टेक प्रसाद चौलागाई जिल्ला सहकारी संघ काठमाडौको अध्यक्ष पदमा निर्वाचित भएर आएका छन् । उर्जावान युवाका रुपमा चिनिने उनी लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय मात्रै छैनन्, सहकारीको सकारात्मक विकासका लागि लागिपरेका व्यक्ति हुन् । नयाँ जोस, जाँगर र योजनाका साथ संघको नेतृत्वमा पुगेका उनी सहकारीलाई राजनीतिले होइन राजनीतिलाई सहकारीले कन्भिन्स गर्नुपर्ने धारणा राख्छन् । सहकारी मार्फत मुलुकको आर्थिक अनुहार फेर्न सकिने सोच भएका चौलागाई सहकारीकर्मीले सहकारीमा प्रवेश गर्दा राजनीतिक जुत्ता सहकारीको ढोका बाहिरै खोलेर प्रवेश गर्नुपर्ने मान्यता राख्छन् । कुनै दल निकट आस्था राख्ने उनी सहकारीको एउटै प्यानल हुनुपर्ने मान्यता बोक्छन् । उनी आफ्नो कार्यकालमा निर्वाचनका सम्पूर्ण प्रतिस्पर्धीलाई समेटेर लैजाने योजनामा रहेका छन् । काठमाडौ जिल्ला संघलाई देशकै नमुना जिल्ला संघ बनाउने प्रतिवद्धता बोकेका चौलागाईसँग सहकारीखबर डटकमका लागि कार्यकारी सम्पादक काजी श्रेष्ठले गरेको संवाद:
जिल्ला सहकारी संघ काठमाडौंको १५ औं साधारणसभाले तपाईँलाई अध्यक्ष पदमा निर्वाचित गर्यो । आफूमा आएको जिम्मेवारी पुरा गर्ने योजना के छ ?
हिजो पनि म जिल्ला संघमै रहेर काम गरें । जिम्मेवारी र काम प्रति म गम्भिर छु । साथिहरुले माया गरेर मलाई विजयी गराउनुभयो । उहाँहरुको सबै आसा त पुरा गर्न नसकिएला । तर पनि उहाँहरुले दिनुभएको जिम्मेवारी र गर्नुभएको मायालाई उच्च सम्मानका साथ काम गरेर देखाउँछु ।
तपाइँको टीम चुनावी मैदानमा जानुअघि जुन खालको घोषणा पत्र आएको थियो । त्यसअनुसार काम गर्ने रोडम्याप के छ त ?
चुनाव नै नहोस भन्ने हाम्रो मनसाय थियो । सर्वसम्वत बनाउन धेरै प्रयत्न गर्यांै । सबै सबैभन्दा अन्तिममा प्यानल घोषणा गर्ने समूह पनि हामी नै थियौं । प्यानलमा चुनाब लडे पनि सबै साथीहरु मिलेरै आएका छौं । धेर थोर फरक हुनु चुनावी कुरा हो । घोषणा पत्रमा धेरै कुरा उल्लेख छन् । त्यसमध्ये विशेष कुरा शिक्षा, तालिम, सहकारी एकीकरण र भौतिक पूर्वाधारमा जोड दिने छौं । आगामी चुनावी साधारणसभामा कम्तीमा हामी आफ्नै भवनमा सर्नसक्ने अवस्थामा पुर्याउँछौं । घोषणा पत्रमा गरिएका प्रतिवद्धता अनुसार क्रमैसँग काम गर्दै जानेछौं ।
आफ्नै भवनका लागि हालसम्म के कति प्रयास भएको छ ?
हामीसँग जग्गा किन्ने पैसा छ । जग्गा किन्न मात्र सकियो भने भवन निमार्णका लागि विभिन्न निकायसँग हारगुहार गर्न सकिन्छ । विभिन्न निकायसँग समन्वय गरेर भवन निमार्ण गर्ने योजनामा छौं ।
चुनावी प्रतिस्पर्धामा हारेका सहकारीकर्मीलाई कसरी समेटेर लैजानु हुन्छ ?
