१३ बैशाख २०८१, बिहीबार

सहकारी सदस्यहरुको सचेत भूमिका आवश्यक

१४ माघ २०७०, मंगलवार
सहकारी सदस्यहरुको सचेत भूमिका आवश्यक

सहकारी भन्नाले समान आवश्यकता, पेशा, व्यवसाय र वर्गका व्यक्तिहरु मिलेर सहकार्य गरी समस्या समाधान मार्फत आवश्यकता परिपूर्तिको संयुक्त प्रयास भन्ने बुझिन्छ । सहकारी संस्था संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यावसायमार्फत आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकाङ्क्षाहरु परिपूर्ति गर्न स्वेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरुको स्वायत्त व्यवसायिक संगठन हो । सहकारीहरु समुदायका व्यक्तिहरु मिलेर संचालित एउटा संस्था हो । हाल केही सहकारीमा मनपरी गैर सदस्य र कार्यक्षेत्र बाहिर गएर कारोबार गर्ने प्रचलन नेपालमा चलेको छ । समुदायमा आधारित नहुनु यसको मूख्य समस्या हो । यदि कार्यक्षेत्र बाहिर र गैर सदस्यसंग कारोबार गरिरहने हो भने त्यसले सहकारी अभियान लाई प्रतिकूल प्रभाव पार्ने निश्चित छ ।

बचतकर्तालाई देखावटी रुपमा एकसयको शेयर खरिद गरेको देखाएर वा कतिपयमा शेयर सदस्य र कारोबारी सदस्य भनी खातापत्र राखेको पाइन्छ । जे भने पनि ती सहकारीका सदस्यहरु हेइनन् भन्ने प्रष्ट छ । किनभने यिनीहरुलाई सदस्यको हैसियत प्रदान गरिएको छैन नत साधारण सभामा भाग लिन बोलाइन्छ । संस्था गठन हुंदा नै संस्थाको प्रकृतिका बारेमा स्पष्ट हुन्छ र सोही अनुसार कार्यक्रम तथा सेवाहरु क्mेन्द्रित गर्नु पर्दछ । कृषि सहकारी भन्या छ व्यापारीसंग बचतको मात्र कारोबार गरेको छ, बहुउद्देश्यीय भन्या छ बचत ऋणको मात्र कारोबार गरेको छ, नियमित साधारण सभा गरेको छैन र गरेपनि गणपूरक संख्या नै पुगेको छैन, उद्देश्य अनुसार खातापाता व्यवस्थित गरेको छैन,मनलागी सेवा शुल्क असूल गरेकोे छ, मनलागी व्याजदर तोकेको छ,, मनलागी प्रवेश शुल्क, कर्जामा सेवा शुल्क, सेवा उपभोगमा सेवाशुल्क, शेयर रकममा थप अतिरिक्त शुल्क जस्ता अप्राकृतिक शीर्षकमा आम्दानी गर्ने चलनले सहकारीलाई नव विचौलियाको रुपमा चित्रण गर्ने अभ्यास भएको गुनासा आउन थालेका छन् । अझ केही संस्थाको सदस्यता प्राप्त गर्न कठिन भएको वा संस्थागत शुल्कका नाममा हजारौ रकम लिने गरेको सुन्न पाइन्छ । यी समस्याहरु केही सहकारीहरुको प्रतिनिधिमूलक उदाहरण मात्र हुन् सबैमा यस्तै समस्याहरु छन् भन्न खोजिएको होइन ।

अत यस सन्दर्भमा सहकारी संस्थाहरु कानुनी प्रणालीलाई अबलम्बन गर्दा मात्र सहकारी सफल भएको मानिन्छ । सहकारीको दिगो विकासका लागि सहकारी ऐन, नियम,सहकारी मापदण्डको पालना गर्न आवश्यक छ । सहकारी सिद्धान्त र उद्देश्य विपरीत कार्य गरेमा सहकारीको दर्ता खारेजी गर्न सकिने व्यवस्था सहकारी ऐनमा गरिएको छ । गैर सदस्य कारोबार, कार्यक्षेत्र बाहिर कारोवार, निजी व्यवसायमा लगानी, कोषको अपचलन, साधारणसभा भन्दा बाहिरबाट सञ्चालक नियुक्ती, विना इजाजतका व्यवसाय, लोभ्याउने विज्ञापन, एकभन्दा बढी संस्थाको सञ्चालक हुने, दोहोरो सदस्यता, कार्यक्षेत्र बाहिरबाट सञ्चालक बन्ने, कृत्रिम लेखापरीक्षण तयारी र मापदण्ड विपरीतको कारोबार जस्ता कार्यहरु गरेमा सञ्चालक उपर ठगीमा कारवाही गरिने व्यवस्था सहकारी मापदण्डले गरेको पाइन्छ । व्यवहारमा हेर्दा संस्थाहरुमा धेरथोर यस्ता कमजोरी नहोलान् भन्न सकिन्न ।

