
नेत्रप्रसाद घिमिरे
प्रत्येक सहकारीको एक साधारण सभा हुन्छ । संस्थामा बचत जम्मा गर्ने, संस्थाबाट कर्जा लैजाने तथा संस्थासँग कारोवार गर्ने सबै सदस्यहरु साधारण सभाको सदस्य हुन्छन् । साधारणसभा सहकारीको सर्वोच्च निकाय हो । आयमूलक क्रियाकलाप गर्ने व्यवसायिक संगठनको रुपमा कार्य गर्ने सहकारी संस्थाहरुका हरेक गतिविधिहरुलाई नियन्त्रण गर्ने, नियमन गर्ने, व्यवस्थापन गर्ने र सामाजिक, आर्थिक र सांस्कृतिक विकासको लागि मार्गनिर्देश गर्ने अङ्ग साधारण सभा हो । साधारण सभा संस्थाका मालिकहरुको समूह हो, भेला हो, सम्मेलन हो, बैठक हो ।
संस्थाको नीति, कार्यक्रम र बजेट स्वीकृत वा अस्वीकृत गर्न सक्ने अधिकार सम्पन्न शक्ति सम्पन्न अङ्ग हो । संस्था कसरी सञ्चालन गर्ने भनेर कानुन निर्माण गर्ने, संशोधन गर्ने विधायकी अङ्ग हो । सम्पूर्ण आर्थिक तथा प्रशासनिक नियमहरु स्वीकृत गर्ने शक्ति सम्पन्न अङ्ग हो । सञ्चालक समिति र लेखा समितिका पदाधिकारी र सदस्यहरुको निर्वाचन गर्ने, नेतृत्व परिबर्तन गर्ने, बर्खास्त गर्ने, दण्डित गर्ने, निर्देशन दिने निकाय हो । शक्ति पृथकीकरण र शक्ति सन्तुलन को मियो हो साधारण सभा । सदस्यहरुलाई न्यायनिसाफ दिने न्यायपालिका समेत हो । सञ्चालक समिति र व्यवस्थापनले गरेका हरेक गतिविधिहरुको जाँचवुझ गर्ने, हिसाव जाँच गर्ने, अनुसन्धान गर्ने र सुझाब दिने आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारी शक्ति सम्पन्न अङ्ग हो । सहकारीमा नयाँ व्यावसायको छनौट गर्ने,सम्पत्ति बेचविखन गर्ने, असुल उपर गर्ने वा मिनाह समेत दिन सक्ने एकमात्र अङ्ग हो साधारणसभा । समयको माग र आवश्यकता अनुसार सहकारी संस्थाहरुबीच एकीकरण गर्ने र अन्तमा संस्थाको विघटन पनि गर्न सक्ने अङ्ग हो ।
यति महत्वपूर्ण साधारण सभालाई व्यवहारमा फितलो बनाइएको पाइन्छ । सदस्य सचेत नभएकाले साधारण सभालाई औपचारिकता मात्र पूरा गर्ने रुपले हेरिएको पाइन्छ । साधारण सभाको गरिमा र भूमिकालाई महत्वहिन र अर्थहिन बनाइएको देख्न पाइन्छ । गणपुरक संख्या पुर्याउन घर—घरमा गएर हस्ताक्षर गराउने गरेको पनि देखिन्छ । सदस्यले कुनै अर्को प्रयोजनका लागि गरेको हस्ताक्षर संस्थाद्धारा साधारण सभामा भएको उपस्थिति भनेर देखाउने गरिएको छ । अझ चुनावी साधारण सभा रहेछ भने सदस्यहरुलाई गुमराहमा पार्ने थप विधिहरु प्रयोग गरिएको पाइन्छ । अरु सहकारीकर्मीहरुलाई देखाउन भएपनि गरिनुपर्ने बाध्यकारी साधारण सभाको के अर्थ रहन्छ । साधारण सभा गरी टोपल्नु पर्ने भएकाले धेरै