चुनाव नै नभए हार र जित हुँदैन थियो । चुनवमा भाग लिएपछि एउटाको जित र अर्कोको हार हुन्छ नै । जुन साथिहरुलाई मैले पहिल्यै भनेको थिएँ । जसले चुनाव जित्छ उसलाई माला लगाएर बधाई दिएर अगाडि बढ्नुपर्छ भनेर । त्यस अनुसार सिताराम काफ्ले पनि अन्तिमसम्म बस्नुभयो । उहाँले बधाई दिएर जानुभयो । चुनाव हारेपछि अलिकत पीडा हुन्छ । यसमा अन्यथा मान्ने कुरै हुँदैन । आफू जित्छु भनेर लागेको मान्छेले हार्दा केही फरक त हुन्छ । तर त्यो सँधैभरी रहँदैन । हिजोसम्म हामी प्यानलमा थियांै । अब एउटै प्यानल भएको छ, त्यो सहकारी प्यानल हो । यसका लागि अझै सक्दो प्रयास म गर्छु । साथीहरुबाट पनि सहयोग हुन्छ भन्ने मलाई विश्वास छ । निर्वातनको परिणामपछि मैले उहाँहरुसँग कुरा पनि गरेको छु । कार्यक्रममा पनि उहाँहरु बस्नु भयो । धेरै साथीहरु संग समन्वय भएको छ । त्यस्तो खास फरक पर्दैन । सबैलाई समेटेर जान्छौं ।
निष्कृय जस्तै रहेको काठमाडौं जिल्ला संघ केही वर्षयता आएर सक्रिय भएको छ । तपाईँजस्तो युवा यसको नेतृत्व गर्दै हुनुहुन्छ । देशकै नमुना संघ बनाउन तपाईँले के कस्ता योजना बुन्नु भएको छ ?
पक्कै छ । म पनि पाँच वर्ष अघि जिल्ला संघमा आएको हुँ । हामी आएपछि अलि बढी चलायमान भएको हो । यो अवस्थामा आउनुमा विशेष गरी हाम्रै भूमिका छ । हिजो जिल्ला संघमै बस्दा केही साथीहरुले आगामी कार्यकालको अध्यक्ष तिमी बन भनेर तीन वर्ष अघि नै भनेका थिए । त्यसले पनि मेरो सक्रियता पुष्टि गर्छ । काठमाडौं जिल्ला संघ सबै हिसाबले अगाडि छ । काठमाडौंमा चार हजार सहकारी संस्था छन् । १८ सय संस्था हामीसंघ आवद्ध छन् । आर्थिक कारोबारका हिसाबले दुईतीहाई भन्दा बढी काठमाडौंमै हुन्छ । यीं सबै हिसाबले सक्षम सहकारी धेरै छन् । जहाँ अवसर धेरै छन्, त्यहाँ चुनौती पनि त्यत्तिकै हुन्छन् । चुनौतीलाई अवसरमा बदल्ने हो, त्यसका निम्ती हामी लागेका छौं । पाँच वर्षमा हामी यो संघलाई देशको उत्कृष्ठ बनाएर देखाउने छौं ।
सहकारीमा शिक्षा, समयानुकूल ज्ञान र तालिमको अभाव छ । जसले गर्दासहकारीमा समस्या आएका छन् । जिल्ला संघले यसतर्फ कत्तिको ध्यान दिएको छ ?
