१६ जेष्ठ २०७७, शुक्रबार

सहकारीमा दामोदर अधिकारीको संर्घषः ‘व्यवस्थापनमा अब्बलः नीति, विधि र प्रविधिमा राम्रो जानकार’

१९ मंसिर २०७६, बिहीबार
सहकारीमा दामोदर अधिकारीको संर्घषः ‘व्यवस्थापनमा अब्बलः नीति, विधि र प्रविधिमा राम्रो जानकार’

प्युठान जिल्लाको उदयपुरकोटमा जन्मिएका दामोदर अधिकारीले २०३७ सालमा दाङबाट एसएलसी गरे । २०४० सालमा उनको परिवार बसाई सरेर बर्दिया जिल्ला पुगे । २०४५ सालबाट उनी शिक्षण पेशमा आवद्ध भए, जागिरको शुरुवात बर्दियामैै प्रा.वि स्कूलका प्रअको रुपमा काम गरे ।

सहकारी प्रवेश
२०४८ सालमा सहकारी ऐन र २०४९ मा नियमावली जारी भयो । २०४९ सालको अन्त्य तिर एउटा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुने मौका अधिकारीलाई मिलेको थियो । शिक्षकको हैसियतमा उनी कार्यक्रममा सहभागी भए । सोही कार्यक्रमको एउटा छलफलमा सहकारीको कुरा उठ्यो । सहकारीका कुरा उठाउने व्यक्ति थिए रामहरी केसी । छलफल कार्यक्रममा सहकारी स्थापना गर्न सकिने कुरा केसीले गरे । सहकारी गठन गर्नको लागि २५ जना चाहिने र सहकारीमार्फत आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन गर्न सकिने कुरा केसीले सबैलाई जानकारी गराए । सोही कार्यक्रममा केसीले भनेका थिए, ‘नवलपरासीको विकू सहकारीले ५० पैसाबाट सुरु गरेर ५० हजार रुपैयाँ पुर्याईसक्यो । तपाईंहरु पनि सहकारी गठन गर्न सक्नुहुन्छ ।’ सोही कुराले दामोदर अधिकारीको मन छोयो र उनी सहकारी गठन गर्ने हौसला मिल्यो । त्यसपछि अधिकारीको नेतृत्वमा गाँउ भेला भयो । ३/४ पटक गाउँ भेला गर्दा समेत कसैले पत्याएन । त्यो दिन सम्झ्न्छन् अधिकारी, ‘पैसा उठाएर खानको लागि नाटक गर्दैछन् भनेर हामीलाई आरोप समेत लाग्यो ।’

थारु जातीको बाहुल्यता रहेको बर्दिया जिल्लामा सहकारी खोल्नु सजिलो पक्कै थिएन । कमैयाहरुलाई धेरै थिए । अधिकारीले कमैयाहरुलाई समेत समेटे । साहुहरुले पत्याउने कुरै थिएन । ‘केही शिक्षक र कमैयाहरु मिलेर १६८० रुपैयाँ जम्मा गर्यौं’, उनी भन्छन्, ‘एक सय रुपैयाँको मात्र एक सेयर हुन्छ भनेर समेत हामीलाई थाहा थिएन ।’ ४२ जनाबाट ३० रुपैयाँको सेयर र १० रुपैयाँ मासिक बचत संकलन गरेर सहकारी दर्ता गर्न सबै तयार भए तर दर्ता भएन । प्रतिव्यक्ति कम्तिमा एक सय रुपैयाँ चाहिने भएपछि सडक नाटक, कविता, गित सुनाउँदै पैसा संकलन गर्ने अभियान चलाए । दर्ता गर्नको लागि आवश्यक पुँजी संकलन भएपछि ‘सिर्जना बचत तथा ऋण सहकारी संस्था’ अधिकारीकै अगुवाईमै दर्ता भयो । उनै सहकारीको बारेमा जानकारी दिने केसीलाई सहकारीका गुरु मान्छन् अधिकारी ।

१० रुपैयाँ मासिक बचतबाट ३० रुपैयाँ पु¥याउन ३ वर्ष लागेको उनी बताउँछन् । कमैयाहरु सञ्चालक समितिमा थिए । राती राती बैठक बस्नुपर्ने बाध्यता थियो । शिक्षक दिउँसो विद्यालय जानु पर्ने र कमैयाहरु विहानै काम गर्न किस्कन्थ्ये । राती राती बैठक बस्नुको विकल्प थिएन । रातको समयमा बैठक बस्दा राजनीति गर्दैछन् भनेर आरोप समेत लागेको बताउँछन् अधिकारी । ‘सहकारी गठन गर्न बसेको बैठकमा प्रहरीको समेत निगरानी थियो’, उनी भन्छन् ।

सिर्जनाको अध्यक्ष हुँदै नेफ्स्कूनको लेखा संयोजक

सिर्जना बचत तथा ऋण सहकारी स्थापना भैसकेपछि सहकारीको बारेमा धेरै कुरा जान्ने र बुझ्ने मौका अधिकारीलाई मिल्यो । सहकारीका धेरै ज्ञान बटुले । अन्य ठाउँमा पनि सहकारी गठन गर्न सहयोगी भूमिका खेले । जिल्लाका अन्य स्थानमा पनि सहकारी गठन भयो । जिल्ला सहकारी संघ पनि गठन भयो । २०५० सालदेखि सिर्जना सहकारी नेफ्स्कूनमा आवद्धता जनाएको छ । २०५० सालदेखिनै अधिकारी नेफ्स्कूनमा प्रतिनिधित्व गर्दै आएका छन् । सिर्जना सहकारी नेफ्स्कूनको १५१ नम्बरको सदस्यता हो ।

