१३ बैशाख २०८१, बिहीबार

‘सहकारी मार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय’

१५ जेष्ठ २०७१, बिहीबार
‘सहकारी मार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय’

Bishnu Prasad Subedi_Sahakarikhabar–बिष्णु प्रसाद सुबेदी
सहकारीमा सेवाहरुको व्यवस्थापन देशका कृषक, कालीगढ, कम पुंजीवाल र निम्न आयवर्ग श्रमिक, भूमिहीन तथा वेरोजगार वा सामाजिक कार्यकार्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकासको लागि पारस्परिक सहयोग र सहकारीताको आधारमा विभिन्न किसिमका सहकारी संस्था र संघहरुको गठन र संचालन गरि आफ्नो व्यवसाय सञ्चालन गर्न सहकारीकर्मीहरु लागेको वर्तमान परिप्रेक्षमा, सहकारी संस्थाहरुको व्यवसायिक कारोवार संचालन सदस्य केन्द्रित हुने भएकोले यस्ता संस्थाहरुमा व्यवस्थापन गर्दा सदस्यहरुलाई केन्द्रविन्दुमा राख्नु जरुरी हुन्छ ।

सदस्यहरुका इच्छा, आवश्यकता, चाहना, अभिलाषा, आर्थिक र सामाजिक संरचना आदि पक्षलाई पुर्ण विचार गरि उनीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक आदि समग्र पक्षको विकास गर्नु नै यस्ता सहकारी संस्थाहरुको प्रमुख उद्देश्य रहेको हुन्छ । सहकारी संघ संस्थाको नीतिगत निर्णय साधारण सभाले संस्था वा संघको विनियम, सहकारी ऐन र नियमावली तथा अन्य प्रचलित कानुनको अधिनमा रही गरेको हुन्छ । त्यसरी गरिएको निर्णय कार्यान्वयन गरि सदस्यहरुको हितमा व्यवस्थापन कार्य गर्नु सञ्चालक समितिको कार्य हो । उसले आफ्नो कार्य सम्पादनका लागि आवश्यक मात्रामा कर्मचारी तथा व्यवस्थापकको नियुक्ति गर्न सक्दछ । यसका साथै सञ्चालकहरुले सम्पादन गरेका कार्यहरुको औचित्य, मितव्ययिता समेतको विचार गरि वित्तिय कारोवार लगायतका कारोवारको आधारमा आन्तरिक लेखा परिक्षण गरि गराई सुझाव पेश गर्ने लगायतका काम लेखा समितिले गर्दछ । तसर्थ सहकारी सस्थाहरुमा व्यवस्थापन अन्तर्गत व्यवस्थापकीय कार्यहरुको प्रयोग निम्न वमोजिम गर्नु उपर्युक्त मानिन्छ । सञ्चालक समितिले सकारात्मक र व्यवसायिक कार्य गर्ने खालका कार्यक्रमहरु तयार गरि साधारण सभावाट अनुमोदन गराई कार्य गर्नु पर्ने हुन्छ ।

संस्थाको दीर्घकालिन सोच सहितको सुस्पष्ट नीति निधारर्ण गरि सहकारी संस्थाहरुले आफ्ना अल्पकालिन, मध्यकालिन र दीर्घकालीन योजना तर्जुमा, स्वीकृति र कार्यान्वयन गर्दा शेयर सदस्यहरुको आवश्यकता, चाहना, रुची, दक्षता, सीप, उपयोगको स्थिति, उपलव्ध श्रोत साधन र पुर्वाधारको स्थिति आदिमा पर्याप्त गृहकार्य गरि गर्नुपर्दछ । संस्थाले योजना वनाउदा आफ्नो र सदस्यहरुसंग उपलव्ध साधन र श्रोतको वारेमा पर्याप्त जानकारी राख्नुपर्दछ । यस कामको लागि सहकारी संघ वा संस्थाले विज्ञ तथा आफ्ना सदस्यहरु मध्येवाट वनाइएको उपसमितिहरुको सहयोग लिन सक्दछ । योजना आफ्नो क्षेत्रको संभाव्यता सदस्यको रुची र क्षमता,अनुसार व्यवसायीक दृष्टि कोणले उपयुक्त व्यवसाय सञ्चालन गर्नु पर्ने हुन्छ ।