संस्थाहरुले साधारणसभा गर्नु परेको जस्तो गरी साधारण सभा गर्ने गरेका छन् । साधारण सभामा ठूला ठूला नेताहरुलाई बोलायो भाषण गरायो संस्थाको पक्षमा बोल्न खरीद गरेर ल्याएजस्तो ती नेताहरुले संस्थाको मुक्त कण्ठले प्रशंसा गरेको सुन्न पाइन्छ । संस्थाले यहाँनिर कमजोरी गरेको छ यो सुधार गर्नुपर्छ भनेर सदस्य सामू भाषण गरेको कम सुन्न पाइन्छ । अझ बोल्ने नेता पनि कति हो कति प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, ठुला अतिथि, साना अतिथि, स्थानीय अतिथि, संस्थाका संस्थापक अतिथि अन्य अतिथि आदि । साधारण सभामा अतिथिहरु बोल्न, भाषण गर्न, राज्यलाई गाली गर्न, राजनीतिक मञ्चको रुपमा उपयोग गर्न प्रयोगमा आउन समेत थालेको पाइन्छ । संस्थाको सदस्यहरुलाई भाषण गर्न दिइदैन दिइयो भने सञ्चालकको विरोध गर्दछ कि गर्दैन, कुन पार्टीको विचार गरेर मात्र अवसर प्रदान गरेको देख्न पाइन्छ । संस्थाको गुणगान जसले गाउछ उसले बोल्न पनि पाउने जसले संस्थाको कमी कमजोरी बारे बोल्छ उसको बोल्ने पालो आउदैन ।
शुभकामना, प्रशंसा भन्दा बन्द सत्रमा सदस्यले गरेको आलोचना र सुझाव संस्थाका लागि फलदायी हुन्छ योे बुझाइ छैन । विरोधका लागि विरोध एउटा विषय होला तर साच्चिकै संस्थाको हित सोचेर संस्थाको कमीकमजोरी औल्याइ आगामी दिनमा सच्चिने परिपाटी विकासमा सहयोग पुग्ने साधारण सभालाई साच्चिकै साधारण सभा जस्तो बनाउन स्पष्ट मापदण्ड आवश्यक देखिन्छ । उद्घाटन सत्रमा एउटा अतिथि र बाकी आफ्ना सदस्यहरुलाई बोल्न दिने प्रणालीको विकास गर्नुपर्दछ । प्लेन चार्टर गरेर अतिथि बोलाएर भाषण गराउदैमा असल सहकारीकर्मी भइन्छ भने गरिबका सहकारीले त्यो गर्न सक्दैनन् र के उनीहरु असल सहकारीकर्मी बन्न नपाउने ? ठूला संस्थाहरुले साधारण सभालाई रंगीचंगी बनाउदै सदस्यहरुलाई भ्रम छर्ने र विज्ञापन गर्ने माध्यम बनाइएको पाइन्छ । १० बजे साधारण सभा बोलाउने, १२ बजे शुरु गर्ने, अतिथिहरुका भाषणले दिनभरिको समय खर्च गराइसकेपछि उद्घाटन सत्र सम्पन्न भइ बन्द सत्र शुरु हुन लाग्दा सञ्चालक र कर्मचारीहरु मात्र बसेर ताली ठोकेर साधारण सभा सम्पन्न गरेको अझै पनि देख्न पाइन्छ । यो प्रवृति सबै सहकारीहरुले अबलम्बन गरेको भन्ने होइन तर केही सहकारीले यो किन गरिरहेका छन् ? यस्ता विषयमा चिन्तन मनन गर्नु जरुरी देखिन्छ ।