यस्ता गैरकानुनी काम हुनबाट बच्न बचाउन सदस्यहरु चनाखो हुन जरुरी देखिन्छ । सदस्यहरुले सहकारीको वास्तविक अर्थ, सहकारी संस्था गठन गर्नु पर्नाका कारण, सहकारी संस्थाबाट कुन उद्देश्य पूर्ति गर्ने हो, संस्था गठन गरेर सदस्य भएपछि सदस्यले निर्वाह गर्नु पर्ने जिम्मेवारी के के हुन् सर्वप्रथम बुझ्न जरुरी छ । संस्थाको सदस्य बनेर÷संस्था गठन गरेर उद्देश्य आवश्यकता पूर्ति हुन्छ हुँदैन,सबै सदस्य एकजुट भएर काम गर्ने÷सामुहिक उद्देश्य पूर्ति गर्ने कुरा व्यवहारमा लागु हुन सक्छ सक्दैन ?, संस्था गठन गरेपछि हिजो भइरहेको फाइदा÷पाइ राखेको सेवा, सुविधामा वृद्धि हुने वा गुम्ने के हो, अरु गाँउमा संस्था खोलियो भन्ने भनाई वा अरुको देखासिकीमा संस्था खोल्नु र क्षणिक आवेगमा आएर संस्था दर्ता गर्नु राम्रो हुंदैन । संस्था दर्ता गरी सकेपछि यसलाई निरन्तरता दिनु पर्दछ । एकपटक दर्ता भएको संस्था विघटन गर्न समेत लामो प्रक्रियाहरु पूरा गर्नु पर्ने हुन्छ । दर्ता गर्न जति सजिलो छ, विघटन गर्न त्यत्तिकै गाह्रो पर्दछ, यस विषयमा सदस्यहरु गंभिर हुनुपर्दछ ।

दर्ता भइसकेको संस्थासंग कारोवार गर्दा पनि विशेष ध्यान दिएर मात्र कारोबार गर्नुपर्दछ । बढी र आकर्षक ब्याजको लोभमा परी संस्थाको यथार्थ स्थिति जानकारी नलिइ कारोवार गर्दा फस्न सकिने कुरा राम्ररी सोच्नुपर्दछ । बढी ब्याज दिनेहरुको नियत धेरै रकम संकलन गरी भाग्ने पनि हुन सक्छ । गलत मनसायले गठन गरी कारोवार गर्ने केही संस्थाहरु विशेष गरेर “बचत तथा ऋण सहकारी संस्था लि.”हरुले सदस्यहरुलाई संस्थापक सदस्य र कारोवारी सदस्यका रुपमा सदस्यता प्रदान गर्ने गरेको वा सदस्य नै नभएका व्यक्तिहरु (गैरसदस्य) संग कारोवार गर्ने गरेको पनि पाइन्छ । त्यस्ता गैरकानूनी एवं छद्म व्यवहारलाई सहकारी विभागले विभिन्न परिपत्र तथा पत्रपत्रिका मार्पmत सूचना प्रकाशित गरी सुधार गर्न जानकारी गराउँदै कारवाही समेत गर्दै आएको छ । अतः “शेयर सदस्य” नवनाई अन्य विभिन्न किसिमको सदस्य वनाई कारोवार गर्ने संस्थाको सदस्य बन्नु हुदैन । बनेको खण्डमा दुःख गरेर संकलन गरेको बचत रकमको सुरक्षा नहुन सक्छ । संस्थाका संचालक को को छन् ? जानकारी लिने, संस्थाका संचालक विश्वास गर्न योग्य व्यक्ति हुन होइनन् ? निजहरुको कार्य दक्षता उपर भर पर्न सकिन्छ सकिंदैन राम्ररी वुझेर मात्र सदस्यता लिनुपर्दछ । संस्था नाफा नोक्सान के कस्तो स्थितिमा छ, शाखाको रुपमा संचालन भईरहेका संस्थाहरुको बैधानिकताको अवस्था बारे बुझेर मात्र कारोबार गर्नुपर्दछ । सहकारी संस्थाहरुको शेयर सदस्य (शेयर होल्डर) नवनिकन बचत जम्मा गर्ने, ऋण्( लिने लगायतका कुनै पनि कारोवार गर्ने कार्य कानूनले वन्देज गरेको छ । सदस्य नबनी गरेको बचत जोखिममा पर्दछ ।

