१३ बैशाख २०८१, बिहीबार

सहकारी क्षेत्रमा तालिमको आवश्यकता

४ चैत्र २०७०, मंगलवार
सहकारी क्षेत्रमा तालिमको आवश्यकता

– सरिता भट्टराई
संचालक, राष्ट्रिय सहकारी बैंक लि.

पृष्ठभूमी

सन् १८४४ मा वेलायतको रोचडेलवाट सुरु भएको सहकारी अभियान नेपालमा वि.सं २०१३ चैत्र २० गते चितवनको वखानपुरवाट प्रवेश गरेको हो । यसरी नेपालमा सहकारी अभियानले ५७ वसन्त पार गरि सकेको छ । हालसम्म नेपालमा विभिन्न उद्येश्य भएका करिव २९५२६ प्रारम्भिक सहकारी संस्थाहरुको स्थापना भइसकेको छ । यसका अतिरिक्त ६८ वटा जिल्ला सहकारी संघ, २१२ वटा विषयगत जिल्ला सहकारी सघं १७ वटा विषयगत केन्द्रिय सहकारी संघ र एउटा राष्टिय सहकारी बैंकको स्थापना भइसकेको छ । साथै नेपालका सम्पुर्ण सहकारी संघ संस्थाहरुको छाता संघको रुपमा राष्टिय सहकारी संघको समेत स्थापना भइसकेको छ । वर्तमान सरकारले समेत सहकारी क्षेत्रलाई महत्व दिदै नेपालको आर्थिक विकासका लागि तिन खम्वे अर्थनिती लाई जोड दिएको छ, जस अन्तरगत सरकारी, सहकारी र निजी क्षेत्रको संलग्नतालाई आर्थिक विकासको मेरुदण्डको रुपमा परिकल्पना गरिएको छ ।

वहुदलिय व्यवस्थाको पुनस्थापना पछि वि.सं. २०४८ सालमा सहकारी ऐन र वि.सं.२०४९ मा सहकारी नियमावली लागु भयो । जस अनुसार २५ जनाको समुह मिलेर सजिलै संग सहकारी संस्थाको दर्ता गर्न सकिने प्रावधान वन्यो । फलस्वरुप छोटो अवधिमै स्वतः स्फुर्त रुपमा धेरै सहकारी संस्थाहरुको जन्म भयो । यस्ता संस्थाहरु स्थानिय रुपमा गठन भएका र सरकारी स्तरबाट हुने फितलो अनुगमनले गर्दा संचालन हुने क्रममा अनेकौ समस्याहरु आउन थाले । गुणात्मक रुपमा सहकारी संस्थाहरुले फड्को मार्नु पर्नेमा आवश्यक सीप ज्ञान तथा कार्य कुशलताको अभावले गर्दा कतिपय सहकारी संस्थाहरुको अवस्था खस्किन थाल्यो । यसरि सहकारी क्षेत्रमा संलग्न सदस्य र संचालकहरु समेतले आवश्यक सीप, ज्ञान, शिक्षा तथा तालिम प्राप्त नहुदा यस क्ष्ोत्रले उचित मार्गदर्शन नपाएको महसुस गरियो । यसरि आ आफ्नो तरिकाले सहकारी संचालन गर्नाले सहकारी क्षेत्रमा वाधा अडचन आउनुका साथै गुणात्मक रुपमा हस आउने क्रम जारी भएको देखियो ।

अन्तराष्टिय रुपमा सहकारी संस्थाहरुलाई एकरुपता प्रदान गर्ने उद्येश्यले अन्तराष्टिय सहकारी महासंघ ले सहकारीका ७ सिद्धान्तको प्रतिपादन गर्यो । उक्त सात सिद्धान्तहरुले सहकारी संस्थाहरुलाई स्वनियन्त्रित, स्वचालित गतिशिल र पारदर्शी वनाउने उद्येश्य राखेको थियो । उक्त सात सिद्धान्त मध्ये सहकारी संघ संस्थालाइ सक्षम र आत्म निर्भर वनाउन पांचौ सिद्धान्तको रुपमा शिक्षा तालिम र सुचना लाई जोड दिएको छ । यसै सन्धर्भमा सहकारी संस्थाको दिगो विकासका लागि आफ्ना शेयर सदस्य, पदाधिकारी, व्यवस्थापक तथा अन्य कर्मचारीहरुलाई शिक्षा तथा तालिम मा सहभागि गराउनु अनिवार्य भएको देखिन्छ । निश्चय पनि सहकारीक्षेत्रले गर्ने व्यवसाय अन्य निजी व्यवसाय भन्दा फरक भएकोले पनि सहकारीमा संलग्न व्यक्ति वा समुहहरुलाइ छुट्टै विशेष प्रकारको ज्ञान सिप ,शिक्षा र तालिम दिनु आवश्यक देखिन्छ ।

