१३ बैशाख २०८१, बिहीबार

सहकारीता, सहकार्य र सहकारी

१० पुष २०७०, बुधबार
सहकारीता, सहकार्य र सहकारी

 – माधवप्रसाद आचार्य ।

प्रवेश : 

नेपालको अन्तरिम संविधान,२०६३ मा सहकारीलाई अर्थतन्त्रको एक आधार स्तम्भको रुपमा उल्लेख भए पश्चात आर्थिक क्षेत्र र यसको पेरिफेरीमा सहकारिता र सहकारी चाखका साथ अलि बाक्लो गरी लेखिन र बोलिन थालेको छ । बोलिचालीको भाषामा र यदाकदा सहकारी साहित्यमा सहकारीता, सहकार्य र सहकारीलाई एकै अर्थमा लिइने गरिएकोले यी ३ बटा शव्दलाई एक पर्यायको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ । तर, अलि गहिरो गरी केलाउँदा यी ३ बटा शव्दको अर्थ विल्कुल अलग हुन्छ । शव्दको भाव अनुरुपको वुझाई नहुँदा अर्थको अनर्थ लाग्दछ । यस आलेखमा सहकारी, सहकार्य र सहकारी शव्दको भावको समानता र दुरी केलाउने प्रयास गरिने छ ।

सहकारीता : 

सहकारीता एक अवधारणा हो, दर्शन हो । अर्को अर्थमा सहकारीता एक पद्दति हो । प्राविधिक अर्थमा सहकारीता सफ्टवेयर हो । यस अवधारणा अनुसार संगै वस्नु, सामुहिक सोच विचार गर्नु , संगै कार्य गर्नु र परिणाम पनि सामुहिक ग्रहण गर्नु सहकारिता हो । सहकारिताको भावधारा अनुसार नै सहकारी संस्था सञ्चालन भएका हुन्छन् ।

सहकार्य :
सहकार्य शव्दको अर्थ निश्चित उद्देश्य प्राप्तीका लागि २ वा २ भन्दा वढि व्यक्ति वा निकाय एकसाथ मिलेर काम गर्ने, साथ साथ काम गर्नु भन्ने हुन्छ । सहकार्यमा सामाजिक र मानविय भावना प्रवल हुन्छ । सामजिक वा साझा हितका लागि एकसाथ मिलेर काम गर्नु सहकार्य हो । साझा स्वार्थको लागि बाटो घाटो, पुल पुलेसा, मन्दिर, पाटि पौवा, धर्मशाला, चौतारा, स्वास्थ्य संस्था, शिक्षण संस्था, सार्वजनिक स्थल, सरसफाई, बृक्षारोपण, मेला जात्रा जस्ता सामाजिक कार्यमा दिनँहु सहकार्य गरिरहेका हुन्छौ । स्थायी र अस्थायी, आर्थिक र सामाजिक साथै प्राकृतिक विपत्तिजस्ता अनेकन विषयहरुमा सहकार्य भई रहेको हुन्छ । सरल रुपमा भन्नु पर्दा सह ं कार्य, मिलेर काम गर्नु नै सहकार्य हो । यस्तो सहकार्य आर्थिक, व्यबसायीक, सामाजिक, खेलकुद, पर्यटन जस्ता क्षेत्रमा हुन सक्दछ । सहकार्य गर्दा नफा सहित वा गैर नाफमुलक दुवै हुन सक्छ ।

सहकारी :
सहकारी सांगठानिक पक्ष हो । सहकारीता सहकारीमा अवलम्वन गरिन्छ । यसर्थ सहकारी हार्डवेयर हो । वुझन सजिलोको लागि सहकारी पद्दति भन्नु नै सहकारीता हो । सहकारीताको सैद्धान्तिक पक्षलाई सहकारी संगठनमा अभ्यास गरिन्छ । तर सहकारी सहकार्य भन्दा व्यापक र विशिष्ठ हुन्छ । सहकारी मूलत ः व्यवसायमूलक हुन्छ । व्यवसायिक चेत नभएको संगठन सहकारी हुन सक्दैन । त्यसैले सहकारी संगठनले व्यवसायिकता सहितको क्रियाकलाप गर्नु पर्दछ , जसअनुसार सहकारी नफा घाटा संग सम्वन्ध राख्दछ । व्यवसायिक क्रियाकलाप गर्दा सहकारीताको अवधारणा अनुरुप सहकार्यलाई व्यापकता दिनु पर्दछ । आधुनिक सहकारीको अभ्युदय पश्चात सहकारीका निश्चित मूल्य मान्यता र सिद्धान्तहरु प्रतिपादन गरिएका छन् । सहकारीका मूल्य मान्यता र सिद्धान्तहरु सहकारीताकै जगबाट विकसित भएको हो ।

आधुनिक सहकारीका आदर्शहरु :
मानव सभ्यताको विकास सहकार्य बाट नै संभव भएको हो । तर, आधुनिक सहकारीको इतिहास सन् १८४४ मा वेलायत बाट शुरु भएको मानिएको छ । यसरी सहकारी अभियानले १६९ बर्ष पार गरिसक्दा यसले केही आदर्शहरु निर्माण गरेको छ । निश्चित ९सिमित० मुनाफा मात्र सदस्य वीच वाँडफाँड हुने, स्वःउत्तरदायित्व, समानता, पारदर्शिता, अरुहरुको पनि हेरचाह, सामाजिक उत्तरदायित्व, प्रजातान्त्रिक अभ्यास, सामेलीकरण जस्ता विषयले सहकारीका आर्दशको रुपमा मान्यता पाएका छन् । हो, व्यवहारमा भने अझ पनि कमजोरीहरु अनुभव भएकै छन् । सहकारीका आदर्श उपरको बुझाई जतिसक्दो समान हुन्छ र यसको व्यवहारिक अभ्यास ठीक ठीक किसिमले हुन्छ सहकारी अभियान उति उति परिस्कृत हुँदै अगाडी बढने छ । दार्शनीक पक्षलाई व्यवहारमा जुन स्तरमा प्रतिस्थापन गरिन्छ उपलव्धी पनि तदनुकल प्राप्त हुने तथ्यलाई विर्सनु हुँदैन ।

उपसंहार :

सवै सहकार्यहरु सहकारी हुँदैनन् तर सवै सहकारीमा सहकार्य हुनु पर्दछ । सहकारीमा निश्चित, मुल्य मान्यता तथा आदर्श र सिद्धान्तहरुबाट निर्देशित भई व्यवस्थित प्रणाली मार्फत सञ्चालित हुन्छ । सहकार्य विषय केन्द्रित वा मुद्धा केन्द्रित अल्पकालिन वा दीर्धकालिन पनि हुन सक्दछ । सहकारिताको मर्म अनुरुप सहकारीमा सहकार्य हुन्छ । सहकारी भौतिक हो तर सहकार्य मानसिक क्रिया हा,े सहकारिता अवधारणा मात्र हो । सहकारीताको आदर्श तथा सहकार्यको भावना सहकारीमा प्रयोग तथा अभ्यास गरिन्छ । भनिरहन नपर्ला परिणामको मात्रा तथा स्तर अभ्यासको मात्रा र स्तर भन्दा फरक हुँदैन ।

अभिलेख

लोकप्रिय