संस्था आफ्नो पहँुच, नियन्त्रणभित्र हुन्छ वा हुंदैन ? संचालक र साधारण सदस्यहरु आपूm बसोबास गरेको क्षेत्रका, जानपहिचान भएका छन् छैनन्, उक्त कुरा बीचार गरेर आपूm ढुक्क भएपछि मात्र सदस्य बन्नु पर्दछ । कसैको करकाप वा दवावमा सदस्य बन्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह हो । सके सम्म संचालकहरुको चरित्र, विगतको छवि, आनिवानी राम्रो भएको नभएको,संस्थाका संचालक, कर्मचारीहरु र निजका नातेदारहरुले ऋण लिएको भए पर्याप्त सुरक्षा वा जमानत राखेको छन् छैनन, आफ्नो बसोवास संस्थाको कार्यक्षेत्रभित्र पर्छ पर्दैन बुझेर सोधेर मात्र सदस्य बन्दा सुरक्षित भइन्छ । संचालकहरुले कर्मचारी नियुक्ति गर्दा सक्षमता वास्ता नगरी आफ्ना मान्छे भर्ना गरी आम्दानीको अनुपातमा अनावश्यक बढी तलब सुविधा दिने गरी नियुक्ती गरेको पो छ कि आदि जस्ता विषयहरुमा बीचार पुर्याई विश्लेषण गर्दा संस्था भरपर्दो लागेमा र पायक पर्ने स्थानमा भएको निश्चित भएपछि शेयर सदस्य बन्ने इच्छा, आवश्यकता र क्षमता भएमा त्यसै संस्थाको विनियम सम्मत ढंगले संस्थामा आवेदन दिई संचालक समितिको निर्णयबाट सदस्यता प्राप्त गरी आफ्नो लगानी बराबरको शेयर संख्याको शेयर सदस्यताको प्रमाण–पत्र लिइ सुरक्षित तरिकाले कारोवार गर्दा मात्र सदस्यले आफ्नो भूमिका निर्वाह गरेको ठहर्छ ।

आफू सदस्य भएको सहकारी संस्थाको हरेक गतिविधमा सहभागी बनी संस्थालाई नजिकबाट निगरानी अनुगमन गरी आफ्नो संस्थाको उन्नति प्रगतिमा सदस्यले योगदान गर्नुपर्दछ । गैरकानुनी कार्यहरु भएका छन् भने बेलैमा नियन्त्रण गरिएन भने आफ्नो बचत रकम जोखिममा पर्नसक्ने विषयमा सदस्य गम्भीर हुनुपर्दछ । वार्षिक लेखापरीक्षण पनि नहुने र साधारण सभा पनि नगर्ने संस्थामा गलत काम कारवाही भइरहेको हुन सक्छ । संस्थामा संचालक समितिको एकाधिकार रहेको र साधारण सदस्यको आवाजको कुनै सुनुवाई÷कदर नहुने हैकमवादी व्यवस्थापन प्रणाली लागू छ कि ? संस्था धनी बन्दै जाने तर संस्थाको भूमिकाको कारणले सदस्यको अवस्थामा कुनै सुधार देखिएन भने सदस्य बन्नुको औचित्य रहँदैन । वेलावेलामा वा कम्तिमा महिनाको १(एक) पटक संस्थामा गई निरीक्षण गर्नुपर्दछ ।संकलक वा अन्य व्यक्ति मार्पmत बचत जम्मा गर्ने गरेको छ भने समय समयमा संस्थामा गई आफ्नो रकम÷कारोवार दुरुस्त एवं सुरक्षित छ छैन जाँच गर्नुपर्दछ यसरी संकलकमार्फत जम्मा गरेको निक्षेपको हिसाबकिताव नमिलेका धेरै उदाहरण भेटिन्छन् ।