यस लेखमा सहकारी क्षेत्रसंग सम्बन्धित सवैलाई आवश्यक पर्ने शिप र तालिमको संक्षिप्त विवरण प्रकास पार्न खोजिएको छ ।

तालिमको परिभाषा :

तालिम यस्तो कार्य हो जसले सम्बन्धित क्षेत्रमा सीपको विकास गराउंदछ, तर

तालिम साध्य हैन यो लक्षमा पुग्ने एक साधन हो,

– तालिम लक्ष हैन तर लक्षमा कसरी पुग्ने भन्ने वाटो हो ।

– यो कति माथि जाने भन्ने हैन तर कसरिे उड्ने भन्ने आधार हो

– यो हामीले सोचे जति उत्पादन चैं हैन तर केहि न केहि उत्पादन चैं पक्कै हो

– तालिम भविश्यको कल्पना हैन तर कल्पनालाई साकार गर्ने ज्ञान चैं हो ।

तालिम एक यस्तो सिक्ने कला हो जसवाट प्रशिक्षार्थिलाई आवश्यक ज्ञान प्राप्त हुन्छ, साथै विषयगत अवधारणा, सीप, निती नियम आचरण तथा व्यवहारमा परिवर्तन ल्याई कार्यक्षमतामा अभिबृद्धि समेत गराउंदछ । तालिम भनेको एक वा एक भन्दा वढि कृयाकलापहरुलाइ प्रभावकारी ढंगले सम्पादन गर्न व्यक्तिको वानी आचरण सीप र व्यवहारमा सिकाइको अनुभवको माध्यमवाट परिवर्तन गर्ने योजना वद्ध प्रकृया हो ।

व्यवस्थापन शास्त्री सि.वि. मेमोरिया का अनुसार तालिम ज्ञानको प्रयोग हो यसले मानवले गर्ने व्यवहारको निती नियम र कार्य विधिहरुका विषयमा सचेत गराउंदछ ।

तालिमको उद्येश्य

तालिमले व्यक्तित्व विकास कार्यक्षमता र कार्यदक्षताको विकास र आएका समस्या समाधान गर्ने क्षमताको विकास हुन्छ । समायानुसार नया नया प्रविधिहरुको प्रयोग गर्दै बैज्ञानिक विश्लेषणात्मक दृष्टिीकोण राख्न सक्ने वनाउनु पनि यसको उद्येश्य हो । तालिम मार्फत कार्य कुशलतामा बृद्धि हुदै स्वस्थ प्रतिश्पर्धा गर्न सक्ने क्षमतामा बृद्धि गराउनु, जनशक्तिको भरपुर सीप ज्ञानको विकास गर्दै व्यक्ति विकासमा टेवा पुर्याउने र आवश्यक थप जनशक्तिलाइ समेत विकास मुलक सेवा मुलक र जनमुखी वनाउनु नै तालिमको प्रमुख उद्येश्य हो ।

तालिमको महत्व

जनशक्तिलाई निखार्न तालिमको अत्यधिक महत्व हुन्छ जस्तै :

– उत्पादकत्वमा बृद्धि गराउन

– सामुहिक भावनाको विकाश गराउन

– जनशक्तिको अधिकतम उपयोग गरि कार्य सम्पादनमा सुधार गर्न

– नया प्रविधि,सिद्धान्त र प्रयोगको वारेमा जानकारी गराउन

– सकारात्मक भावनाको विकास गर्न

– गुणस्तरमा अभिबृद्धि गराउन

– स्वस्थ कार्य गर्ने वातावरणको विकाश गराउन

-सोचाइ र मनोबृत्तिमा सुधार ल्याइ असल आचरणको विकास गर्न

– संस्थागत छवीमा सुधार ल्याउन

– संस्थालाई नाफामुखी वनाउने क्षमताको विकास गराउन

– व्यक्तिको मनोवलमा बृद्धि गराउन

– असहज परिस्थितीको सामना गर्न सक्ने वनाउन

त्यसैगरि तालिमवाट संगठनको विकाश गर्ने क्षमता वढ्नुका साथै सहि निर्णय गर्ने क्षमताको विकाश हुन्छ । यसले संगठनमा वनेका निति नियमका वारेमा स्पष्ट बुझ्न र बुझाउन सक्ने वनाउंछ । त्यस्तै तालिमको माध्यमबाट नेतृत्वविकास गर्नुका साथै नम्र व्यवहार र उत्प्रेरित गर्ने भावना विकाश समेत गराउंदछ ।

