१ असार २०७८, मंगलवार

सहकारी सम्बन्धी कस्तो विचार बनाउने हो ?

३ पुष २०७०, बुधबार
सहकारी सम्बन्धी कस्तो विचार बनाउने हो ?

–लेखनाथ ढकाल

सहकारीको उत्पत्तिसंगै विचारमा विभिन्नता आउने गरेका र विचारहरूका बीचमा उचित विचारको छनोट गरेर व्यवहारमा अगाडि बढेको इतिहास छ । व्यवहारले सही विचारलाई स्थान दिदै जाने र परिमार्जन हुदै जाने गर्दछ । “सिक्दै जाने, काम गर्दै सिक्ने र सिक्दै काम गर्ने” विकासको आधार यही हो । रोबर्ट ओवेनको “सहकार्यका आधारमा उत्पादन र आवश्यकताका आधारमा उपभोग” भन्ने कुरालाई रोचडेलका श्रमिकहरूले जस्ताको तस्तै व्यवहारिक हुने देखेनन् । ओवेनाइट विचारका मानिसहरू र नयाँ व्यवहारिक कुराको बीचमा लामो छलफल चल्दथ्यो । अन्तमा शेयरका आधारमा सिमित लाभांश दिने र कारोबारका आधारमा पनि लाभांश दिने सिद्धान्त रोचडेलका अगुवाहरूले अपनाए । यो सहकारी आन्दोलनमा एउटा युगान्तकारी सिद्धान्तका रूपमा स्थापित भयो । विचार र व्यवहारिक अनुभवका आधारमा सहकारी आन्दोलन अगाडि बढ्दै आएर आज समाज विकासको दर्शनको हैसियतमा स्थापित हुन पुगेको छ । सहभागिता, समानता, सामाजिक न्याय, व्यवसायिक संगठनको संरचना, आन्तरिक नियमनकारी संरचना, सदस्यको प्रजातान्त्रिक सहभागिता, संस्थगत सामाजिक जिम्मेवारी, समुदाय र वातावरणप्रतिको जिम्मेवारी आदि कुरामा सहकारी मोडेलका व्यवसायिक संगठन आजको मानव समाजमा सबैभन्दा उत्तम रहेको तथ्य सबैले स्वस्कार गरेका छन् । सन् २०१२ लाई संयुक्त राष्ट्र संघको आह्वानमा अन्तर्राष्ट्रिय सहकारी वर्षको रूपमा सम्पन्न भयो भने एक्काइसौ सताब्दीको दोश्रो दशक(सन् २०२० सम्म)लाई ‘सहकारी दशक’ घोषणा गरिएको छ । सहकारी आन्दोलनको विकासक्रममा विविध खालका विचारहरूको बीचमा छलफल हुदै आएको रोचक इतिहास छ । आ–आप्mना देशमा, आ–प्mना विषयमा, विविध राजनीतिक विचारधारमा, विविध आर्थिक सामाजिक पृष्ठभूमिका सहकारीको अभ्यासका लागि विविध खालका विचारहरूमा चिन्तन–मनन, अध्ययन, छलफल हुन अश्वभाविक पनि हैन ।

नेपालको सहकारी आन्दोलनको विकासक्रम पनि रोचक इतिहासले भरिपूर्ण छ । नेपाली इतिहासको विभिन्न कालखण्डमा भएका सहकारीका अभ्यास र त्यसका विविध आयामहरूको बिश्लेषण गर्ने काम यो पङतिकारको क्षमताले भ्याउने विषय होइन । यद्यपि हालको समयका केही विषय आम सहकारीकर्मी, नागरिक समाज र चासो राख्ने सबैमा छलफलका लागि उठाउन आवश्यक देखेको हो । पहिलो, सहकारी सामाजिक विकासको सहयोगी औजार हो भन्ने कुरा सबैले मानेको कुरा हो । सहकारीको परिभाषा पनि आर्थिक–सामाजिक–साँस्कृतिक आवश्यकता पुरा गर्ने व्यवसायिक संगठन हो भन्ने स्पष्ट अभिव्यक्ति गर्ने रहेको छ । यसको स्पिरिट अनुसार सहकारी समाज विकासको आधार हो भन्ने बुझिन्छ तर हाम्रो अन्तरिम संबिधानमा निजी क्षेत्र र राज्य सरहको एक क्षेत्र हो भन्ने गरी तीन खम्बे नीति उल्लेख गरिएको छ । सहकारीलाई अर्थतन्त्रको एक खम्बा मानिएको छ । एउटा विचार राज्यका जिम्मेवारीमा रहेका सबै तथा सहकारी आन्दोलनको नेतृत्व यो कुरालाई ठूलो उपलब्धी रहेको वयान गर्छ । गौरबशाली वयानमा सहकारीले तीन खम्बे मान्यता पाएको भनिन्छ, व्यवहारमा नतिजा भने यसबाट सहकारीको संख्यात्मक बृद्धि असाध्यै तीब्र रहेको देखिनु बाहेक केही नरहेको टिप्पणी गर्ने केही सहकारीकर्मीको अभिव्यक्ति देखिन्छ । खासमा नेपाल जस्तो देशको आर्थिक विकासको आधार सहकारी अर्थतन्त्र हो भन्नु पर्नेमा सहकारीको मर्म र भावनालाई आघात पुग्ने खण्डित अभिव्यक्ति हो ‘तीन खम्बे नीति’ भन्ने एउटा विचार र तीन खम्बे नीति नै सर्बथा उपयुक्त हो भन्ने विचार सामान्य जस्तो लागे पनि सहकारी आन्दोलनलाई स्थायी, दिगो, भरपर्दो र परिणाममुखी बनाउने कुरामा अहम महत्व राख्ने विषय हुनेछ भन्ने अनुमान गर्न सकिन्छ ।