सिर्जना सहकारीकै प्रतिनिधित्व गरेर २०६९ सालमा नेफ्स्कूनको सञ्चालक भए । दोस्रो कार्यकाल पनि सञ्चालक भए । त्यस समयमा नेफ्स्कूनलाई नजिकबाट नियाल्ने मौका अधिकारीले पाए । उनी भन्छन्, ‘दोस्रो कार्यकालमा धेरै जिम्मेवारी प्राप्त गरे । धेरै काम गर्न सफल भयौं । कर्मचारीको विभागीय संरचनादेखि नीति, विधि र प्रविधिमा काम गरेका थियौं ।’
नेफ्स्कूनको दोस्रो कार्यकालको सञ्चालक भैसकेपछि सरकारी सेवाबाट ऐच्छिक अवकास अधिकारीले लिए । २३ वर्ष नौ महिना ४ दिन काम गरेर अवकास लिएका हुन् । त्यसयता पूर्ण रुपमा सहकारी अभियान सक्रिय छन् उनी । हाल उनी नेफ्स्कूनको लेखा समितिको संयोजको भूमिकामा छन् ।

सिर्जनाबाट सिको

२०५० साल असोज ९ गते स्थापना भएको सिर्जन बचत तथा ऋण सहकारी हाल सिको बचत तथा ऋण सहकारी संस्थाको रुपमा रहेको छ । सिर्जन सहकारी बर्दिया जिल्लाको पहिलो बचत तथा ऋण सहकारी संस्था हो । २०६५ सालमा स्थापना भएको कोशेली बचत तथा ऋण सहकारी संस्था, २०६७ चैतमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी र सिर्जना बीच २०७५ असार १ गते एकिकरण भयो । उक्त संस्थाबीच एकिकरण भएर सिको बचत तथा ऋण सहकारी संस्थाको नामाकरण भयो । त्यसपछि बालकुमारी र लालुपाते बचत तथा ऋण सहकारी संस्थाबीच पनि एकिकरण भयो ।

हाल संस्थाको ब्यालेन्स सिट २६ करोडभन्दा बढी छ । संस्थामा १८जना कर्मचारी छन् । पाँचवटा सेवाकेन्द्रबाट सदस्यलाई सेवा प्रदान गरिरहेको छ । संस्थामा ८ हजार सदस्य आवद्ध भएका छन् । विपन्न सदस्यलाई ८ प्रतिशत व्याजदरमा लगानी गरेको छ । अति विपन्न ५० जना सदस्यलाई ४ प्रतिशत ब्याजदरमा लगानी संस्थाले गरेको छ । सिको साकोसको केन्द्रिय कार्यालय ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरिगाउँमा रहेको छ । त्यस्तै ठाकुरबाबा नगरपालिका वडा नं. ४ वर्गदा, ठाकुरबाबा नगरपालिका वडा नं. ६ बकुवा र ठाकुरबाबा नगरपालिका वडा नं. ५ शाहीपुरमा सेवाकेन्द्र रहेको छ । ठाकुरबाबा नगरपालिका वडा नं. ७ कालिगौडी र ठाकुरबाबा नगरपालिका वडा नं. ९ ठाकुरद्धारामा बचत संकलन केन्द्र रहेको छ ।

अधिकारीको अथक मिहेनत र परिश्रमले नै संस्था यहाँ सम्म आएको छ । नेपालको साकोस अभियानमा स्थापित ओजस्वीपूर्ण छविलाई सदैव कायम राख्दै अगामी दिनमा सदस्यहरुलाई सरल सुलभ वित्तिय सेवा प्रदान गर्न संचालक समिति, लेखा समिति लगायत सबै उपसमिति सदैव सक्रिय तथा क्रियाशिल एवं चिन्तनशील छ ।

उत्कृष्ठ सिको

सिको साकोसलाई नेपाल सरकारले उत्कृष्ठ संस्थाको रुपमा पुरस्कृत समेत गरिसकेको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नगद दुई लाखसहित सिको साकोसलाई पुरस्कृत गरेको थियो । नेफ्स्कून र एशियाली ऋण महासंघको प्राविधिक सहकार्यमा बचत तथा ऋण सहकारी संस्थाहरु (साकोस) मा सञ्चालित एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम अन्तर्गत यस बर्षको एशियाली स्तरको एक्सेस गुणस्तर प्रमाणपत्र प्राप्त गरिसकेको छ ।

सहकारीमा अब्बल

पश्चिम नेपालको सहकारी अभियान्ताको रुपमा चिनिन्छन् दामोदर अधिकारी । सहकारी क्षेत्रमा उनले गरेको योगदान अनुकरणीय छन् । बर्दिया, अछाम, दैलेख, सुर्खेत, कालिकोट, दाङमा सहकारी अभियानको जग बसाल्ने उनी नै हुन् । गाउँ गाउँ पुगेर सहकारीको ज्ञान बाढेर सहकारीका जग बसालेका छन् । पूर्ण रुपमा सहकारी अभियानमा सर्मपित उनी सहकारी व्यवस्थापनमा दख्खल मानिन्छन् । प्रारम्कि सहकारी संस्था, जिल्ला संघहुँदै केन्द्रिय संघको अनुभव समेत बटुलेका छन् । सहकारी प्रतिको इमान्दारिता र सहकारी क्षेत्रमा गरेको कामको आधारमा सहकारी अभियानमा उनको माग छ । केन्द्रिय तहमा बसेर सहकारी क्षेत्रमा बटुलेका अनुभव र उनमा भएको क्षमता प्रर्दशन गर्न बाँकी छ । सहकारी क्षेत्रमा विशेष गरी बचत तथा ऋण अभियानलाई सुसासन र प्रविधिमैत्री बनाउने उनको योजना छ ।

अभिलेख

लोकप्रिय