नेपालमा सहकारी तालिमको वर्तमान अवस्था

सहकारीको पांचौ सिद्धान्तले शिक्षा तालिम लाई विशेष जोड दिएको छ भने राष्टिय सहकारी निती २०६९ मा समेत सहकारी शिक्षा तालिम र सुचनालाइ व्यापक र प्रभावकारी वनाउन सम्बन्धित सरकारी निकाय तथा सहकारी संघ संस्थालाई प्रभावकारी ढंगले परिचालन गरिने साथै सदस्यहरुको चेतना अभिबृद्धि गर्न र व्यवस्थापन क्षमता बढाउन सहकारी अनु शिक्षण र तालिमलाई अनिवार्य गरिने, सहकारी सम्बन्धि तालिम दिने र सुचना सम्प्रेषण गर्ने काममा सहकारीका संघ संस्थाहरुको अग्रसरता र सहभागितालाई प्रोत्साहित गरिने छ भनि लेखिएको छ ।

त्यस्तै केन्द्रिय सहकारी प्रशिक्षण केन्द्रबाट प्रशिक्षक प्रशिक्षणमा विशेष जोड दिइने, सहकारी शिक्षा, सुचना तथा संचार केन्द्रको स्थापना गरि सहकारी सुचना व्यवस्थापन प्रणालीमा सुद्धृढ गरिने, सहकारी शिक्षा र तालिमका लागि सहकारी शिक्षाकोषको स्थापना गरिने, साथै संस्थाको खुद नाफाबाट केहि निश्चित प्रतिशत सहकारी शिक्षाकोषमा अनिवार्य राख्न विनियममा नै व्यवस्था गर्नु पर्ने भनि प्रमुख कार्यहरु तोकिएको छ ।

सोहि अनुरुप नेपालमा वि.सं. २०१९ सालमा सहकारीका नेतृत्व वर्ग र कर्मचारीहरुलाई सहकारी सम्बन्धि ज्ञान तथा सीप अभिबृद्धि गर्ने उद्येश्यले केन्द्रिय सहकारी प्रशिक्षण केन्द्रको स्थापना भयो । दिनानुदिन सहकारी संघ संस्थाहरु दर्ता हुने क्रम बढ्न थाले पछि वि.सं. २०६१ मा पांच विकास क्षेत्रमहरुमा क्षेत्रिय सहकारी प्रशिक्षण केन्दको स्थापना भयो । यस केन्द्रको मुख्य उद्येश्य सहकारीताको प्रबर्धन गर्न सहकारी संघ संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई सक्षम वनाउन र कार्यकुशलतामा अभिबृद्धि गराउन, अध्ययन अनुसन्धान तथा परामर्श प्रदान गर्नु हो । साथै संघ संस्थालाई व्यवसायोन्मुख वनाउदै लैैजान आवश्यक तालिम प्रदान गर्नु समेत यसको प्रमुख उद्येश्य रहेको छ ।

हाल नेपाल सरकारको तर्फबाट ३८ डिभिजन सहकारी कार्यालय ५ क्षेत्रिय सहकारी प्रशिक्षण केन्द्र र एक केन्द्रिय सहकारी प्रशिक्षण केन्द्र मार्फत तालिम प्रशिक्षण दिने कार्य भइ रहेको छ भने सहकारी अभियानको तर्फवाट राष्टिय सहकारी संघ लि., राष्टिय सहकारी बैंक लि., नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघ लि.(नेफ्स्कुन), जिल्ला सहकारी संघ लि, विषयगत केन्दिय तथा जिल्ला सहकारी संघ लि. र प्रारम्भिक सहकारी संस्थाहरुले समेत शिक्षा तथा तालिम उपसमिती मार्फत पनि आफ्ना सदस्यहरुलाई तालिम दिने कार्य भइ रहेको छ । साथै विभिन्न निजि संस्थाहरुले पनि सहकारी क्ष्ोत्रलाई लक्षित गरि तालिम दिन थालेको देखिन्छ ।

सहकारी क्षेत्रमा तालिमका समस्या

हाम्रो देशमा लामो समय देखि सरकार र सहकारी अभियानले समेत सहकारी संघ संस्थाका प्रबर्धनका लागि विभिन्न निती नियम र कार्य वनाएर तालिम कार्यक्रमलाई अगाडि वढाउन खोजिएता पनि निम्नानुसारकारका समस्याले अपेक्षाकृत सफलता हासिल गर्न नसकिएको हो कि ? जस्तै :

– लक्षित वर्गलाई पहिचान नगरि तालिम कार्यक्रम ल्याउनु

– राज्य संग कार्यक्रम अनुसार बजेट नहुनु

– संस्था स्थापना गर्न सजिलो तर तालिम लिने दिने कुरामा नेतृत्वले महत्व नदिनु र तालिम प्रति सकारात्मक नहुनु ।