दोश्रो, सहकारी नागरिकहरूको स्वतन्त्र गतिविधि हो । निजी क्षेत्र र राज्यले गर्न नसक्ने कुरालाई सहकारीको माध्यमले नागरिहहरूले सजिलै सम्पन्न गर्ने कुरा दुनियामा स्थापित मान्यता बनिसकेको छ । नागरिकहरूको चेतना राज्यभन्दा माथि हुन्छ, कतिपय कुरामा विविध कारणले राज्यले गर्ने काम नागरिकहरूले गर्दा सजिलो, छिटो, कम खर्चमा हुने त छदैछ विकासमा नागरिकक सहभागिताका लागि सहकारीलाई सहयोग, समर्थन र सुरक्षा गरी स्वतन्त्र रूपमा चल्न दिने कुरा विश्वका सबैले अपनाएको पेउपाय हो । समाजको द्रुततर विकासमा नागरिकको स्वतन्त्र भूमिकाको महिमा सबैलाई थाह भएको विषय हो । हाम्रो देशमा सहकारीलाई यसरी नै हेरिनु पर्छ भन्ने विचारलाई महत्वहीन ठान्दै सहकारीको छुट्टै मन्त्रालय चाहिने कुरा सहकारी आन्दोलनले मागकै रूपमा उठाइरह्यो र ‘सहकारी तथा गरिबी निवारण मन्त्रालय’ बन्नुलाई ठूलो उपलब्धी मानेको छ । सहकारी आन्दोलनलाई बुभ्mने, यसको उपयोगिता र सङक्रमणकालमा सहकारी क्षेत्रको भूमिकाका विषयमा यो विषयको अहम महत्व रहने छ । अझ संघीयता लगायत सामजिक क्षेत्रका विविध आयामहरूमा सहकारीले खेल्ने भूमिकामा यो विषय महत्वपूर्ण रहने छ । सहकारी क्षेत्र पनि राज्यकै कार्यक्रम हो वा नागरिकहरूको स्वतन्त्र गतिविधि हो भन्ने कुरामा वैचारिक स्पष्टताकै लागि पनि यो विषय सम्बेदनशील हुनेछ ।

कयौं यस्ता विषय छलफल गर्न सकिन्छ । सहकारी क्षेत्र पनि अव व्यापक बनेको छ । कयौ सहकारीकर्मीहरू बैचारिक रूपमा उच्च स्तरबाट अध्ययन गर्र्ने विश्लेषण गर्ने तहमा रहेको अवस्था छ । राजनैतिक नेतृत्वमा रहेका कयौ नेताहरू सहकारी आन्दोलनका विषयमा उच्च स्तरीय ज्ञान राख्नु हुन्छ । विश्वविद्यालय र प्राज्ञिक क्षेत्रमा पनि यो विषयमा अध्ययन अनुसन्धान हुनुपर्छ भन्ने प्राज्ञ हुनुहोला । सञ्चार क्षेत्र धेरै अगाडि आएको छ । राजनीतिक पार्टीहरू सहकारी आन्दोलनलाई देशको आर्थिक सामाजिक रूपान्तरणमा महत्वको विषय बताई रहेको अवस्था छ । यस सन्दर्भमा केही वैचारिक कुराहरूमा गहन चिन्तन हुनु आवश्यक छ । यस्तै समसामयिक समयमा विश्वमा के कस्ता अनुभव रहेको छन र मानव चेतनाको वर्तमान समयमा यी विषयलाई कसरी लिइएको छ भन्ने कुरालाई ख्याल गर्न आवश्यक ठानिएन भने हामी धेरै पहिलेका अवस्थामा नै अलमल गर्न परिरहन्छ ।

(छलफल र चिन्तन–मनन का लागि यो आलेख तयार पारिएको हो, सबैमा सुझाव–प्रतिकृयाका लागि अनुरोध छ ।)

अभिलेख

लोकप्रिय