरिएको अध्यक्ष पौडेलले बताए । “महिला विभेद अन्त्य गर्नका लागि उनीहरुलाई आर्थिक रुपमा सम्बृद्व गराउनुपर्छ” पौडेलल भने, “त्यसैका लागि हामीले उनीहरुको आयआर्जनका लागि यो अभियान चलाएका हौं ।”
सम्मान/पुरस्कार
समुदायमा आधारित रहेर उनीहरुको आवश्यक्ता अनुरुपका सेवा संचालन गरिरहेको बिकूले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको छ । सस्थाको सफलताकै अध्ययन गर्नका लागि थुपै राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकारीकर्मी संस्थामा पुग्ने गरेका छन् । “हाम्रो कामबारे बुझ् आउने सहकारीकर्मीहरु देख्दा हामीले उदाहरणीय काम गरेछौ भन्ने महसुस हुन्छ” उनले भने ।
संस्थाको उदाहरणीय कामकै कारण विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । संस्था गत वर्षमात्र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन) बाट उत्कृष्ट सहकारी घोषणा भएको छ । त्यस्तै लघुवित्त संस्थाहरुको विश्वव्यापी सञ्जाल ‘मिक्स मार्केट’ ले पनि बिकूलाई ५ तारा दिएको छ । मिक्स मार्केटले सबैभन्दा राम्रोलार्ई पाँच तारा दिन्छ । संचालकको मेहेनत र सदस्यहरुको साथका कारण सहकारीले सफलता पाएको पौडेलले बताए । सहकारी नाफामुखी संस्था भएपनि उसले नाफामा मात्र केन्द्रीत नभइ सदस्यलाई व्यवसायीक बनाउनेदेखि लिएर सामाजिक विभेद अन्त्य गर्नसम्म भुमिका खेल्नुपर्छ । “सेयर सदस्यलाई उद्यमी बनाएर उनीहरुको आर्थिक हैसियत सुधार्ने कार्यक्रम ल्याउनुपर्छ । सञ्चालकहरुमा काम गर्नेे उत्साह हुनुपर्छ । आर्थिक शुसासन कायम राख्नुपर्छ । प्रजातान्त्रिक प्रक्रिया अपनाउने र सबै कुरा पारदर्शी गर्ने हो भने सफल भइन्छ भन्ने शिक्षा मिलेको छ,” सहकारी सफल हुनुको कारणबारे अध्यक्ष पौडेलले सुनाए ।