सहकारी अभियानको चुनौति भनेको साधारण सभालाई अर्थपूर्ण र कामकाजी कसरी बनाउने भन्ने हो ? साधारण सभामा कसरी सदस्यहरुको अर्थपूर्ण उपस्थितिमा संस्थाको तर्फबाट प्रस्तुत हुने नीति,कार्यक्रम तथा बजेट, बार्षिक प्रतिवेदन, व्यावसायिक योजनाका वारेमा स्वस्थ्य छलफल हुने मर्यादित विधि कायम गर्ने भन्ने चुनौति पनि हो । सदस्यहरुले साधारण सभाको महत्व नबुझेको र नबुझाइएकाले गर्दा पनि सदस्यहरु साधारण सभाप्रति उदासिन भएको पाइन्छ । अर्थपूर्ण र सिद्धान्तअनुसार साधारण सभा नगरेकै कारणले गर्दा अन्तत संस्थाहरु धरापमा परेको पाइन्छ । सीमित व्यक्तिहरुको मनपरीतन्त्रले गर्दा संस्थामा जोखिम सिर्जना हुन्छ । त्यस्तो मनपरीतन्त्रले संस्थालाई नोक्सान गरेको हुन्छ । अन्तत ओरेन्टल प्रवृति देखापर्नुको विकल्प हुदैन । संस्थालाई व्यक्तिले भन्दा विधिले चल्नु चलाउनु पर्दछ, अर्थपूर्ण साधारण सभा गर्नु पर्दछ र सदस्यहरुलाई शिक्षा मार्फत चेतनशील बनाएर सक्रिय बनाउनु पर्दछ अनि मात्र सहकारी सफल मात्र होइन कि सहकारी सहकारी जस्तो हुन्छ । साधारण सभाका सन्दर्भमा निम्नानुसारका विषयलाई ध्यान दिइ अर्थपूर्ण साधारण सभा गर्ने अभ्यास गर्नुपर्ने देखिन्छ । लेखापरीक्षण साउन महिना भित्र गरिसक्नु पर्दछ, साधारण सभा असोजभित्र गरिसक्नुपर्दछ, एक जना अतिथि र सदस्यहरुलाई उद्घाटन सत्र मै बोल्न दिनु पर्दछ । मापदण्ड बनाएर राज्यले साधारणसभाको निरीक्षण गर्नुपर्दछ, साधारणसभा व्यवस्थापन समिति, टिपोट समिति, माइन्यूट लेखन समिति गठन गर्नुपर्दछ, सबै सदस्यहरुलाई पत्र लेखेर साधारणसभा उपस्थितिको निमन्त्रणा गर्नुपर्दछ, चालु वर्षको कार्यक्रम तथा बजेट प्रतिवेदनमा सघन छलफल गर्नुपर्दछ, विगत वर्षमा भएका कामको सञ्चालक समितिको प्रतिवेदनमा छलफल गर्नुपर्दछ, लेखा समितिको प्रतिवेदनमा छलफल गर्नुपर्दछ, लेखापरीक्षण प्रतिवेदनमा विस्तृत छलफल गर्नुपर्दछ, विनियम बमोजिम सञ्चालक समिति र लेखा समितिको निर्वाचनमा छलफल गर्नुपर्दछ, विनियम संशोधन, आर्थिक तथा प्रशासनिक नियम निर्माण, छलफलको विधि निर्माण गरी बोल्ने सदस्यको नामावली तालिका बनाउनुपर्दछ, साधारण सभाले पारित गरेका प्रस्तावहरु सार्वजनिक गर्नुपर्दछ, आउदो वर्षको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, जिम्मेवार व्यक्तिले सभामा उठेका प्रश्नको उत्तर दिइ सन्तुष्ट पार्नुपर्दछ । यसो भयो भने सहकारी जस्तो बल्ल हुन्छ । नत्र साधारण सभा देखाउनका लागि बनावटी कर्मकाण्ड बाहेक अर्को हुन सक्दैन ।