– तालिमको प्रयाप्त अवसर नहुनु तथा आवश्यक श्रोत साधनको कमी हुनु ।

– विषयगत ज्ञान भएका प्रशिक्षकहरुको अभाव हुनु ।

– तालिम पश्चात अनुगमन र मुल्यांकन नगर्नु ।

– तालिम पश्चात सिकेका जानेका कुराहरुलाई व्यवहारमा नउतार्नु ।

– तालिमलाई व्यवहारीक भन्दा सैधान्तिक ज्ञानमा जोड दिनु ।

– सम्बन्धित विषयगत तालिममा उपयुक्त व्यक्तिलाई सहभागी नगराइनु ।

– सहकारीको संख्यात्मक बृद्धिका आधारमा गुणात्मक विकास नहुनु ।

– सम्बन्धित निकायले तालिम प्राप्त व्यक्तिहरुको क्षमतालाई सदुपयोग नगर्नु ।

– सहकारी शिक्षा कोषमा जम्मा भएको रकमलाई शिक्षा तालिममा प्रयोग नगर्नु ।

समस्या समाधानका उपायहरु

सहकारी क्षेत्रमा तालिममा देखिएका समस्याहरुलाई समाधान गर्न निम्नानुसारका उपाय अपनाउदा लक्षमा पुग्न सकिन्छ कि ?

– लक्षित वर्गको पहिचान गरि तालिम कार्यक्रम संचालन गर्ने

– नेतृत्व पंक्ती वाट नै तालिम प्रति सकारात्मक भइ महत्व दिने ।

– तालिम केन्द्रहरुमा आवश्यक श्रोत साधनको व्यवस्था गराइनु पर्ने ।

– विषयगत प्रशिक्षकहरुको पहिचान गरि तालिम संचालन गर्नु तथा प्रशिक्षकहरु समेतलाई समय समयमा थप प्रशिक्षित गराउने ।

– तालिम पश्चात सिकेका बुझेका कुराहरुलाई तत्कालै व्यवहारमा उतार्ने प्रयास गर्ने ।

– तालिमलाई सैधान्तिक भन्दा व्यवहारिक र सिपमुलक तालिममा जोड दिने ।

– सम्बन्धित निकायले लामो अवधिका सहकारी सम्बन्धि तालिम लिएका व्यक्तिहरुलाई निजको क्षमताको आधारमा उपयूक्त ठाउंमा जिम्मेवारी वहन गर्ने वातावरण वनाउनु पर्ने ।

– तालिम पश्चात पुनरतार्जगी तालिमलाई अनिवार्य गराउने ।

– नेतृत्वमा आउनेले अनिवार्य सहकारीका वारेमा आधारभुत तालिम लिएको हुनु पर्ने ।

– सहकारीका सम्पुर्ण सदस्यहरुले समेत तालिममा अनिवार्य सहभागी हुनु पर्ने व्यवस्था गर्ने ।

– सहकारी शिक्षा कोषमा राखिएको रकम लाई शिक्षा तालिमका लागि नै सदुपयोग गर्ने ।

– नया तथा बैज्ञानिक विधि अपनाई तालिम प्रशिक्षण दिने व्यवस्था गर्ने ।

– प्रशिक्षण केन्द्रहरुलाई आत्म निर्भर वनाउने ।

– सम्बन्धित निकायले सहकारी संस्थाले सदस्यहरुलाई दिएको तालिम विवरण माग गरि तालिममा अनिवार्य सहभागी गराउने व्यवस्था गर्ने

– सहकारी संघ संस्था र सरकारको समन्वयमा सहकारी तालिमलाई प्रभावकारी ढंगवाट संचालन गर्ने ।

– सम्पुर्ण सहकारीकर्मीहरुले तालिम प्रशिक्षणलाई महत्वपुर्ण ठानी तालिममा सहभागि हुने वातावरण श्रृजना गर्ने ।

अन्त्यमा,

सहकारी क्षेत्रमा समर्पित व्यक्तिहरुको कार्यक्षमता बृद्धि गर्नका लागि तालिम अपरिहार्य भएको छ । जुन सुकै क्षेत्रमा काम गर्दा सफल हुन पनि सो क्षेत्रका वारेमा सम्पुर्ण ज्ञान हासिल भएको हुनु पर्दछ । त्यसका लागि सहकारीमा पनि समय सापेक्ष तालिममा सहभागी अनिवार्य छ । सम्पुर्ण सहकारी संघ संस्थाहरुले तालिमको आवश्यकता महसुस गरि यसलाई कार्यान्वन गर्नु वाहेक अरु विकल्प छैन । यसरी सहकारीका पदाधिकारी , कर्मचारी तथा सदस्यहरु प्रशिक्षित भइ कार्यक्षमता अभिबृद्धि गरेमात्र संस्था संचालनमा सहजता आउंछ र सहकारी क्षेत्रको भविश्य उज्वल हुने देखिन्छ ।

सहकारी बैंकको सहकारीता वुलेटिन बाट

Saritabhattarai70@yahoo.com

अभिलेख

लोकप्रिय