हिजो हामीले पूर्व व्यवसायिक तालिममात्र गर्दै आएका थियौं । अरू तालिम एक दुई वटा भए होलान । तर गहन रूपमा भएको छैन । अब शिक्षा, तालिम, नेतृत्व अभिवृद्धि, क्षमता अभिवृद्धिको तालिम महत्वपूर्ण भएको छ । हरेक संस्थामा शिक्षा, तालिममा १० प्रतिशत कोष छुट्याएको हुन्छ । हामीले त्यो खर्चलाई सदुपयोग गर्ने पक्षमा छौं । धेरै साथीहरुले जिल्ला संघले निशुल्क तालिम दिनुपर्छ भन्ने गर्नुहुन्छ । संघको छुट्टै आयस्रोत हुँदैन । शिक्षा, तालिममा संस्थाले खर्च गरीरहेका छैनन् । हाम्रो पहिलो प्राथमिकता भनेको शिक्षा, तालिम हुनेछ ।
काठमाडौंका झण्डै चार हजार सहकारी छन् । १८ सय सहकारीले मात्र संघको सदस्यता लिएका छन् । त्यसलाई बढाउने बारेमा के सोच्नु भएको छ ?
काठमाडौंमा ३६ सय सहकारी कृयाशील छन् । जिल्ला संघमा आवद्ध भएर के पाइन्छ भन्ने सोचमा छन् । सबै सहकारीलाई जिल्ला संघले हरेक दिन गएर गतिविधि गर्न सक्दैन । लबिङको काम गर्ने हो । लबिङको काम गरिरहँदा संस्थालाई मेरो काम संघले गरिरहेको छ भन्ने थाहा हुँदैन । यो अनुभूति गराउन सकिएको छैन । सदस्यदा वृद्धिका लागि हामीले केही गर्नैपर्ने अवस्था छ ।
सहकारी बदनाम पनि भएका छन् नि ? यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
अहिले हाम्रा सदस्य मध्ये ११ वटा संस्था खारेजीमा परेका छन् । केही संस्था एकीकरण भएका छन् । केही मान्छे खराब नियतका कारण सहकारीमा प्रवेश गरेका हुन्छन् । यस्ता मान्छेको अध्ययन गर्न सकिन्छ जस्तो लाग्दैन । मलाई लाग्छ धेरै संस्थाहरु नजानेर समस्यामा परेका छन् । एउटा संस्थाले १५ करोडको कारोबार गर्छ । उसले ५० लाख रुपैयाँ तिर्न नसकेर बदनामी कमाइरहेको अवस्था छ । बजारमा १५ करोड खाएर भागेको हल्ला भैदिन्छ । १५ करोडमा १४ करोड उसले लगानी गरेको हुन्छ । तरलता १० प्रतिशत राखेको हुन्छ । एक करोड जुटाउन नसकेर उ बदनाम हुने स्थिति छ । यो कुरा हामीले सिकाउनुपर्छ । यसका लागि शिक्षा तालिम आवश्यक छ ।
ठग्ने नियतले आएकाहरुलाई राज्यसँग मिलेर कानुनी कारबाही गर्नेतिर लाग्नु पर्छ । हामीले शिक्षा, तालिम, इमान्दारीता र पारदर्शितामा जोड दिएका छौं । अहिलेको ७५ प्रतिशत समस्या शिक्षा, तालिमले हल गर्छ । त्यसको निम्ति जिल्ला संघ खटेर लाग्छ ।
केन्द्रीय संघ, जिल्ला संघको चुनाव आयो भने राजनीतिक दलको प्यानल बन्ने गरेको देखिन्छ । यो शैलीले त सहकारी क्षेत्र पनि पार्टीको भातृ संगठन बन्ने त होइन ?