सहकारी संगठनात्मक व्यवस्थालाई छरितो प्रभावकारी मितव्ययी बनाई सहकारी संस्थाको सांगठनिक संरचनाको निर्धारण तथा कामहरुको वांडफांड प्रभावकारी बनाउनु जरुरी देखिन्छ । संस्थाले राखेको उद्देश्य प्राप्तिका लागि वनाईने योजनालाई कार्यरुप दिन श्रोत र साधनको व्यवस्था कसरी मिलाउने, उपलव्ध श्रोत र साधनलाई कसरी प्रभावकारी रुपमा परिचालन गर्ने उक्त कार्यका निमित्त संचालक, उपसमितिहरु, व्यवस्थापक र कर्मचारीको काम कर्तव्य अधिकार उत्तरदायित्व जिम्मेवारी, जवाफदेहिता आदि कस कसलाई के कसरी प्रदान गरि कार्य सम्पादन गर्ने र यसमा समन्वय कसले र कसरी गर्ने भनि एकिन गरि सोही वमोजिम वांडफांड गर्नुपर्दछ । सहकारी संस्थाको आन्तरिक संगठनात्मक स्वरुपमा क्रमशः साधारण सभा, सञ्चालक समिति, लेखा समिति, उपसमितिहरु, कर्मचारीहरु रहेका हुन्छन् । त्यसै गरि तहगत संरचनामा प्रारम्भिक सहकारी संस्था, माध्यमिक सहकारी संघ, विषयगत केन्द्रीय सहकारी संघ, र राष्ट्रिय सहकारी संघ रहेको पाइन्छ । अन्तरराष्ट्रिय सहकारी महासंघ रहेको छ । जति संरचना एवं संगठन रहेका छ ति सबैले सहकारीको मुख्य मान्यता एवं सहकारी क्षेत्रको विकासमा सकारात्मक सहयोग र चाहना राख्ने खालको हुनुपर्छ ।

सहकारीको सोच, शैली, संत्कार, सस्कृति सकारात्मक राख्दै सहकारीमा ‘इमान्दारीता र पारदर्शिता सहकारीका लागि अपरिहार्यता’ भन्ने आर्दशलाई सहकारी संस्थामा आवद्ध पदाधिकारीहरु, कर्मचारीहरु र सदस्यहरुको इच्छा, आकांक्षा, आचारण, आवश्यकता आदि पक्षमा व्यवस्थापन गर्ने व्यक्ति समुहले विचार पुर्याई उनीहरुसंगको सीप, ज्ञान, अनुभव, श्रोत साधनलाई अधिकतम परिचालन गराउन प्रेरण जाग्ने वातावरण निर्माण हुनसक्ने गरि नेतृत्व प्रदान गर्न जरुरी हुन्छ । यस्तो वातावरणले संस्था प्रति सवैको सकारात्मक धारणा वस्दछ जुन संस्थाको सवभन्दा ठूलो पूंजी हुन्छ । त्यसैले संस्थाको नेतृत्व शैली निर्देशनात्मक भन्दा सहभागीतात्मक हुनु उपयुक्त मानिन्छ । यसका लागि नेतृत्व पारदर्र्शी अरुका विचार सुन्ने, ठीक समयमा सहि निर्णय गर्न सक्षम हुनु नितान्त आवश्यक हुन्छ । साथै नेतृत्वले समुदायको भावना सहकारी ऐन मूल्य मान्यता सिद्धान्तको अनुशासन पालन गर्नु पर्ने हुन्छ ।

सहकारी नियन्त्रण पद्धतिले विशेष गरि सहकारी शुसासन र कुशल सक्षम, प्रभावकारी नेतृत्व सहितको संचालक समिति र व्यापक शेयर सदस्य सहितको संस्थाले आफ्ना काम कारवाही संचालन गर्दा सुिनश्चित उद्देश्य प्राप्ति तर्पm केन्द्रित गर्ने बिषयहरु पर्दछन् । सहकारी संस्थाहरुले आफुसंग आवद्ध पक्षका क्रियाकलापहरुको मापन गरि आफ्नो उद्देश्य र योजना उन्मुख वनाउन आवश्यक सुधार गर्न स्वउत्प्रेरित गर्नुपर्ने हुन्छ । जसले गर्दा उनीहरुवाट सम्पादन गरेको कार्यले संस्थाको उद्देश्य प्राप्तिमा योगदान गरोस । नियन्त्रणको तात्पर्य सवै कारोवार योजना अनुरुप नै भैरहेको छ छैन एकीन गरि सो वमोजिम नभएको भए समयमै कारण पत्ता लगाई सुधारात्मक पाईला चाल्नु पनि हो ।