संस्थाले संकलन गरेको रकम के कस्तो र कुन कुन कार्यमा लगाउंदै छ÷खर्च गर्दैछ, संस्थाले आम्दानीबाट खर्च गर्नु पर्नेमा निक्षेप वा बचतबाट पो घर भाडा विजुली, पानी, कर्मचारी तलव तथा सुविधा आदिमा खर्च गर्ने गरेको छ कि, संस्थाले प्रचलित सहकारी सिद्धान्त, सहकारी ऐन २०४८, सहकारी नियमावली २०४९, विभागका परिपत्र÷सूचनाहरु, सम्बन्धित सहकारी कार्यालयले दिएको निर्देशन, सुझावहरुको पालना गरे नगरेको सम्बन्धमा स्पष्टसंग संस्थामा गएर वा जान्ने वुझ्ने मान्छे मार्फत बुझ्नुपर्दछ र यदि यी प्रावधान पालना नगरी गैर कानूनी क्रियाकलाप गरेको पाइएमा यस प्रवृत्तिका विरोधमा आवाज उठाउनुपर्दछ वा सहकारी कार्यालयमा उजुर गर्नुपर्दछ किनकी आफूले जम्मा गरेको वचतको सवाल महत्वपूर्ण छ ।

संस्थाका प्रत्येक सदस्यको संस्थामा सामाजिक, आर्थिक, सांस्कृतिक, र व्यवसायिक जिम्मेवारी रहन्छ । संस्थाको साधारण सभामा सहभागी भई संस्थाले वर्ष भरि गरेका आर्थिक, व्यवसायिक, सामाजिक, सांस्कृतिक क्रियाकलापहरुको बारेमा जानकारी लिई चित्त नबुझेका, गलत ढंगले सम्पादन गरिएका विषयहरुमा अन्र्तक्रिया गर्ने, गल्ती गर्ने उपर कारवाहीको माग गर्ने, असल काम गर्नेको प्रशंसा गर्ने, पुरस्कारका लागि पहल गर्ने, भावी योजना तर्जुमा र कार्यक्रम निर्धारणमा सुझाव दिने कार्यहरु गर्नु पर्दछ । साधारण सभा लगायतका सहकारी संस्थाका प्रत्येक व्यवस्थापकीय अंगमा निर्णयका लागि पेश गरिएका प्रस्तावहरु सबै ठिक र उपयुक्त नहुन सक्छन्, बुझेर ठीक भए मात्र स्वीकार गर्नुपर्छ । प्रत्येक सदस्यले संस्थामा हुने निर्णय र क्रियाकलापको बारेमा जानकारी लिई अन्य सदस्यहरुलाई समेत जानकारी दिने, राय प्रतिक्रिया भए सुझाव दिने,गलत निर्णयको विरोध गर्ने कार्यमा पछि पर्नु हुंदैन । संस्थाको कारोवारमा अनियमितता भएको जानकारी भएमा अन्य सदस्यहरुमा लेखा समितिमा, साधारण सभामा, सम्बन्धित डिभिजन सहकारी कार्यालयमा, सम्बन्धित संघहरुमा लिखित जानकारी गराउनु पर्दछ । आफू सदस्य भएको संस्थामा गैरकानुनी काम हुनबाट बचाउन र गम्भीर प्रकृतिका सम्भावित दुर्घटनाबाट आफू बच्नु र संस्थालाई पनि बचाउनु सदस्यको परम जिम्मेवारी हो ।

– नेत्रप्रसाद घिमिरे
सहकारी अधिकृत, डिभिजन सहकारी कार्यालय झापा

npghimire33@yahoo.com

Facebook id Netra Prasad Ghimire

अभिलेख

लोकप्रिय