साधारणसभामा प्रस्तुत हुने विषयहरुमा सदस्यहरुलाई सक्रिय सहभागिताका लागि अपिल गर्नुपर्दछ । सदस्यका सुझाव, टिप्पणी, आलोचना, गुनासोलाई संस्थाले सम्पत्तिको रुपमा पुँजीको रुपमा ग्रहण गर्नुपर्दछ । उद्घाटन सत्र बढीमा २ घण्टामा सम्पन्न हुने गरी बन्द सत्रमा व्यापक र सक्रिय सहभागिताको वातावरण निर्माण गर्नुपर्दछ । सहकारी ऐन, २०४८ अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गर्ने उल्लेख भएपनि सहकारी मापदण्ड, २०६८ ले असोज महिनाभित्र साधारण सभा सम्पन्न गरिसक्नुपर्ने निर्देशन जारी गरेको छ । समयमा साधारण सभा नबोलाएमा म्याद सकिएको ३५ दिनभित्र रजिष्ट्रार वा निजले तोकेको व्यक्तिले त्यस्तो सभा बोलाउन सक्ने व्यवस्था सहकारी नियमावली, २०४९ ले गरेको छ । लेखा समितिले हिसाव जाच गर्दा कैफियत देखिएमा, कुनै उपसमितिले विशेष काम गर्न वा कम्तिमा १० प्रतिशत सदस्यले कारण खुलाइ निवेदन दिएमा सञ्चालक समितिले विशेष साधारण सभा जुनसुकै समयमा बोलाउनु पर्ने कानुनी व्यवस्था रहेको देखिन्छ ।
आसन र भाषणमुखी बैठक र साधारण सभाहरुले सदस्यहरुमा अरुचि पैदा भई यस्ता कार्यक्रमहरुले सहकारीको विकासमा बाधा सिर्जना गरेका छन् । संस्थाको वार्षिक प्रगति, आगामी नीति कार्यक्रम बजेटमा छलफल हुनुपर्नेमा अनावश्यक तडक भडक तामझाम तथा आलंकारिक कार्यक्रम संचालन हुनाले समय, श्रम र पैसाको दुरुपयोग भईराखेको छ । व्याच, खादा र मायाको चिनो वितरणले पञ्चायत कालीन मानसिकता झल्को दिने स्थिति देखिन्छ । साधारण सभामा प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अन्य अतिथिहरुको पट्यारलाग्दा भाषण र साधारण सभाको मुख्य एजेण्डाहरुको छलफल पर्याप्त समय नदिई ५ घण्टा उद्घाटन सत्र, २० मिनेटमा बन्द सत्र सक्ने तथा निर्वाचन हुने साधारण सभा भएमा टाउको फोराफोर गर्ने राजनीतिक क्षेत्रको विसंगति सहकारीमा पनि पसेको देख्न पाइन्छ । भत्ता, भोज र आर्थिक सुविधामा अल्झेका लोभी शेयर सदस्यको समुदायले आफ्नो खुट्टामा बन्चरो हानिरहेका छन् आफू लुटिएको ठगिएको पछि मात्र थाहा पाउँछन् । गैर सदस्य कारोबार वा बनावटी सदस्य कारोवारले गर्दा एकातिर वास्तविक सदस्यको नियन्त्रणमा संस्था रहेको छैन भने अर्कोतिर संस्थाका कारोवारमा सहभागी नहुने नक्कली सदस्य, संचालकले संस्था संचालन गरिराखेको स्थिति रहेको छ ।
लेखक डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत हुन् ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

भैरवी साकोसको अध्यक्षमा गणेशकुमार श्रेष्ठ र महासचिवमा राजकुमार श्रेष्ठ निर्वाचित
१६ मंसिर २०८०, शनिबार
सिवाईसी साकोसको अध्यक्षमा पुन: चण्डिप्रसाद शर्मा
१६ मंसिर २०८०, शनिबार
सहकारी अभियन्ता चन्द्राकुमारी पराजुली सम्मानित
१६ मंसिर २०८०, शनिबार