नविनताः– नया“पन, नया क्षेत्रको खोजी
निष्पक्षताः– सदस्यलाई समान अवसर,
पारदर्शिताः– सदस्य सेवा, स्पष्ट र सवैले बुझ्ने, दिगोपना र निरन्तरता,
विभेदः– सदस्य र गैर सदस्य बीच पहिलो प्राथमिकता शेयर सदस्य र दोश्रो अन्य मितव्ययी ढंगले सञ्चालन गर्न सक्नु पर्दछ ।
सहजता र मितव्ययिताः– सरल कुशल र मितव्ययी ढंगले सञ्चालन गर्न सक्नु पर्दछ ।
गुणस्तरीयताः– सेवाको स्तर राम्रो हुनुपर्दछ ।
असल व्यवहारः– सबै पक्षसंग असल व्यवहार गर्नु पर्दछ ।
पुनरावलोकनः– सेवा समय समयमा पुनरावलोकन गरिनु पर्छ ।

सहकारी संस्थाहरुले व्यवस्थापकीय कार्यहरुको साथसाथै व्यवशायिक कारोवार संचालन कार्यहरु सम्पादन गर्नुपर्दछ । ‘एक का लागि सबै र सबैका लागि एक’ भन्ने आर्दशका आधारमा सहकारी कारोवारको सम्वन्ध सदस्यहरुसंग रहेको स–सानो रकमलाई शेयर र वचतको रुपमा संकलन गर्नु, संकलित रकमलाई उनीहरुकै आवश्यकता र माग वमोजिम ऋणको रुपमा सदस्यहरु मै परिचालन गर्नु, सदस्यहरुलाई ऋणको सदुपयोग उत्पादन र आयमुलक कार्यमा गर्न उत्प्रेरित गर्नु, उनीहरुको उत्पादनलाई वजार खोजी वजारसम्म पहु“च मिलाई दिनु, सदस्यको ऋण आवश्यकता पूरा गर्न अन्य निकायबाट वित्तिय स्रोत र साधनको प्रवन्ध मिलाउनु, सदस्यहरुको आय वृद्धि हुने खालका नयां नयां सम्भावनाहरुको खोजी गरि जानकारी उपलव्ध गराउनु र यस्ता कार्य सम्पादन गर्न सक्षम र सीपयुक्त कर्मचारीहरुको व्यवस्था मिलाउनु आदि पर्दछन् । सदस्यहरुको उत्पादनहरु दुध, तरकारी, फलफुल, खाद्यान्न, तोरी, मह, माछा, मासु उत्पादनका लागि पालिएका पशु पंक्षीहरुको खरिद विक्री, जैविक मल तथा विषादी विक्री, रासायनिक मल तथा विषादी विक्री, उपभोक्ता भण्डार सञ्चालन र सदस्य आवश्यकताका वस्तुहरुको थोक खरिद गरि आपुर्ति गर्ने कार्य सम्पादन गर्नु पर्दछ ।

अन्तमा ‘सहकारी मार्पmत दिगो आर्थिक विकास र सामाजिक न्याय’ कायम गराउनका लागि सहकारीमा संस्थागत सुशासन र व्यवस्थापनलाई प्रभावकारी बनाई सहकारी संस्थाहरुले मुलतः आफ्ना व्यवसायिक क्रियाकलाप संचालन गर्दा व्यवस्थापनका व्यवस्थापकीय र संचालन कार्यहरुको प्रयोग गर्नु पर्ने हुन्छ । यस्ता कार्यको उपयोग विना संस्थाहरुले राखेको सदस्यहरुको आर्थिक, सामाजिक लगायत समग्र विकासको उद्देश्य प्राप्त गर्न सक्दैनन् । तसर्थ नविन व्यवस्थापनका अवधारणहरुलाई आत्मसाथ गरि सहकारी संस्थामा उत्तर आधुनिक व्यवस्थापनका तौरतरिकालाई आत्मसाथ गरि संस्थाका कार्यहरु शेयर सदस्यहरुको व्यवसायिक उद्देश्य प्राप्तिका लागि साधन नभई साध्यका रुपमा परिणत गरि सहकारीको आधुनिक व्यवस्थापन प्रणली अपनाई २१ औं शताव्दी मैत्री सहकारी व्यवस्थापन प्रणाली आजको आवश्यकता र चुनौती दुबै हो ।

अभिलेख

लोकप्रिय