यो ओपन सेक्रेट छ । देशमा राजनीतिक दलको हालीमुहाली छ । हामीले यस्तो रंग नदेखाउँ भन्ने सोचेका हौं । जिल्ला संघमा यसअघि यस्तो थिएन । समझदारी गर्न खोजिएको हो । पाँच वटा विकल्प प्रस्ताव गरेका थियौं । साथीहरुले मेरो नेतृत्वमा जान मान्नु भएन । उहाँहरुले पार्टीको भातृ संगठन बनाएर जानुभयो । काठमाडौंमा क्षेत्रिय सम्मको इकाई समिति बनाएर लाग्नु भएको छ । मलाई के डर छ भने हरेक संस्थामा इकाइ बनाएर जानु हुन्छ कि भन्ने चिन्ता छ । यसरी जानु हुँदैन भन्ने मलाइ लाग्छ । हामी यसको बिरुद्धमा लागेका छौं । सहकारी सबैभन्दा ठूलो क्षेत्र भएको छ । यसमा करिब ४५ लाख मानिस आवद्ध छन् । राजनीतिक दलको आँखा यस क्षेत्रमा लाग्नु स्वभाविक हो । राजनीतिक दललाई भोट चाहिएको हो । त्यसैले कुनै पनि पार्टी यसमा हात हाल्न खोज्छ । त्यो स्वभाविक पनि हो । तर यसलाई सहकारीकर्मीले नै रोक्ने हो । म पनि कुनै पार्टी सँग आवद्ध छु । सहकारीले पार्टी कन्भिन्स गर्यो कि, पार्टीले सहकारी सिध्याउने भन्ने स्थिति छ । हामी पार्टीलाई सहकारीको मान्छेले कन्भिन्स गर्नुपर्छ भन्ने लाग्छ । तर पार्टीका मान्छेले सहकारी क्षेत्रलाई कन्भिन्स गर्यो भने त्यो अप्ठ्यारोमा पर्छ । यसरी जानु हँुदैन । केही साथीहरु त्यसरी जानु भएको छ । ढिलो चाँढो परिणाम आउँछ ।
सहकारीलाई निष्पक्ष बनाउन के गर्नुपलाई ?
नेतृत्व गर्नेले विशेष ध्यान दिनुपर्छ । बाहिर जे जस्तो भएपनि सहकारी प्रवेश गर्दा राजनीतिक जुत्ता बाहिर गेटमै खोलेर छिर्नुपर्छ । मैले त्यो कुरा आफूमा लागु गर्न सकें भने अरुलाई गराउन सकिन्छ । विशेष गरी राष्ट्रिय संघ, केन्द्रीय संघमा जो जो हुनुहुन्छ, उहाँहरुले यस विषयमा बढी ख्याल गर्नुपर्छ । सहकारीमा समान व्यवहार हुनुपर्छ । राम्रो सहकारी, राम्रो सहकारीकर्मीलाई मात्र प्रोत्साहन गर्ने हो भने यो समस्या न्यून भएर जान्छ । हामीकहाँ अलि बढी राजनीतिक भएको छ । यसलाई निमिट्यान्न पार्न जरुरी छ । यसका लागि सबै मिलेर लाग्नुपर्छ । राजनीतिककर्मीलाई कन्भिन्स गर्नुपर्छ । अहिले जागरणको बेला हो । जागरणको बेलामा यस्तो हुनु त्यति धेरै अन्यथा पनि मान्नु हुँदैन ।
अन्त्यमा, समग्र सहकारी अभियानका बारेमा केही भन्नु छ ?
हामी धेरै बर्षदेखि सहकारी अभियानमा छौं । केही गर्छौं भन्ने अवस्थामा हामी छौं । यो क्षेत्रले राज्यलाई केही गरेर देखाउनु छ । त्यो गरियो भने सफल भइन्छ । मेरो अर्को क्षेत्र छैन । सहकारी छोडेर अन्य क्षेत्रमा जान पनि सक्दिन । हामीले कति गर्न सक्छौं, गर्ने हो । यसमा निम्ति सबै पक्ष मिलेर जानुपर्छ । सहकारी र सञ्चार क्षेत्रबीच को–अर्डिनेसन छैन । सहकारी, राज्य र सञ्चार मिलेर जान सके मात्र सहकारीको विकास हुन्छ । हामीले धेरै गर्नुपर्ने छ । यसको निमित्त आत्मविश्वास, जोश, जाँगर, योजना, धैर्यता हुनुपर्छ ।